शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो

बिहीबार, ०७ साउन २०८३, २१ : ३०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • कांग्रेसभित्रको विवाद समाधान गर्न स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय भेला आयोजना गर्ने भएका छन् ।
  • साउन १६ गते काठमाडौँमा आयोजना हुने भेलामा देशभरका नगर तथा गाउँपालिकाका जनप्रतिनिधि सहभागी भई पार्टी शीर्ष नेताहरूलाई दबाब दिनेछन् ।
  • भेलाले पार्टी एकता र नजिकिँदो निर्वाचनका विषयमा छलफल गरी समाधानका विकल्पसहितको दस्ताबेज सार्वजनिक गर्ने तयारी गरेको छ ।

काठमाडौँ। नेपाली कांग्रेसभित्र देखिएको विवाद थप पेचिलो भन्दै गएपछि स्थानीय तहमा कांग्रेसबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले नेताहरूलाई दबाब दिन राष्ट्रिय भेला गर्ने भएका छन् ।

स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष र सदस्य समेतलाई काठमाडौँ बोलाई साउन १६ गते दबाबमूलक भेला गर्न लागेको हो । बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा भएको नगर प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले शुक्रबार बिहानैदेखि पार्टीका शीर्ष नेताहरूसँग मिल्न नसक्नुका कारणहरूबारे भेटेर छलफल गर्ने र मिल्नका लागि दबाब दिने निर्णय समेत गरेको छ । 

दबाब अभियानले नेपाल नगर पालिका सङ्घका केन्द्रीय अध्यक्ष रहेका धादिङ नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई संयोजक तोक्दै गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष समेत रहेकी हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ । 

नजिकिँदो स्थानीय र प्रदेशको तहको निर्वाचन तथा पार्टी एकताका विषयमा छलफल गर्न भेला आयोजना गर्न लागिएको अभियानका संयोजक भीम प्रसाद ढुङ्गानाले जानकारी दिए ।

'जुन पार्टीको कार्यकर्ता भएर यहाँ पुगियो त्यो पार्टी जोगाउनु हामी सबैको कर्तव्य हो,´ ढुङ्गानाले भने 'पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले दशभरका जनप्रतिनिधि काठमाडौँ बोलाएर दबाब दिन खोज्दैछौँ ।' 

उनले समूहको कुरा नभई पार्टीलाई मात्र केन्द्रमा राखेर भेला बोलाइने बताए। उनले पार्टीलाई मिलाउने बिन्दु खोज्ने सन्दर्भमामा शुक्रबार देखी नै पार्टी सभापति गगन थापा सहित पदाधिकारी र असन्तुष्ट नेताहरूसँग छलफल गरिने बताए ।

स्थानीय तहमा कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरू पार्टी नफुटोस् भन्ने पक्षमा रहेकाले त्यसकै प्रतिनिधित्व गर्दै दबाब दिन लागेको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताए । बैठकले भेलामा पेस गरिने विषयहरू तय गर्न सबै प्रदेशमा समन्वयात्मक बैठक समेत गर्ने तयारी गरेको छ। 

नमिलेका विषयमा छलफलपछि विकल्प सहित मिलन बिन्दुको दस्ताबेज समेत सार्वजनिक गरिने तयारी भएको कागेश्वरीका नगर प्रमुख कार्कीले बताए। 

बैठकले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई हल खोज्ने जिम्मेवारी दिएको छ । राष्ट्रिय सभागृह वा प्रज्ञा प्रतिष्ठान मध्ये एक हल भोलि नै १६ गतेका लागि बुक गरिने नगर प्रमुख दीपक रिसालले जानकारी दिए । सातै प्रदेशका गरी करिब २० जना नगर प्रमुखहरूको बैठकमा सहभागिता रहेको थियो । 

बैठकले आर्थिक स्रोत व्यवस्थापन समितिको संयोजकमा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, मञ्च व्यवस्थापन तथा जनसम्पर्क समितिको जिम्मेवारी शारदा नगरपालिकाका नगर प्रमुख भण्डारीलाई तोकेको छ भने प्रचारप्रसार प्रसारको जिम्मेवारी नेपाल प्रेस युनियनका पूर्व कोषाध्यक्ष सरोज अधिकारीलाई दिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप