मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा

रकम बुझाएर घर पास गरेको बयान
मङ्गलबार, ३० असार २०८३, १७ : १४
मङ्गलबार, ३० असार २०८३

सारांश

  • मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
  • श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा सीआईबीले अभिषेकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
  • अभिषेकको दादागिरी यत्तिसम्म थियो कि, श्रेष्ठ कन्स्ट्रक्सनलाई जानकारी नै नदिई उनले सो कम्पनीको स्काभेटर र टिपर कवाडीमा बेचिदिए ।

काठमाडौँ । मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

असार २४ मा उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका गिरी पछिल्लो समय नेपाली कांग्रेसमा आबद्ध थिए । अपहरण तथा शरीर बन्धक मुद्दामा उनी ९ वर्ष जेल बसेर २०७९ चैत ५ मा छुटेका हुन् ।  

नेपालको पुरानो कन्स्ट्रक्सन कम्पनीमध्ये हो, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी । श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा सीआईबीले अभिषेकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

अभिषेक र सुभाषको बिचमा देखिएको ४ वटा बिवादमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । पहुँचको आधारमा ठेक्का मिलाइदिने आश्वासन दिएर श्रेष्ठ कन्स्ट्रक्सनले पाएको ठेक्का अभिषेकले ‘आफ्नो कम्पनीमार्फत गर्छु’ भनेर काम नगरेर श्रेष्ठ कन्स्ट्रक्सनलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ । हुलाकी सडकको विराटनगर हाटखोलाबाट रंगेली जाने सडक खण्डको ६ किलोमिटरको ८३ करोड ८९ लाखको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनले पारेको थियो ।

२०७४ मा भएको ठेक्का सम्झौताअनुसार काम नभएपछि हुलाकी सडक आयोजनाले सम्झौता रद्द गरेर नयाँ प्रक्रिया थालेको थियो । हुलाकी सडकको काम अभिषेकले आफ्नो कम्पनी आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिमार्फत गरेर अलपत्र पारेको आरोप छ । सडकको २२ प्रतिशत काम श्रेष्ठले नै गरेको र बाँकी कामको जिम्मा लिएका अभिषेकले ठेक्का अलपत्र पारेका हुन् ।

विराटचोक नजिकैको सडक प्रोजेक्ट पनि जिम्मा लिएर गिरीले त्यसैगरी अलपत्र पारेरको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् । मोरङ जिल्ला विराटनगर उप महानगरपालिका वडा नम्बर– ८ मधुमारा घर भएका ४८ वर्षीय गिरीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

अभिषेकको दादागिरी यत्तिसम्म थियो कि, श्रेष्ठ कन्स्ट्रक्सनलाई जानकारी नै नदिई उनले सो कम्पनीको स्काभेटर र  टिपर कवाडीमा बेचिदिए । मेसिनको सहयोगमा काटेर टिपर र स्काभेटर कवाडीमा बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । विराटचोक नजिकैको सडक प्रोजेक्टमा प्रयोग गर्न भनेर श्रेष्ठ कन्स्ट्रक्सनले पठाएको टिपर र स्काभेटर उनले बेचेका हुन् ।

सुभाष श्रेष्ठलाई त्रासमा पारेर काठमाडौँस्थित बुढानिलकण्ठको घर पनि गिरीले आफ्नी पत्नीको नाममा पास गर्न बाध्य पारेको आरोप छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–७ स्थित कित्ता नम्बर १०३९ मा बनेको घर गिरीले धम्क्याएर कान्छी श्रीमती सोनु आचार्यको नामा पास गराएको आरोप छ ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले घर पास गर्दा रकम दिएको बताएका छन् । गिरीकी पत्नीले केही रकम दिएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । ती अधिकृतले भने, ‘अभिषेककी पत्नीले रकम दिएको देखिन्छ, त्यो के बापतको रकम हो भन्नेबारे खुल्न बाँकी छ ।’

जाहेरवालाले आफ्ना चेकहरू गिरीले धम्क्याएर लगेको दाबी गरेका छन् । तर अनुसन्धान गर्दा चेक लगेको पुष्टि हुने आधार नदेखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । पेटी ठेक्का दिने क्रममा सुभाष श्रेष्ठ र गिरी जोडिएका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप