‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
सारांश
- नेपाली छुर्पी विश्वभर घरपालुवा कुकुरको लागि स्वस्थकर आहारको रूपमा स्थापित भएको छ ।
- सरकारले छुर्पी निर्यात बढाउन ५ वर्षे रणनीतिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
- कच्चा पदार्थको अभाव, जलवायु परिवर्तन र प्रविधिको अभाव जस्ता चुनौतीका बाबजुद छुर्पी निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौँ । नेपालको छुर्पी आजभोलि विश्वका विभिन्न मुलुकमा घरपालुवा कुकुरका लागि सबैभन्दा प्रिय र स्वस्थकर आहार (डग च्यु) का रूपमा स्थापित भएको छ । कुनै समय गोठालोको झोलामा सीमित रहने यो मौलिक उत्पादन आज नेपालको अर्थतन्त्रलाई विदेशी मुद्रा आर्जन गराउने एक प्रमुख निर्यातयोग्य वस्तु बनेको छ ।
नेपाली छुर्पीको माग विश्व बजारमा, विशेषगरी अमेरिका र युरोपमा तीव्र गतिमा बढेपछि यसलाई नेपालको प्रमुख निर्यातयोग्य वस्तुको रूपमा विकास गर्न सरकारले नयाँ रणनीति अघि सारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भर्खरै ‘छुर्पी निर्यातः राष्ट्रिय रणनीतिक कार्ययोजना (२०८३–२०८८)’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यसले छुर्पीको इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई सुक्ष्म रूपमा विश्लेषण गर्दै आगामी ५ वर्षमा निर्यातलाई अझ उचाइमा पुर्याउने लक्ष्य राखेको छ ।
मानिसको खाजादेखि कुकुरको आहारसम्मको यात्रा
सन् २००० को प्रारम्भिक दशकमा संयुक्त राज्य अमेरिकामा हिमाली क्षेत्रमा उत्पादन हुने कडा चीज (छुर्पी) कुकुरले अत्यन्त रुचिपूर्वक चपाइरहेको देखेपछि यसलाई सम्भावित व्यावसायिक उत्पादनका रूपमा विकास गर्न सकिने अवधारणा सुरु भएको थियो ।
आर्थिक वर्ष २०७१/०७२ मा जम्मा २७६ मेट्रिक टन निर्यात भएको छुर्पी आर्थिक वर्ष २०८१/०८२ सम्म आइपुग्दा २ हजार ६१० मेट्रिक टन पुगेको छ । त्यस्तै, करिब २८ करोड रुपैयाँबाट सुरु भएको निर्यात मूल्य बढेर साढे ४ अर्ब नाघेको छ ।
प्रतिवेदन अनुसार, सन् २००७ मा मनराम हिमालयन ह्यान्डीक्राफ्ट नेपाल र हिमालयन पेट सप्लायर्स, अमेरिकाको संयुक्त पहलमा हिमाली याकको छुर्पीलाई ‘जैविक कुकुरको चपाउने खाद्य’का रूपमा उत्पादन गर्ने कार्य प्रारम्भ भयो । सेप्टेम्बर २००७ मा अमेरिकाको वासिङ्टनस्थित सियाटलमा आयोजित अन्तर्राष्ट्रिय पेट मेलामा उनीहरूले ‘हिमालयन डग च्यु’ को नामबाट यसलाई सार्वजनिक गरे । त्यहाँ यो अत्यन्त लोकप्रिय भई केही समयमै बिक्री भयो । यही ऐतिहासिक घटनाले नेपाली परम्परागत छुर्पीलाई विश्वव्यापी घरपालुवा जनावरको उद्योगमा प्रवेश गराएको हो ।
समयसँगै यसबाट कुकुरलाई हानि गर्ने गुलियोपन हटाएर रबरबाट निर्मित कृत्रिम डग च्युको सुरक्षित र प्राकृतिक विकल्पका रूपमा परिमार्जन गरिएको थियो ।
उत्पादनको वर्तमान अवस्था र कोशी प्रदेशको वर्चस्व
नेपाल छुर्पी व्यवसायी संघको तथ्याङ्क अनुसार हाल नेपालका पहाडी र हिमाली जिल्लाहरूबाट वार्षिक २० लाख किलोभन्दा बढी छुर्पी उत्पादन हुँदै आएको छ । यसमध्ये सबैभन्दा ठुलो हिस्सा अर्थात् ८० प्रतिशत उत्पादन कोशी प्रदेशमा मात्रै हुने गरेको छ । यहाँ उत्पादन हुने अधिकांश छुर्पी युरोप र अमेरिकामा निर्यात गरिन्छ ।
परम्परागत रूपमा याक, गाई र चौंरीको दुधबाट चिल्लो पदार्थ छुट्ट्याई उपयुक्त पदार्थ प्रयोग गरी फटाएर मट्ठा छुट्ट्याइन्छ र बाँकी ठोस भागलाई निश्चित आकारमा ढालेर घाममा वा ओभानो ठाउँमा सुकाएर कडा छुर्पी तयार पारिन्छ । उचित भण्डारण गरेमा यो २० वर्षसम्म सुरक्षित रहन सक्छ ।
छुर्पी निर्यात एक दशकमै उल्लेख्य वृद्धि
आर्थिक वर्ष २०७१/०७२ मा जम्मा २७६ मेट्रिक टन निर्यात भएको छुर्पी आर्थिक वर्ष २०८१/०८२ सम्म आइपुग्दा २ हजार ६१० मेट्रिक टन पुगेको छ । त्यस्तै, करिब २८ करोड रुपैयाँबाट सुरु भएको निर्यात मूल्य बढेर साढे ४ अर्ब नाघेको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा जम्मा २७६ मेट्रिक टन छुर्पी निर्यात भएको थियो, जसबाट नेपालले २८ करोड रुपैयाँ आम्दानी गरेको थियो । एक दशकपछि आर्थिक वर्ष २०८१/०८२ (सन् २०२४/२५) मा आइपुग्दा यसको निर्यात परिमाण बढेर २ हजार ६१० मेट्रिक टन पुगेको छ । यसबाट नेपालले ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा छुर्पी निर्यातको वार्षिक वृद्धिदर करिब १९.०७ प्रतिशत छ ।
छुर्पीको वार्षिक निर्यातको अवस्था

स्रोतः व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
कुन कुन मुलुकमा निर्यात हुन्छ ?
विश्व बजारमा नेपाली छुर्पीको सबैभन्दा ठुलो खरिदकर्ता संयुक्त राज्य अमेरिका हो । पछिल्लो तथ्याङ्क अनुसार वार्षिक करिब ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको छुर्पी अमेरिकामात्रै निर्यात भएको छ । यसबाहेक क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, र युरोपेली देशहरू (नेदरल्याण्ड्स, फ्रान्स, स्पेन आदि) मा यसको उच्च माग छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालको छुर्पी निर्यातको प्रमुख गन्तव्य

स्रोतः व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
अवसरसँगै चुनौती
छुर्पी व्यवसायको सम्भावना उच्च भए पनि यस क्षेत्रले गम्भीर चुनौती सामना गरिरहेको छ । कच्चा पदार्थको अभाव, जलवायु परिवर्तन, प्रविधिको अभावलगायतका कारण छुर्पी व्यवसाय प्रभावित बनिरहेको मन्त्रालयले जनाएको छ ।
प्रविधिको अभाव, अधिकांश उत्पादन साना तथा पुराना प्रशोधन एकाइहरूमा सीमित छन् । आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण र ठुलो परिमाणमा उत्पादन गर्ने क्षमता कमजोर रहेको मन्त्रालयले जनाएको छ ।
युवा पुस्ता वैकल्पिक रोजगारीतर्फ (वैदेशिक रोजगार लगायत) आकर्षित हुँदा परम्परागत पशुपालन व्यवसाय घट्दै गएको छ । जसका कारण कच्चा पदार्थ अभाव भएको छ ।
यस्तै जलवायु परिवर्तन तापक्रम वृद्धि, अनियमित हिमपात र चरण क्षेत्रको गुणस्तरमा आएको ह्रासले हिमाली क्षेत्रमा पशुपालन कठिन बन्दै गएको छ ।
प्रविधिको अभाव, अधिकांश उत्पादन साना तथा पुराना प्रशोधन एकाइहरूमा सीमित छन् । आधुनिक प्रविधि, गुणस्तर नियन्त्रण र ठुलो परिमाणमा उत्पादन गर्ने क्षमता कमजोर रहेको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय व्यापारमा छुर्पीका लागि छुट्टै एचएस कोड नतोकिने भएकाले (यसलाई कुकुर वा बिरालोको खाना अन्तर्गत राखिन्छ) वास्तविक व्यापार तथ्याङ्क प्राप्त गर्न कठिनाइ छ ।
रणनीतिक कार्ययोजनाका ४ मुख्य लक्ष्य
यी चुनौतीलाई चिर्दै निर्यात बढाउन सरकारले ५ वर्षे रणनीतिक कार्ययोजनामा ४ वटा मुख्य उद्देश्य तय गरेको छ ।
१. दुध उत्पादन र सङ्कलन प्रणालीलाई सुदृढ बनाउनेः किसानलाई उन्नत पशुपालन प्रविधि, पशु स्वास्थ्य सेवा र नश्ल सुधारमा सहयोग गर्ने । याक, गाई, भैंसी र चौंरी पालनमा विशेष प्रोत्साहन गर्ने ।
२. उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्नेः उत्पादन प्रविधिको आधुनिकीकरण गर्ने । छुर्पी उद्योगहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने ।
३. अन्तर्राष्ट्रिय बजार विस्तार तथा विविधीकरण गर्नेः नेपाली छुर्पीलाई विशिष्ट नेपाली उत्पादनका रूपमा ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा भौगोलिक संकेत (जीआई ट्याग) सहित दर्ता गर्ने । अमेरिका र युरोप बाहेक मध्यपूर्वका देशहरूमा पनि बजार खोज्ने ।
४. नीतिगत तथा संस्थागत सुदृढीकरणः छुर्पीका लागि अन्तर्राष्ट्रियस्तरमा छुट्टै एचएस कोड प्राप्त गर्न कूटनीतिक पहल गर्ने । निर्यातसम्बन्धी एसपीएस मापदण्डहरू पूरा गर्न प्रयोगशालाहरूको स्तरोन्नति गर्ने ।
मन्त्रालयले यो रणनीतिक कार्ययोजनाको सफल कार्यान्वयनका लागि नेपाल व्यापार एकीकृत रणनीति (२०७९/८०–२०८४/८५) सँग तालमेल गर्दै नियमित बजेटमार्फत कार्यक्रमहरू अघि बढाउने जनाएको छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र (उत्पादक, सहकारी तथा निर्यातकर्ता) को साझा समन्वयमा यसलाई अगाडि बढाइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण