शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानले घोषणा गरेको ‘इस्लामाबाद लङ मार्च’ सफल होला ?

आइतबार, १३ कात्तिक २०७९, २० : ४९
आइतबार, १३ कात्तिक २०७९

कयौं सातासम्मको राजनीतिक उतारचढाव, छलफल र चेतावनीपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले अन्ततः आफ्ना समर्थक लिएर पाकिस्तानको राजधानी इस्लामावादसम्म ‘लङ्ग मार्च’ गर्ने घोषणा गरे । अक्टोबर २८ बाट सुरु भएको यस मार्चको एउटै माग छ– तत्काल आम निर्वाचनको घोषणा ।

इमरान खानले आफ्ना समर्थकहरूलाई सडकमा आउन र इस्लामाबादतर्फ मार्च गर्न आह्वान गरेको यो वर्ष दोस्रो पटक हो । यसअघि मे महिनामा पनि उनले यस्तो प्रयास गरेका थिए । तर त्यस समय मुस्लिम लिग (नवाज) नेतृत्वको सरकारले ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरेर त्यसलाई विफल बनाएको थियो ।  मेको प्रदर्शन मत्थर बनाउनको लागि प्रहरीले देशको ठूलो प्रान्त पञ्जाबमा इमरानका समर्थकमाथि कारबाही ग¥यो र इस्लामावादका सबै प्रमुख सडकहरू बन्द गरिदिएको थियो । इमरान खानले भने गृहयुद्धको स्थितिबाट बच्न मेमा मार्च फिर्ता लिएको बताएका थिए । यस पटकको मार्च कत्तिको सफल होला ?

पाकिस्तानी राजनीति र सेना
इमरान खान सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बने । उनको पार्टीको बहुमत नभएको भए पनि गठबन्धन बनाएर सरकारको नेतृत्व गरे । इमरान खानका आलोचकहरू उनको त्यस उदयमा पाकिस्तानको सेनाको सहयोग रहेको आरोप लगाउँछन् । वरिष्ठ पत्रकार हारुन रसिदका अनुसार सेनासँगको सम्बन्ध बिग्रिएपछि नै इमरान खानको सरकार ढल्न पुगेको थियो । गत वर्ष नोभेम्बरमा आईएसआई प्रमुखको नियुक्तिलाई इमरान खान र सेनाबीचको सम्बन्ध बिग्रिएको धेरै विश्लेषकहरू विश्वास गर्छन् ।

तर, अर्थतन्त्रलाई सम्हाल्न नसक्दा र भ्रष्टाचारका विषयमा प्रगति हुन नसक्दा पनि दुईबीचको सम्बन्ध तिक्त भएको विश्लेषकको भनाइ छ । विश्लेषकहरूका अनुसार बलियो अर्थतन्त्रले मात्र देशलाई सुरक्षित राख्न सक्छ भन्ने पाकिस्तानी सैनिक प्रतिष्ठानको विश्वास छ ।  अप्रिलमा अविश्वको मतमार्फत सत्ताच्युत भएदेखि, खानले दर्जनौं सार्वजनिक सभाहरूलाई सम्बोधन गरे, अनगिन्ती मिडिया अन्तरक्रियामा भाग लिए । यसको प्रभाव पनि देखाएको छ । युवाहरूमाझ उनको लोकप्रियता तीव्र गतिमा बढ्दै गएको छ ।

इमरानले पछिल्लो समय आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई मात्रै निशाना बनाउँदैनन्, राजनीतिमा हस्तक्षेपकारी भूमिका रहेको भन्दै सैन्य प्रतिष्ठानलाई समेत निशाना बनाइरहेका छन् । राजनीतिक विश्लेषक कामरान शाहिद इमरान खानको आगामी लङ्ग मार्च उनका  राजनीतिक प्रतिद्वन्द्वीहरूका विरुद्ध नभएर सेनाको विरुद्ध लक्षित भएको मान्छन् । साथै अन्य विकल्पहरुको सम्भावना सकिएपछि यो उनको सत्तामा फर्कने अन्तिम प्रयास भएको बताइन्छ ।

लङ मार्चको सफलतामा प्रश्न
यसअघि खानले मेमा आह्वान गरेको ‘लङ मार्च’मा सरकारप्रति जनतामा आम आक्रोश हुँदाहुँदै पनि धेरै मानिस सडकमा उत्रेनन् । तर, इमरान खान अहिलेको मार्चबाट देशमा नरम क्रान्ति सुरु हुने बताइरहेका छन् । तथापि धेरैले यसलाई मत बटुल्ने प्रयासको रुपमा बुझेका छन् । इमरान खानको लंग मार्चअघि, पाकिस्तानी सेनाको जनसम्पर्क विभागका डीजी र आईएसआईका डीजी जनरल नदीम अन्जुमले संयुक्त पत्रकार सम्मेलन गरेर इमरान खानले सेनाविरुद्ध लगाएका आरोपको खण्डन गरे । 

पाकिस्तानको इतिहासमा पहिलो पटक गुप्तचर निकायले समेत पत्रकार सम्मेलन गरेर क्यामेराको अगाडि आएर आफ्नो खण्डन गर्दा इमरानकै लोकप्रियता बढ्ने आंकलन गरिँदैछ । इमरान खानले लङ्ग मार्च शान्तीपूर्ण हुने बताएका छन् । तर वरिष्ठ पत्रकार हारुन रसिदको विश्वासमा भने आन्दोलन शान्तिपूर्ण भए सरकारलाई कुनै असर पर्ने छैन र कानुनी अवस्था आयो भने मात्र खानले चाहे अनुरुपको सरकारमाथि दबाब बढ्ने छ ।

‘सरकार अहिले डराएको छ, त्यसैले उनीहरूले चेतावनी र धम्की दिईरहेका छन् । इस्लामावाद वरपर भारी सुरक्षा बलहरू तैनाथ गरिएको छ,’ रसिनले भने । राजनीतिक विश्लेषक मोहम्मद मलिक अराजकताको सम्भावनाबारे संकेत गर्दै भन्छन् ,‘ यो एक खतरनाक संकट बन्दै गएको छ । खतराको स्थिति नियन्त्रण बाहिर पनि हुनसक्छ । यस्तो स्थितिमा कसैलाई फाइदा हुने छैन ।’ (बीबीसी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप