सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा आउँदै

बुधबार, १६ कात्तिक २०७९, १२ : ०८
बुधबार, १६ कात्तिक २०७९

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन गृह जिल्ला बस्ने भएका छन् । मङसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी उनी गृह जिल्ला डडेलधुरा आउन लागेका हुन् ।

कात्तिक १७ गतेदेखि आयोजना हुने चार दिने कार्यक्रमका लागि देउवा डडेलधुरा आउन लागेको वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा उनले श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका थिए । 

कांग्रेस डडेलधुराका सभापति साउँदका अनुसार कात्तिक १७ गते देउवा डडेलधुरा पुग्ने कार्यक्रम छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको बसपार्क, नवदुर्गा गाउँपालिकाको बेलापुर, आफ्नो गृहपालिका गन्यापधुराको बडाल, अजयमेरुको भद्रपुर, आलितालको गोदाम, परशुरामको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने छ ।

साउँदका अनुसार कार्यक्रम सकेर प्रधानमन्त्री देउवा राजधानी काठमाडौं फर्कनेछन् र पुनः चुनावको बेला डडेलधुरा आउनेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । 

देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत ८ जना चुनावी मैदानमा छन् । देउवालाई ५ दलीय गठबन्धनको समर्थन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप