शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्जाबमा पराल जलाउँदा नेपालमा वायु प्रदूषण बढ्दै, सचेत रहन विज्ञको सुझाव

बिहीबार, १७ कात्तिक २०७९, १३ : ०२
बिहीबार, १७ कात्तिक २०७९

हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ । वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ । 

तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले रातोपाटीलाई जानकारी दिए ।  यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उनको भनाई छ ।  

निरीक्षक लामिछानेले भने–‘भारतको पञ्जाबतिर आगोको घटनाहरू धेरै देखिन्छ । त्यसले गर्दा दक्षिण एसियाको क्षेत्रमा बढी प्रदूषण देखिन्छ । अहिले प्रदूषणको बढी असर पश्चिम तराईमा धेरै देखिन्छ । स्याटेलाइट इमेज हेर्दा पश्चिम तराईमा तुवाँलाको मात्रा धेरै बढेको छ । तर काठमाडौँमा आइसकेको छैन कि जस्तो देखिन्छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव अलि कम नै देखिन्छ । अहिले पनि धेरैजसो उत्तरतिरबाट नै हावा बहेको देखिन्छ, काठमाडौँमा अलि आइपुगेको अलि देखिँदैन ।’

उनले पूर्वी तराई भन्दा पनि पश्चिम तराईमा वायु प्रदूषणको मात्रा बढी रहेको केही समयपछि काठमाडौँमा यसको मात्रा बढ्न सक्ने बताए । भारतमा भएको वायु प्रदूषणको असर नेपाल आइपुगेको बताउँदै उनले भने–‘भारतको पञ्जाव र हरियाणा क्षेत्रमा हिउँदको समयमा धान काटिसकेपछि पराल जलाउने गर्छन् । त्यसको असर विहारको पूर्वसम्म देखिन्छ । ती सबै क्षेत्र अहिले तुवाँलोले ढाकेको छ । त्यहाँको प्रदूषण बिस्तारै हावाले बगाएर ल्याउँदा त्यसको असरमा नेपालमा पनि परेको हो । 

पञ्जाब, दिल्लीबाट पश्चिम तराई नजिक पर्ने भएका कारण ती क्षेत्रमा सबैभन्दा धेरै असर रहेको उनले बताए । 

लामिछानेले भने–‘यो हाम्रो कारणले भएको समस्या भन्दा पनि क्षेत्रीय भारतमा भएको प्रदूषणको समस्या हो । तिहारपछि नेपालमा प्रदूषणको मात्रा बढेको छ । तराईमा प्रदूषण आइसकेकोले काठमाडौँमा पनि आइपुग्ने सम्भावना धेरै छ । भारतमा पराल लगायतका सामग्री बाल्ने क्रम कतिबेलासम्म रहन्छ त्यसमा पनि भर पर्छ ।’

अहिले काठमाडौँमा भइरहेको वायुमण्डल प्रदूषण भारतबाट आइपुगेको नभइ यहीँकै स्थानीय स्रोतबाट भएको प्रदूषणले वायुमण्डलमा असर परेको वातावरण निरीक्षक लामिछानेले बताए । 

यसबाट स्वास्थ्यमा कस्तो असर पर्छ ? 

अरू प्रदूषण जस्तै यसले पनि मानव स्वास्थ्यमा असर पार्दछ । पराल लगायतका सामग्री जलाउँला त्यसबाट निस्किने धुलाका कणले हाम्रो श्वास प्रश्वासमा असर पार्ने लामिछानेले बताए । दम खोकी लगायतका श्वासप्रश्वास सम्बन्धी समस्याहरू देखिन सक्ने, बालबालिका र वृद्धवृद्धालाई बढी असर देखिने उनको भनाई छ । 

अत्यधिक वायु प्रदूषण भएका बेला अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, मास्कको प्रयोग गरी सावधानी अपनाउन सकिने वातावरण निरीक्षक लामिछानेको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप