सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुर होलिडेजले ल्यायो युरोपको टुर प्याकेज, कति लाग्छ खर्च ?

मङ्गलबार, २२ कात्तिक २०७९, ११ : ५८
मङ्गलबार, २२ कात्तिक २०७९

कुनै समय थियो, नेपालबाट टुर प्याकेज चलाउने भनेको छिमेकी देश भारतमा मात्रै थियो । तर मानिसहरूको आम्दानी र घुमिफिर गर्ने बानीले भारतपछि थाइल्यान्ड, श्रीलङ्का, मालदिभ्स, बाली र सिंगापुरसम्म टुर प्याकेज चल्न थाल्यो ।

कोभिडपछि करिब–करिब बन्द भएको वैदेशिक घुमघामको प्याकेज यति बेला ट्राभल एजेन्सीहरूले पुनः ल्याउन थालेका छन् । सन् २०२२ को क्रिसमस र २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै ट्राभल एजेन्सीहरूले अन्तर्राष्ट्रिय टुर प्याकेजहरू ल्याउन थालेका छन् । र, यति बेला टुर प्याकेज भारत, थाइल्यान्ड, इन्डोनेसिया र सिंगापुरभन्दा टाढा अब युरोप टुरकै प्याकेज सुरु भएको छ । 

लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले यति बेला १० रात ११ दिनको युरोप टुर प्याकेज सुरु गरेको छ । सन् २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै टुर प्याकेज ल्याइएको कान्तिपुर होलिडेजका महाप्रबन्धक हेमराज भट्टले बताए ।

यस्तो छ कान्तिपुर होलिडेजले ल्याएको ११ दिनको युरोप टुर प्याकेज

लाजिम्पाटमा कार्यालय रहेको कान्तिपुर होलिडेजले सन् २०२२ को क्रिसमस तथा सन् २०२३ को नयाँ वर्षलाई मध्यनजर गर्दै फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, अष्ट्रिया, इटाली र स्वीटजरल्याण्डको  टुर प्याकेज ल्याएको छ । फ्रान्सबाट सुरु हुने टुर प्याकेज स्वीटजरल्याण्डको ज्युरिच पुगी नेपाल फर्केपछि समाप्त हुनेछ । 

दिन १ : काठमाडौँ–फ्रान्स

टुर प्याकेजको पहिलो दिन काठमाडौँबाट फ्रान्सको राजधानी पेरिस पुगिनेछ । त्यहाँ रहेको इन्डियन रेस्टुरेन्टमा डिनर गरेर त्यहाँको ४ तारे होटलमा राखिनेछ । 

दिन २ : पेरिसको सिटी टुर, आइफिल टावरको भ्रमण र क्रुज सफारी

टुर प्याकेजको दोस्रो दिन पेरिसको सिटी टुर तथा आइफिल टावरको भ्रमण गराइनेछ । दिउँसोको खानापछि सोही दिन अपरान्ह वा साँझको समयमा पेरिसको सेन नदीमा क्रुज सफारी समेत गराइनेछ । राती इन्डियन रेस्टुरेन्टमा डिनर गराई होटलमा राखिनेछ । 

दिन ३ : पेरिसबाट बेल्जियमको ब्रसेल्स प्रस्थान

टुर प्याकेजको तेस्रो दिन बिहानै होटलमा ब्रेकफास्ट गरेर बेल्जियमको राजधानी ब्रसेल्सका लागि लगिनेछ । ब्रसेल्समा ओरिण्टेसन टुर गराएर सोही दिन बेल्जियमको ब्रसेल्सबाट नेदरल्याण्डको राजधानी आम्सटर्डम लगिनेछ । इन्डियन रेस्टुरेन्टमा डिनर गराएर सो दिन आम्सटर्डमको होटलमा राखिनेछ । 

दिन ४ : नेदरल्याण्डस्को आम्सटर्डमको सिटी टुर, क्यानल क्रुज सफारी

टुरको चौथो दिन बिहान आम्सटर्डमको होटलमा ब्रेकफास्ट गरेपछि करिब ३ घण्टाको आम्सटर्डमको सिटी टुर गराइनेछ । सिटी टुरमा झान्से सान्स चिज फ्याक्ट्री र वुडन सु फ्याक्ट्रीको समेत भ्रमण गराइनेछ । सिटी टुरपछि लञ्च खाएर आम्सटर्डमको क्यानल क्रुजको सफारी गराइनेछ । त्यसपछि इन्डियन रेस्टुरेन्टमा डिनर गराएर सो रात आम्सटर्डमकै होटलमा राखिनेछ । 

दिन ५ : जर्मनीको कोलोन शहर प्रस्थान

टुर प्याकेजको पाँचौ दिन नेदरल्याण्डस्को आम्सटर्डमबाट जर्मनीको कोलोन शहरमा लगिनेछ । कोलोन सहरको सिटी टुर गराई लञ्च खाएपछि सोही दिन जर्मनीको म्यानहाइम शहरका लागि लगिनेछ । जर्मनीको म्यानहाइम सहरको इन्डियन रेस्टुरेन्टमा डिनर गराएर सो दिन म्यानहाइमकै फोर स्टार होटलमा राखिनेछ । 

दिन ६ : जर्मनीबाट अस्ट्रिया यात्रा, इन्सब्रकमा सिटी टुर

टुर प्याकेजको छैटौँ दिन बिहान जर्मनीको आम्सटर्डममा रहेको होटलमा ब्रेकफास्ट गरेर त्यहाँबाट अष्ट्रियाको इन्सब्रक शहरमा लगिनेछ । अष्ट्रियाको इन्सब्रक शहरमा लञ्च खाएर त्यहाँको सिटी टुर गराइनेछ । सिटी टुरपछि सो रात इन्सब्रककै होटलमा राखिनेछ । 

दिन ७ : अस्ट्रियाको स्वारोस्की क्रिस्टल वर्ल्डमा टुर, इटालीको भेनिस प्रस्थान

टुरको सातौं दिन इन्सब्रकको होटलमा ब्रेकफास्ट गरेर इन्सब्रक सहरबाट २० किलोमिटरको दुरीमा रहेको वाटेनको पर्यटकीय स्थल स्वारोस्की क्रिस्टल वर्ल्डमा लगिनेछ । त्यहाँ घुमघाम र सपिङ सकिएपछि लञ्ज खाएर इटालीको भेनिस लगिनेछ ।

इटालीको भेनिस पुगेपछि त्यहाँ इन्डियन रेस्टुरेन्टमा डिनर खाएर भेनिस सहरकै फोर स्टार होटलमा राखिनेछ । 

दिन ८ : भेनिसमा वाटर ट्याक्सी टुर, इटालीकै मिलान शहर प्रस्थान

टुरको आठौं दिन बिहान भेनिसमा रहेको होटलमा ब्रेकफास्ट गरेपछि भेनिसमै रहेको टापुमा वाटर ट्याक्सी सफारी गराइनेछ । उक्त सफारी करिब एक घण्टाको हुनेछ । 

वाटर ट्याक्सी सफारी पछि भेनिस सहरकै सिटी टुर गराइनेछ । त्यसपछि इटालीकै मिलान शहरमा लगिनेछ । मिलान शहरमा रहेको इन्डियन रेस्टुरेन्टमा डिनर गराएर बास बस्नका लागि होटलमा लगिनेछ । 

दिन ९ : इटालीको मिलानमा सिटी टुर, स्वीटजरल्याण्डको ज्युरिच प्रस्थान

टुरको नवौँ दिन बिहान मिलान शहरमा आफू बसेको होटलमा ब्रेकफास्ट गरेर करिब २ घण्टा मिलानको सिटी टुर हुनेछ । सिटी टुर सकिएपछि लञ्च गरेर इटालीको मिलानबाट स्वीटजरल्याण्डको ज्युरिच प्रस्थान गरिनेछ । स्वीटजरल्याण्डको ज्युरिच शहर पुगेपछि इन्डियन रेस्टुरेन्टमा डिनर गराएर त्यहीँको फोर स्टार होटलमा राखिनेछ । 

दिन १० : स्वीटरजरल्याण्डको माउण्ट टिटिलिस एक्सकर्सन

टुरको दशौं दिन स्वीटजरल्याण्डको ज्युरिचमा आफू बसेको होटलमा ब्रेकफास्ट गरेर एञ्जलबर्ग पहाडमा रहेको माउण्ट टिटलिसमा आइस फ्ल्याएरका लागि लगिनेछ । त्यहाँ घुमघाम सकाएपछि लञ्च खाएर लुसर्न सिटीको टुर गराइनेछ । टुर सकिएपछि इन्डियन रेस्टुरेन्टमा डिनर गराएर होटल लगिनेछ । 

दिन ११ : स्वीटजरल्याण्डबाट नेपाल प्रस्थान

टुरको ११ औँ दिन बिहान स्वीटजरल्याण्डमा आफू बसेको होटलमा ब्रेकफास्ट गरेर त्यहाँबाट ज्युरिच एअरपोर्ट लगिनेछ । त्यहाँबाट नेपाल फर्किएपछि टुर सकिनेछ । 

खर्च

कान्तिपुर होलिडेजले आफ्नो युरोप टुरका लागि कुल ४ लाख रुपैयाँको बजेट बनाएको महाप्रबन्धक भट्टले बताए । चार लाख रुपैयाँमा हवाई भाडा, होटल रुम, अन्य खर्च र नेपालमा प्रोसेसिङको सबै काम हुनेछ । विदेशमा दिउँसोको खाना (लञ्च) भने आफैँले खानुपर्नेछ । त्यसबाहेक सपिङ खर्च र प्याकेजमा समावेश भएको भन्दा अन्य सेवा लिएमा त्यसको खर्च व्यक्ति आफैँले बेहोर्नुपर्नेछ । 

आवश्यक कागजात

युरोप टुरका लागि कम्तिमा १० लाखको बैंक ब्यालेन्स र आम्दानीको श्रोत आवश्यक न्युनतम कागजात हो । व्यापार गर्ने व्यक्ति हो भने व्यापारको नाफा नोक्सानको हिसाब र त्यसबापत कर तिरेको प्रमाण पेस गर्नु पर्नेछ । जागिरे वा तलब खाने व्यक्ति हो भने युरोप घुम्नका लागि नेपालको नियमित खर्च कटाएर घुम्न पुग्ने प्रकृतिको तलबमान बैंक खातामै हालिदिएको प्रमाण पुग्ने कागजात पेस गर्नुपर्नेछ । प्राकृतिक व्यक्ति भए पनि उसले कर तिरेको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने हुनसक्छ । 

युरोप भ्रमणका लागि कम्तीमा ७ महिनाको भ्यालिडिटी भएको एमआरपी वा इ–पासपोर्ट आवश्यक हुन्छ । सेतो ब्याकग्राउण्ड भएको २ प्रति फोटो, नागरिकताको प्रति, श्रीमान्–श्रीमती नै टुरमा जाने भए म्यारिज सर्टिफिकेटको प्रति, परिवार नै जाने भए रिलेसनसीपको प्रमाणित कागजात आवश्यक हुन्छ । 

त्यसैगरी कम्पनीको तर्फबाट बिजनेश टुरमा जाने भए प्यान कार्डको प्रति, कम्पनी दर्ता प्रमाणपत्रको प्रति, २ वर्षको अडिट रिपोर्ट र कर चुक्ता प्रमाणपत्रको प्रति पेस गर्नुपर्नेछ । 

त्यसैगरी जागिरे व्यक्ति टुरमा जाने भए नियुक्तिपत्रको प्रति, तलबमान खुल्ने गरी कम्पनीको तर्फबाट दिइएको पत्र, नो अब्जेक्सन वा रेफरेन्स लेटर, व्यक्तिगत प्यान कार्डको प्रति, कम्तीमा ६ महिनाको ८ लाखभन्दा माथिको ब्यालेन्स भएको स्टेटमेण्ट र बैंकले जारी गर्ने ब्यालेन्स सर्टिफिकेट पेस गर्नुपर्नेछ । 

आवश्यकता अनुसार अतिरिक्त आम्दानी भएमा फिक्स्ड डिपोजिट, सेयर, घरबहाल आदिको आम्दानीको श्रोत पनि देखाउन सकिनेछ । 

फिक्सड डिपाचर

कान्तिपुर होलिडेजले सन् २०२२ को क्रिसमस र २०२३ को जनवरी टुरका लागि डिसेम्बर २४ भित्र फिक्स्ड डिपाचरको सेड्युल बनाएको महाप्रबन्ध भट्टले बताए । भट्टले भने, ‘हामी डिसेम्बर २४ भित्रै यहाँबाट उड्ने गरी फिक्स्ड डिपाचरको सेड्युल बनाउँदैछौँ । मितिचाहिँ करिब १५ दिन अगाडि थाहा हुन्छ । एउटा समूहमा १० जनासम्म राखेर हामीले टुर प्याकेजको तयारी गरेका छौँ ।’

भिसा प्रोसेसिङ र समय

युरोप टुरका लागि आवश्यक कागजात व्यक्ति वा कम्पनी आफैँले तयार पार्नुपर्ने हुन्छ । टुर प्याकेज सञ्चालन गर्ने कम्पनीले त्यसका लागि सहजीकरण गरिदिने काम गर्छन् । कागजात मिल्यो वा मिलेन र पुग्यो वा पुगेन भन्ने कुरा ट्राभल एजेन्सीले गरिदिने भए पनि आवश्यक सबै कागजात ल्याउने जिम्मेवारी भने व्यक्ति वा कम्पनीको नै रहनेछ । भिसाका लागि आवेदन दिनसमेत व्यक्ति आफैँ दूतावासमा पुग्नुपर्नेछ । युरोप टुरका लागि काठमाडौँमै रहेका दूतावासबाट भिसाका लागि आवेदन दिइनेछ ।

भिसा नलागेमा हुने खर्च

युरोप टुर व्यक्तिले चाहँदैमा मिलिहाल्छ वा पैसा छ भन्दैमा भइहाल्छ भन्ने छैन । त्यसका लागि पहिले ती व्यक्तिले भिसा पाउनुपर्छ । युरोपियन युनियनमा आबद्ध देशले भिसा दिएपछि मात्रै युरोपको भ्रमण गर्न सकिन्छ । नियमित र राम्रो आम्दानीको श्रोत, राम्रो व्यापार र नियमित कर तिरेको व्यक्ति छन् भने त्यस्ता व्यक्तिको भिसा लाग्ने सम्भावना बढी हुन्छ । तर नियमित आम्दानी नभएको, व्यापार पनि नभएको र नियमितरुपमा कर पनि नतिरेको व्यक्तिको भिसा लाग्ने सम्भावना कम नै रहन्छ । 

युरोप घुम्ने सपना बनाएर भिसाका लागि प्रोसेसिङ गर्दा यदि भिसा आएन भने ती व्यक्तिको कति खर्च हुन्छ त ? कान्तिपुर होलिडेजका महाप्रबन्धक हेमराज भट्ट भन्छन्, ‘करिब ४० हजार रुपैयाँ ।’ भिसा शुल्क, होटल बुकिङ, ट्राभल इन्सुरेन्स र प्रशासनिक कामका लागि गरेर करिब ४० हजार जति खर्च हुने उनको भनाई छ । भिसा लागेको खण्डमा भने ४ लाख रुपैयाँमै सबै शुल्क समावेश हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप