बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

सोमबार, १४ कात्तिक २०७९, ०७ : ०४
सोमबार, १४ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।

माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउने ढकालको भनाई छ ।

माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरिएको घोषणापत्र  निर्माणमा संलग्न एक नेताले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । उक्त पार्टीले दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एकीकृत समाजवादीको घोषणापत्र तयारीका लागि उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिइएको थियो ।

समाजवादीले घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।

त्यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप