मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक

मङ्गलबार, ३० असार २०८३, १८ : ४५
मङ्गलबार, ३० असार २०८३

मकवानपुर। लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न सडक खण्डमा पहिरो र बाढीको जोखिम बढेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।  

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक लगाएको हो ।

प्रशासनले मङ्गलबार सूचना जारी गर्दै आज साँझ ६ः३० बजेदेखि बुधबार बिहान ५ः०० बजेसम्मका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । प्रशासनका अनुसार हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्ड र हेटौँडा हुँदै काठमाडौँ जाने कान्ति लोकपथमा रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो ।

गत असार २८ गते रातिदेखि परिरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेकाले सवारी आवागमनमा रोक लगाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

मौसम पूर्वानुमान अनुसार थप वर्षा हुने सम्भावना रहेकाले हेटौँडा–भैँसे–काठमाडौँ सडक खण्डको बागझोर क्षेत्रमा ग्रेगनसहितको लेदो (भेल) आउन सक्ने जोखिम रहेको छ भने भीमफेदीस्थित बेलिब्रिज मर्मत भइरहेको र वैकल्पिक डाइभर्सन बाढीले बगाएको छ ।

हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ सडक खण्डमा ढुङ्गा खस्ने र पहिरो जाने उच्च जोखिम कायम रहेको प्रशासनले जनाएको छ । यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि अत्यावश्यक अवस्थाबाहेक उक्त सडकमा रात्रिकालिन समयमा यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

साथै कान्ति लोकपथमा यसअघि नै कायम रहेको सवारी आवागमन बन्दको रहेको प्रशासनले जनाएको छ । उक्त सडकहरूमा सोमबार राति पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप