प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
सारांश
- सार्वजनिक स्थानमा पिसाब फेर्ने, कानुन कार्यान्वयन विवाद र अव्यवस्थित पार्किङ जस्ता घटनाले राष्ट्रिय बहस सिर्जना गरेको छ।
- सरकारको १०० दिनको कार्यसम्पादनको मूल्याङ्कन विगतका सरकारहरूसँग तुलना गरेर गरिनेछ, जसमा विगतका आन्दोलनका क्षति र सामाजिक अपराधहरू पनि सम्झिनेछन्।
- सरकारविरुद्ध भावनात्मक विरोध प्रदर्शन र अराजक अभिव्यक्तिहरू लोकतन्त्रका लागि चुनौतीपूर्ण छन्, जसले सुशासनलाई असर गर्न सक्छ।
प्रधानमन्त्रीज्यू, तपाईंको सरकारका पहिलो १०० दिनका कार्यसम्पादन र उपलब्धिहरूबारे समीक्षा, चर्चा र टीकाटिप्पणीहरू भइरहेकै बेला सार्वजनिक स्थानमा पिसाब फेरेको घटनाबारे राष्ट्रिय बहस चल्यो। त्यो बहस सेलाउन नपाउँदै, नगर प्रहरीले कानुन कार्यान्वयन गर्ने क्रममा भएको विवादपछिको आत्मदाहबाट भएको दुःखद् मृत्युले सडकदेखि संसदसम्म तीव्र राजनीतिक बहस सिर्जना गर्यो। त्यसैबीच, अव्यवस्थित पार्किङको विषयले पनि राजनीति र सामाजिक सञ्जाललाई तताइरहेको छ।
मिडिया हाउसअगाडि गरिएको जथाभावी पार्किङलाई स्वतन्त्र प्रेसमाथिको आक्रमणका रूपमा मात्र बुझ्नुको सट्टा, अव्यवस्थित पार्किङले आम नागरिकलाई कस्तो सास्ती दिन सक्छ भन्ने सन्देशका रूपमा पनि किन नहेरिने? प्रत्येक घटनालाई तुरुन्तै राजनीतिक रङ्ग दिने प्रवृत्ति बढिरहेका बेला एउटा गम्भीर प्रश्न उठ्छ— हाम्रो सोच र विचार वास्तवमा कतातिर गइरहेको छ?
यद्यपि, आम जनताले सरकारको मूल्याङ्कन केवल एउटा वा दुईटा घटनाका आधारमा नभई, विगतका सरकारहरूको पहिलो १०० दिनको कार्यसम्पादनसँग तुलना गरेर पनि गर्नेछन्। साथै, विगतमा आन्दोलनका क्रममा भएका मानवीय क्षति, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाबाट बर्सेनि हुने मृत्यु तथा अङ्गभङ्ग, रोजगारीका लागि विदेश गएर बाकसमा फर्किएका लास र महिला माथि भएका जघन्य अपराधपछि हत्या जस्ता घटना पनि सँगसँगै सम्झनेछन्।तर सरकारको वास्तविक मूल्याङ्कन भने अन्ततः भविष्यमा हुने स्थानीय र प्रदेश सरकारको चुनावमा जनताले आफ्नो मतमार्फत गर्नेछन्।
सरकार गठन भएको १०० दिनमै दशकौँदेखि थाँती रहेका सम्पूर्ण समस्याहरूको समाधान भइसक्नुपर्छ, र गरिब, असहाय वा बेरोजगार नागरिकले नियम–कानुनविपरीत जस्तोसुकै कार्य गरे पनि कारबाही गर्न पाइँदैन भन्दै लामो राजनीतिक इतिहास बोकेका केही पुराना दलका कार्यकर्ता तथा समर्थकहरूले माइतीघर मण्डलादेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म निरन्तर विरोध र नकारात्मक वातावरण सिर्जना गरिराखेका देखिन्छन्।
सरकारका हरेक कार्य कानुनसम्मत छन् कि छैनन् भन्ने आधारमा निर्णय वा विरोध गर्नुको सट्टा, भावनात्मक पक्षलाई प्राथमिकता दिइएको देखिन्छ। यसले लोकतान्त्रिक बहसलाई तथ्य र नियमभन्दा बढी भावनामा आधारित बनाइरहेको छ, जुन दीर्घकालीन सुशासनका लागि चुनौतीपूर्ण साबित हुन सक्दछ ।
दुःखको कुरा के छ भने , कतिपय यस्ता अभिव्यक्तिहरू लोकतान्त्रिक मर्यादाको सीमाभन्दा निकै बाहिर गएका छन्" । दोस्रो जेन्जी विद्रोह गर्छौं", "भदौ २४ गतेको बदला लिन्छौं", "बालेन्द्र शाहलाई मार्छु, काट्छु, घिसार्छु", "घन्टे र खरानी ग्याङहरूको घरमा आगो लगाउँछौं" जस्ता अराजक आवाजहरू सुनिन थालेका छन्। अझ जिम्मेवार राजनीतिक नेतृत्वबाट आफ्ना कार्यकर्ता परिचालनका लागि उत्तेजना र प्रतिशोध युक्त अभिव्यक्तिहरू आउनु लोकतन्त्रका लागि कदापि शुभ सङ्केत होइन।
आन्दोलनमा कसको जित हुन्छ भन्ने कुरा पहिले नै निश्चित हुँदैन। त्यसैले आफूलाई 'स्वघोषित' विजेता ठानेर कोही पनि बहकिनु हुँदैन। आफ्नै राज्यसत्ता हुँदा पनि ज्यान जोगाउन राजनीतिक नेताहरूले भाग्नुपरेका घटना नेपालको इतिहासमा धेरै पुराना भइसकेको छैन। अर्कोतर्फ, जेन्जी विद्रोहका नाममा उपद्रो मच्चाउने केही समूहहरू अझै कानुनी दायरामा आएका छैनन्। यस्तो अवस्थामा, यदि उनीहरूले नै जनतालाई उस्काएर झन् ठूलो अशान्ति वा उपद्रो मच्चाइदिए भने त्यसको जिम्मेवारी कसले लिने?
त्यसैले क्षणिक राजनीतिक लाभका लागि देशको अमनचयन, सामाजिक सद्भाव र शान्ति भङ्ग गर्ने कुनै पनि गतिविधि कसैबाट हुनु हुँदैन, किनकि त्यसबाट अन्ततः कसैको पनि हित हुँदैन।
गत निर्वाचनमा तपाईं (प्रधानमन्त्री ) र राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जुन अभूतपूर्व जनलहर र मत देखियो, त्यसले पुराना राजनीतिक दलहरूलाई ठूलो धक्का पुर्याएको छ। परिवर्तनको पक्षमा जनलहर आउँदा पुराना संरचना र त्यसबाट लाभ लिइरहेका वर्गहरू आफ्नो अस्तित्व जोगाउन नयाँ नेतृत्वलाई असफल बनाउन एकजुट हुनु अस्वाभाविक होइन। परिवर्तनको बाटो सहज हुँदैन र स्थापित स्वार्थ समूहहरूको प्रतिरोध सामना गर्न बलियो जनसमर्थन आवश्यकता पर्दछ, जुन तपाईं र तपाईँको सरकारले प्राप्त गरेको छ।
तपाईं (प्रधानमन्त्री) माथि निरन्तर आलोचना, दबाब , विभिन्न प्रकारका चुनौती र धम्की आइरहेका बेला पनि जसरी संयम, धैर्य र इमानदारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएको छ, त्यसले महाभारतको युद्धमा कौरव पक्षले भगवान् कृष्णलाई 'जादुगर वा चटकदार' भनिरहँदा र रामायणमा रावणले भगवान् रामलाई पटक-पटक 'साधारण मनुष्य' भनेर अपमान गर्दा पनि उहाँहरूले संयम नगुमाएको प्रसङ्ग स्मरण गराउँछ। वास्तवमा, धैर्य र इमानदारी नै नेतृत्वको सबैभन्दा ठूलो शक्ति हो। जब त्रेतायुग र द्वापरयुगमा समेत यस्ता प्रवृत्तिका खलनायकहरू थिए भने, यो त कलियुग हो।
तपाईंहरूलाई 'खरानी ग्याङ' को संज्ञा समेत दिइएको छ। इतिहासको कुनै कालखण्डमा प्रजातन्त्र स्थापनाका लागि राजा महेन्द्रमाथि बम प्रहार गर्नेलाई 'क्रान्तिकारी', २०३० सालतिर विमान अपहरण गर्नेलाई 'योद्धा' र १७ हजार नेपालीको ज्यान लिनेहरूलाई 'गणतन्त्रको सेनानी' मान्ने भाष्य यहाँ स्थापित गरियो। त्यसैगरी सडकका रेलिङ भत्काउने र सडकका टेलिफोन लाइन वितरण बाकसहरू जलाउँदा त्यसलाई 'लेनिनवाद र माओवाद' को संज्ञा दिइयो।
तर भ्रष्टाचार र बिचौलियाहरूको अखडा, कुशासनको भण्डार, लाखौँ युवाहरूको भविष्य अन्धकार बनाउने र गरिब र निमुखा नागरिकको आशामाथि चोट पुर्याउने कुशासनको प्रतीक बनेको सिंहदरबार विरुद्ध नेपाली युवाहरूले विद्रोह गर्दा वा आवाज उठाउँदा त्यसलाई 'खरानी ग्याङ' को बिल्ला टाँसिदिँदा चेन्जी पुस्ता माथि अन्याय भएन र ?।
विगतमा ध्वंस र अराजकतालाई राजनीतिको भर्याङ नबनाइएको भए, सायद सिंहदरबार जल्ने अवस्था आउने थिएन। आज पनि केही समूहहरू त्यही पुरानो र बाटोबाट सत्तालाई घुँडा टेकाउन सकिन्छ भन्ने सोच लिएर कानुनसम्मत भइरहेका कार्यहरूमा पनि सानो तिनो खोट निकाली, घटनालाई तोडमोड गर्दै, भ्रम फैलाएर जनतालाई उत्तेजित बनाउने कोसिस गरिरहेका देखिन्छन्।
कतिपय मानिसहरूले तपाईंको कार्यशैली र निडरपनलाई देखेर तपाईंलाई "सन्की" को उपनाम दिइरहेका छन् । यो सुन्दा स्वस्थानी व्रतकथाको एउटा प्रसङ्ग याद आउँछ— माता सतीदेवीका बुवा दक्षप्रजापतिले महायज्ञमा भगवान् शिवको अपमान गर्दै भनेका थिए, "जङ्गलमा अर्धनग्न बस्ने, शरीरमा खरानी घस्ने, बाघको छाला लगाउने, जटाधारी र दिनभरि भाङ-धतुरो खाएर मस्त भई बस्नेलाई म कसरी छोरी सुम्पिऊँ?" आफ्नो आराध्यको यस्तो अपमान सहन नसकी सतीदेवीले यज्ञकुण्डमा प्राण त्यागिन। तर पछि दक्ष प्रजापतिसहित महायज्ञमा पाल्नुभएका देवीदेवताहरूले बुझे— जसलाई सबैले 'मस्त र अलमस्त' देख्थे, उनी त साक्षात् ब्रह्माण्डका नायक "भगवान् महादेव" हुनुहुँदो रहेछ। इतिहास र पुराणले सिकाउने शिक्षा यही हो—कसैको बाह्य रूप, जीवनशैली वा अपमानजनक उपनामका आधारमा उसको मूल्याङ्कन गर्नु बुद्धिमानी होइन। समयले नै व्यक्तिको वास्तविक मूल्य र योगदानको फैसला गर्छ।
प्रधानमन्त्रीज्यू ! यदि बिचौलियाहरूका लागि बालुवाटार र सिंहदरबारको ढोका बन्द गर्ने, सिंहदरबारमा बिहान ९ बजेदेखि बेलुकी अबेरसम्म काम गर्ने अठोट लिने, आफ्नो परिवार, नातागोता र स्वार्थभन्दा माथि उठेर भ्रष्टाचारविरुद्ध उभिने, जिल्ला–जिल्लामा गएर सस्तो भाषण र उद्घाटनको राजनीति नगर्ने, विधिको शासन स्थापना गर्ने, भावनात्मकभन्दा पनि नियम–कानुनका आधारमा निर्णयहरू लिने, र देशको प्रशासन चलाइरहेको राजनीतिक दलका कर्मचारी सङ्गठनहरू खारेज गर्ने जस्ता साहसिक कदमहरू तपाईंले आफ्नै धुनमा मस्त भएर (वा विरोधीहरूले भनेझैँ 'गाँजा-चरेसको मात' जस्तै नशामा) गर्नुभएको हो भने— तपाईं देश र जनताको पक्षमा अझै यसै गरी मस्त भइरहनुस्, ताकि कसैको डर-त्रास र प्रलोभनले तपाईंको गति रोक्न नसकोस्।
जब कुनै व्यक्ति स्थापित बेथिति, भ्रष्टाचार र गलत प्रणालीविरुद्ध दृढतापूर्वक उभिन्छ, तब परिवर्तनसँग असहज हुने समूहले उसलाई बदनाम गर्न अनेकौँ उपनामको सहारा लिन्छ। कसैले 'पागल' भन्छ, कसैले 'मण्डले' भन्छ, त कसैले 'गँजेडी' पनि भन्छ। तर इतिहासले व्यक्तिको मूल्य उसलाई दिइएका उपनामबाट होइन, उसका विचार, कर्म र चरित्रबाट निर्धारण गर्छ।
इतिहासले एउटा सत्य बारम्बार प्रमाणित गरेको छ—समयभन्दा अघि हिँड्ने नेतृत्वलाई प्रारम्भिक चरणमा प्रायः आलोचना, अविश्वास र अवरोधको सामना गर्नुपर्छ। त्यसैले कुनै पनि आलोचना, धम्की, उक्साहट वा षड्यन्त्रबाट विचलित नभई संविधान, कानुन, सुशासन र जनताको बृहत्तर हितलाई केन्द्रमा राखेर दृढतापूर्वक अघि बढिरहनुहोस्। क्षणिक हल्ला, प्रचार र आरोपहरूको आयु छोटो हुन्छ, तर इतिहासको फैसला दीर्घकालीन, निष्पक्ष र न्यायपूर्ण हुन्छ। समयले नै सही र गलतको अन्तिम फैसला गर्नेछ।
जनताले नाराभन्दा नतिजा, भाषणभन्दा काम र प्रचारभन्दा चरित्रको मूल्याङ्कन गर्छन्। असल बानीले असल संस्कार निर्माण गर्छ, असल संस्कारले सुदृढ चरित्र निर्माण गर्छ, र त्यही चरित्रले सक्षम नेतृत्वको जग बसाल्छ। अन्ततः राष्ट्रको समृद्धि, सुशासन र सम्पूर्ण नेपालीको उज्ज्वल भविष्य पनि त्यही चरित्रवान् नेतृत्वमाथि निर्भर रहन्छ।
यही विश्वासका साथ, तपाईं आफ्ना सभापति रवि लामिछानेसँग प्रत्येक महत्त्वपूर्ण निर्णयमा परामर्श, विश्वास र आपसी सम्मान कायम राख्दै राम–लक्ष्मणजस्तै दृढ सहकार्यका साथ आफ्नो कर्तव्य पथमा अडिग रहनु भयो भने अहिले केही सृजित भ्रमहरू समाप्त भएर जानेछन् । यदि यही इमानदारी, सुशासन र जनउत्तरदायित्वको मार्गमा निरन्तर अघि बढ्नुभयो भने, जनताको विश्वास अर्को चुनावसम्म तपाईंको साथमा रहनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण