मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भैरहवामा पहिलोपटक सांस्कृतिक महोत्सव हुँदै

आइतबार, १३ कात्तिक २०७९, १२ : ३५
आइतबार, १३ कात्तिक २०७९

भैरहवामा पहिलो पटक सास्कृतिक महोत्सव हुन लागेको छ । हालै मात्रै स्थापित सामाजिक संस्था लायन्स क्लब अफ लिगेसीले १७ कात्तिकबाट प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना गर्न लागेको हो । 
संस्कृतिको जगेर्ना, स्थानीय प्रतिभाको प्रस्फुटन सँगसँगै विशेषज्ञ स्वास्थ्य सेवाका साथ २७ कात्तिकसम्म भैरहवाको हनुमान मन्दिर पसिरमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।

मेलामा राष्ट्रिय, स्थानीय कलाकारका साथै चर्चित भोजपुरी गायकहरूको प्रस्तुति रहने छ । मेलाको मुख्य आकर्षणको रूपमा गायक दुर्गेश थापा,  प्रकाश सपुत, प्रीति आले, कर्णराज गिरी, मोडल करिश्मा ढकाल, प्रीति पासवान, डान्सर बबिता धिताल, भोजपुरी स्टार गायक रितेश पाण्डे, सिल्पी राज, समर सिंहलगायतका रहने  छन् । सो अवसरमा कुस्ती प्रतियोगिता पनि हुने कार्यक्रम संयोजक राजन शुक्लाले जानकारी दिए । 

महोत्सवमा दैनिक डान्स आइडल पनि हुनेछ । स्थानीयको सहभागितामा हुने आइडलमा प्रथम हुनेलाई ३० हजार ५ सय ५५ रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार ५ सय ५५, तृतीयलाई १० हजार ५ सय ५५ र पाँच हजार ५ सय ५५ रुपैयाँको सान्त्वना पुरस्कार राखिएको छ ।
बालबालिका तथा युवाहरुको मुख्य आकर्षण रूपमा रहँदै आएको बाल उद्यान, स्थानीय उत्पादन, कृषि, उद्योग, व्यापार, गार्मेन्ट र रेष्टुरेन्टलगायतको ५० वटा स्टल राखिनेछ । ५० हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्यसहित प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप