बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँ–१ : किसान सम्झदै एमाले, जोशी बिर्सँदै कांग्रेस

सोमबार, २१ कात्तिक २०७९, २१ : २०
सोमबार, २१ कात्तिक २०७९

शिव सत्याल/सुवास श्रेष्ठ

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी तनहुँमा पनि बढेको छ । प्रमुख राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदातासम्म पुगेर आफ्ना प्रतिबद्धता राखिरहेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एमालेबाट उम्मेदवार बनेका एकबहादुर राना र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी चुनावी प्रचार प्रसारमा तीव्र रूपमा लागेका छन् । 

सो निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद किसान श्रेष्ठले पार्टी नै परित्याग गरी नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनी अहिले बाराबाट उम्मेदवार छन् । एमालेका मतदाता अझै पनि श्रेष्ठको स्मरण गरिरहेका छन् । दमौली बजारमा भेटिएका एमाले मतदाता इन्द्रबहादुर परियार अहिले पनि एमालेबाट किसान श्रेष्ठ उम्मेदवार बनेको भए चुनाव जित्न सजिलो हुने बताउँछन् ।

‘अहिले किसान दाइ उम्मेदवार बन्नुभएको भए तनहुँको चुनावी माहौल नै अर्कै हुन्थ्यो, एमालेले चुनाव जित्थ्यो । दाइले पार्टी पनि छोड्नुभयो, तनहुँ छोडेर बारातिरबाट उम्मेदवार बन्नुभएको छ रे, यहाँ एमालेले जित्छ कि जित्दैन भनेर यकिन रूपमा भन्न सकिने अवस्था नै देखिएन,’ परियारले रातोपाटीसँग भने ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ शेरामा भेटिएका श्रीप्रसाद दरै पनि किसान श्रेष्ठलाई ‘मिस’ गरिरहेका छन् । उनी पनि एमाले मतदाता हुन् । ‘किसानले चुनाव जितेपछि यो क्षेत्रको विकास धेरै भयो, सडक फराकिला बने, अहिले पनि उहाँ एमालेबाट उम्मेदवार बन्नुभएको भए एमालेले सजिलै चुनाव जित्थ्यो । तर पनि एमाले बलियो नै छ, एमालेले चुनाव जित्छ जस्तो लाग्छ,’ दरै भन्छन् । उनले २०७४ मा पनि एमालेलाई भोट हालेको र यसपालि पनि एमालेलाई नै भोट हाल्ने बताए । 

​व्यास नगरपालिका ७ बोटेटारका बमबहादुर गुरुङ अहिले एमालेबाट किसान श्रेष्ठ उम्मेदवार बनेका भए ‘स्योर सट’ चुनाव जित्ने विश्लेषण सुनाउँछन् । एमालेको तर्फबाट श्रेष्ठले चुनाव जितेपछि तनहुँको विकास भएको उनलाई लाग्छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि विकासका कार्य धेरै भएको गुरुङले सुनाए ।

‘एमालेको तर्फबाट किसान श्रेष्ठ उम्मेदवार बन्नुभएको भए अहिले पनि ‘स्योर सट’ एमालेले जित्थ्यो किनभने एमालेले जितेपछि मात्रै तनहुँको विकास भएको हो । केपी ओली प्रधानमन्त्री भएको बेलामा मात्रै देश विकास भएको हो,’ गुरुङले सुनाए ।

गुरुङले अर्को एउटा हल्ला पनि सुनेका रहेछन् । एमाले उम्मेदवार एकबहादुर रानाले ‘उम्मेदवारी नै हापिदिन खोजेको तर पछि नसकेको’ कुरा सुनेको गुरुङ बताए । ‘रानाले जोशी (स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी) लाई समर्थन गरेको भए पौडेल (कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल) ले स्वतः चुनाव हार्ने थिए, रानाले हापिदिने विचार पनि गरेको रहेछ, तर पछि उनले उम्मेदवारी हाप्न सकेनछन्, त्यसैले अब त्रिपक्षीय प्रतिस्पर्धा हुने देखियो,’ गुरुङले सुनाए ।

२०७४ को निर्वाचनमा बाम गठबन्धन (एमाले र माओवादी) को तर्फबाट उम्मेदवार बनेका किसान श्रेष्ठले तनहुँ–१ बाट कांग्रेस वरिष्ठ नेता पौडेललाई हराएका थिए ।

एमाले मतदाताले किसान सम्झिरहँदा एमाले नेताहरू उनको पार्टीको असर एमालेलाई नपर्ने दाबी गर्छन् । एमाले नेता प्रदीप अधिकारी गत स्थानीय तह निर्वाचनमा नेकपा एसबाट तनहुँमा उम्मेदवार बनेका सबैको जमानत जफत भएकोले सो पार्टीको असर नपर्ने दाबी गर्छन् ।

‘नेकपा एसको कुनै पनि असर हामीलाई पर्दैन, गत स्थानीय तह निर्वाचनमा एसका सबै उम्मेदवारको जमानत जफत भएको थियो, त्यस्तो पार्टीका नेता र कार्यकर्ताको अब हामीले चिन्ता गर्ने होइन । नेकपा एसको कारण एमालेलाई कुनै असर पर्दैन,’ अधिकारीले भने । 

जोशी बिर्सँदै कांग्रेस

तनहुँ–१ मा स्वतन्त्र उम्मेदवारको रूपमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले पनि उम्मेदवारी दिएका छन् । तनहुँका प्रभावशाली नेता जोशीले स्वतन्त्र उम्मेदवारी दिएको कारण आफूहरूको जित सहज भएको विश्लेषण एमाले नेताहरूको छ । 

‘जम्मा ७० हजार जति मत खस्छन् होला, जोशीले १२ हजार जति मत ल्याउँछन्, जोशीले ल्याउने मत कांग्रेसकै हो, अहिले तनहुँ–१ मा कांग्रेसका २ जना उम्मेदवार छन् भन्दा पनि हुन्छ, हाम्रो मत अहिले नै २७ हजारको हाराहारीमा पुगेको छ, यसमा केही बढाउने बित्तिकै हामीले चुनाव जित्छौँ,’ एमाले नेता अधिकारीले हिसाब सुनाए । तनहुँ–१ मा १ लाख २३ हजार मतदाता छन् ।

कांग्रेस नेता ताराप्रसाद श्रेष्ठ भने जोशीलाई नेपाली कांग्रेसका नेता भनेर अब सम्झिरहन जरुरी नभएको बताउँछन् । उनी पूर्व कांग्रेस र अघिल्लो निर्वाचनदेखि नै कांग्रेस विरोधी व्यक्तिका रूपमा रहेकोले जोशीले कांग्रेसको मत काट्ने भन्दा पनि उनको आफ्नै मत कति छ भनेर विश्लेषण गर्नुपर्ने श्रेष्ठको भनाई छ । 

‘जोशी सरले कांग्रेसको कति भोट काट्नु हुन्छ भनेर कसैले विश्लेषण गरेको छ भने त्यो विश्लेषण सही हुँदैन, उहाँ त २०७४ को चुनावदेखि नै कांग्रेसका उम्मेदवार हराउन लाग्नुभएको छ, उहाँ पूर्व कांग्रेस हो, उहाँको आफ्नै भोट होलान्, उहाँलाई आउने भोट कांग्रेसको होइन, कांग्रेसले कांग्रेसका आधिकारिक उम्मेदवारलाई भोट हाल्छन्, कांग्रेसले मुख होइन रुख हेर्छन्, त्यसैले जोशी सरलाई अब हामीले कांग्रेस भनेर सम्झनु पर्दैन, बिर्सनु जाती हुन्छ,’ २०४९ सालको व्यास नगरपालिकाको मेयरसमेत रहेका श्रेष्ठले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई पनि सत्ता गठबन्धनका उम्मेदवार जिताउन मैदानमा खटिएका छन् । दमौली बजारमा मत माग्दै हिँडिरहेका भेटिएका भट्टराईले कांग्रेसको भोट कसैले काट्ने भन्ने नै नहुने बताए ।

‘पहिलो कुरा त तनहुँ–१ मा कांग्रेस जति सबैले एकै ठाउँमा भोट हाल्ने हो भने कांग्रेस उम्मेदवारले सजिलै चुनाव जित्छन्, यसमा थप गठबन्धन पनि छ, यसपालि कांग्रेस र गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न कुनै गाह्रो म देख्दिनँ, कांग्रेसले गठबन्धनका अन्य पार्टीका उम्मेदवारलाई त इमान्दारी पूर्वक भोट हालेका छन् भने आफ्नै पार्टीको उम्मेदवारलाई भोट नहाल्ने भन्ने प्रश्नै आउँदैन,’ कांग्रेस केन्द्रीय सदस्य भट्टराईले भने ।

व्यास नगरपालिका १० बैरेनीमा भेटिएका प्रेमराज मिश्र कांग्रेस मतदाता हुन् । उनी पनि जोशीले काट्ने मतलाई कांग्रेसको मत यति काटियो भनेर विश्लेषण गर्न नहुने बताउँछन् ।

‘गोविन्दराज जोशी पूर्व कांग्रेस हुन्, कांग्रेसले भोट हाल्ने कांग्रेस उम्मेदवारलाई हो, जोशी सरले कांग्रेस छोडेको नै यति लामो समय भइसक्यो भने अब उहाँले कांग्रेसका कति भोट काट्नु हुन्छ भनेर हिसाब गरिरहनुको औचित्य छ जस्तो मलाई लाग्दैन,’ मिश्रले भने ।

कांग्रेस युवा नेता शैलेश खाती क्षेत्री भने गठबन्धनका कारण जोशीलाई जाने मत कांग्रेसकै भएपनि कुनै असर नपर्ने हिसाब सुनाउँछन् । ‘यो क्षेत्रमा एमालेभन्दा कांग्रेसको मत निकै बढी छ, गोविन्दराज जोशीले ३५ सयदेखि ५ हजार मत ल्याउनु हुन्छ, गठबन्धन गरेका कारण माओवादीको ७ देखि ९ हजार मत कांग्रेस उम्मेदवारलाई आउँछ, यति सहज अवस्थामा हामी चुनाव लडिरहेका छौँ, त्यसैले कसले कति मत काट्छ भनेर चिन्ता गरिरहनु पर्दैन,’ क्षेत्रीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप