आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

‘मेरो राजनीतिक करिअर समाप्त पार्ने प्रयास भयो, मलाई न्याय दिनुहुन्छ भन्ने विश्वास छ’
मङ्गलबार, २२ कात्तिक २०७९, १४ : ०९
मङ्गलबार, २२ कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।

तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।

सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पूरै र बर्जु गाउँपालिका पर्दछ । इटहरीको वडा नम्बर ६ स्थित संगीत चोकमा हाम्रो टोली पुग्दा गच्छदारले भाषण गरिरहेका थिए ।

सत्ता गठबन्धनका केही सय कार्यकर्तामाझ उनले आधा घण्टा भावनात्मक भाषण गरे । त्यस क्रममा उनी केपी ओली नेतृत्वको तत्कालीन सरकारले ललिता निवास जग्गा काण्डमा मुद्दा हालेको भन्दै भक्कानिए । भक्कानिँदै उनले भने, ‘सातौं पटक म जनतासँग भोट माग्न होइन, न्याय माग्न आएको छु, मलाई पहिलेभन्दा धेरै भोट लिएर जिताउनु भयो भनेमात्रै इन्साफ पाउँछु ।’

१३ पटक मन्त्री भएको र ६ पटक निर्वाचन जितेका उनका विरुद्ध बालुवाटार जग्गा हिनामिना मुद्दामा २०७६ माघमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । त्यसपछि उनी मन्त्री हुन पाएनन् भने सांसद पद पनि निलम्बित भयो । उनलाई ९ करोड ६९ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लागेको छ । ओली नेतृत्वको तत्कालीन सरकारले आफ्नो ५० वर्षको राजनीतिक करिअर समाप्त पार्ने प्रयास गरेको उनको आरोप छ ।

‘७ चोटीका लागि आएको छु । म न्याय माग्न आएको हुँ । मलाई ठूलो अन्याय भएको छ । तत्कालीन एमाले सरकारले ममाथि जबर्जस्ती ५० वर्षको क्यारिअर समाप्त पार्न जबर्जस्ती ललिता निवासको जग्गामा मलाई मुद्दा हालेको छ । मेरो जीवनमा आजसम्म एक लाल पनि अनियमितता गरेको छैन । मलाई न्यायालयले न्याय दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।

आफूलाई जनताले पनि न्याय दिनुपर्ने उनको भनाइ थियो । ‘म जनताको अदालतमा ६ चोटीमात्रै होइन ७ चोटी आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भनेमात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु ।’

उनले आफूले विकास निर्माणको थुप्रै काम गरेको र चर्चा गरेर साध्य नभएको पनि बताए । ‘विजय गच्छदारले गरेको काम छर्लङ्ग छ । मैले बनाएको बाटोबाट सरर्र जान्छन् अनि विपक्षीहरू विजय गच्छदारले ६ चोटी जितेर के गर्‍यो भन्दै गरिब जनतालाई भ्रमित पार्छन्,’ उनी भन्छन्, ‘अनि इटहरीका बौद्धिक जनता पनि भ्रममा पर्ने ? म यो गर्छु, त्यो गर्छु भनेर भोट माग्न आएको होइन । राजनीतिक कुरा गरेर भोट माग्न आएको हुँ ।’

उनले गठबन्धन हुँदा भोट ट्रान्सफर नहुने हो कि भन्ने आशङ्का गर्दै कांग्रेस र माओवादीका कार्यकर्तालाई गठबन्धनको मर्म अनुसार मतदान गर्न अपिलसमेत गरे । ‘कांग्रेसका साथीहरू पनि गोलाकार भित्रको हँसिया हथौडामा भोट हाल्ने प्राक्टिस गर्नुहोस् । माओवादीका साथीहरूले पनि रुखमा भोट हाल्ने प्राक्टिस गर्नुहोस् । म कांग्रेसको मात्रै उम्मेदवार होइन । गठबन्धनको संयुक्त उम्मेदवार हुँ । सरस्वती पोखरेल प्रदेशतर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँ पनि माओवादीको मात्रै उम्मेदवार होइन । गठबन्धनको संयुक्त उम्मेदवार हो,’ सोही क्षेत्रको प्रदेशसभा (क)मा उम्मेदवार बनेकी पोखरेललाई देखाउँदै उनले आग्रह गरे ।

भाषणको अन्तिममा उनले कांग्रेसको पक्षमा नाराबाजी गर्दै ‘जय नेपाल’ भने । त्यही सन्दर्भमा उनले ‘लाल सलाम’ भन्न आफूलाई अप्ठ्यारो लागेको पनि सुनाए । ‘मलाई नै लालसलाम भन्न गाह्रो लागिरहेको छ, कांग्रेसका साथीहरूलाई गाह्रो पर्छ भने लोकतान्त्रिक वाम गठबन्धन भन्दा हुन्छ नि ? कांग्रेसलाई लालसलाम भन्न निक्कै मुस्किल परेको होला । मलाई नै धेरै अप्ठ्यारो लाग्छ,’ उनले भने ।

गच्छदारलाई चुनावी भाषणकै क्रममा ‘हिजो एक्लै जित्नु भएको थियो । अहिले त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि साथ छ । नजित्ने कुरै छैन’ भन्दै कार्यकर्ताले ढाडस दिइरहेका थिए ।

प्रदेशसभाकी उम्मेदवार बनेकी माओवादी नेतृ तथा प्रदेश १ प्रदेशसभाका निवर्तमान उपसभामुख सरस्वती पोखरेलले पनि विजय गच्छदारको तारिफ गर्न छुटाइनन् । ‘विजय गच्छदारको नामै विजय हो । उहाँमा हारको कुनै गुन्जायस छैन । हालसम्म ६ पटक जित्नु भएको छ । अहिले सातौं पटक जित्ने विश्वास छ । ५२ वर्षको राजनीतिक जीवन, विकासप्रेमी नेतासँग हातेमालो गरेर चुनाव लड्न पाउँदा म धेरै हर्षित छु,’ उनी भन्छिन्, ‘आफू उपसभामुख हुँदा इटहरीको डुबानलाई सम्बोधन गर्ने पहलस्वरुप ढल नाला निर्माणको डीपीआर भइरहेको छ । इटहरी चोकमा आकाशे पुल निर्माण गर्ने, रंगशाला निर्माण गर्ने लगायतका काम हाम्रो टिमले गर्नेछ ।’

आठौँ पटक अर्को जिल्लाबाट उठ्न सक्छु : गच्छदार

कार्यक्रमपछि संचारकर्मीलाई सामान्य प्रतिक्रिया दिँदै गच्छदारले आठौं पटक पनि आफू निर्वाचनमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरे । ‘आठौँ पटक कसले देखेको छ । अहिलेसम्म ज्यूँदै छु, भोलि नहुन सक्छु, कसले देखेको छ ?’ यो अन्तिम पटक हो कि फेरि आठौं पटक पनि चुनाव लड्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यो अन्तिम पनि हुनसक्छ । आठौँ पटक फेरि आउन पनि सक्छु । म यही ठाउँमा लड्नुपर्छ भन्ने पनि छैन । मोरङको कुनै पनि क्षेत्रमा जान सक्छु । घरका मुर्गी दाल बराबर हो । बाहिर जिल्लाका लागि पनि विजय गच्छदार चिनिएकै मान्छे हो ।’

उनले यो पटक आफू न्याय माग्न आएको तर चुनाव लड्ने आफ्नो इच्छा भने नभएको बताए । ‘सातौं पटकचाहिँ म न्यायको लागि आएको हुँ । मलाई लड्नै इच्छा थिएन । तर, मैले लड्नु पर्‍यो । साथीभाइ, मेरो जनता, मेरो क्षेत्र र जिल्लाका मानिसहरूले मलाई अनुरोध गरे । यो राजनीतिक लडाइँ हो । मलाई जबर्जस्ती मुद्दा हालियो ।’

त्यसबेला आफू भौतिक योजना तथा यातायात मन्त्रालय सम्हालेर बसेको बताएका गच्छदारले आफूलाई मात्रै फसाउन खोजिएको दाबी गरे । ‘माधवकुमार नेपालको नेतृत्वमा सरकार थियो । त्यसबेलाको रक्षामन्त्री हालकी राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो । गृहमन्त्री भीम रावल हुनुहुन्थ्यो । सुजाता कोइराला पराराष्ट्र मन्त्री हुनुहुन्थ्यो । मिनेन्द्र रिजाल, प्रकाशशरण महत तथा मधेसी दलका नेताहरू पनि मन्त्री थिए,’ गच्छदारले भने, ‘मन्त्रिमण्डलले गरेको निर्णयमा मलाई जबर्जस्ती मुद्दा हालेको छ । मुद्दा मलाई मात्रै हालिएको छ,’ उनले भने, ‘नखाएको विष मलाई खुवाउन खोजिएको छ । जनताले यस पटक मलाई इन्साफ दिन्छन् भन्ने विश्वास छ । पहिले जनताको निर्णयपछि म एउटा निष्कर्षमा पुग्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप