शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बागी उठेकालाई उम्मेदवारी फिर्ता गर्न माओवादी प्रदेश १ को निर्देशन

आइतबार, २३ असोज २०७९, १९ : ३०
आइतबार, २३ असोज २०७९

नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् । ‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उक्त उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेदवारहरूलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’

उनले अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन् । ‘नेपाली राजनीतिमा अहिले देखा परिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गरी, वैज्ञानिक समाजवाद स्थापनार्थ समृद्ध मुलुक निर्माण गरी देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन पुनः बाम र लोकतान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता रहेकोले बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरी हामी निर्वाचनमा होमिएका छौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यही मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गर्नुभएका गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा एक ढिक्का भई सामेल हुन हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, सदस्य, समर्थक र आम शुभचिन्तकहरुमा अनुरोध गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप