शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा दुई ‘हेभीवेट’बीच भिडन्त : पीएस र देव ‘नेक टू नेक’

शुक्रबार, २५ कात्तिक २०७९, ०७ : ५१
शुक्रबार, २५ कात्तिक २०७९

बेसीशहर । हिमाली जिल्ला लमजुङलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले झ्याप्पै छोपेको छ । धान र कोदो जस्ता प्रमुख बाली भित्र्याउन भ्याई नभ्याई भएका जनतालाई ‘हात जोड्दै आउने नेताले’ केही अलमल्याएका पनि छन् ।

राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ता भने भोट माग्दै गर्दा केही समय पायो भने चुनावी अङ्क गणितको हिसाब गरिरहेका छन् । नेता, उम्मेदवार र कार्यकर्ता मात्रै होइन, यो पार्टी वा यो उम्मेदवारलाई भोट हाल्छु भनेर बसेका मतदाता पनि कुन उम्मेदवारले चुनाव जित्ला भनेर आफ्नो विश्लेषण सुनाउँदै र अर्काको हिसाब सुन्नमा व्यस्त छन् ।

यस्तै परिवेशमा रातोपाटीको टीम लमजुङ सदरमुकाम बेसीशहरभन्दा माथिल्लो  भेगका गाँउ गाउँशहर पुग्दा केही मतदाता खुलिरहेका थिएनन् भने केही मतदाता यो पार्टीले चुनाव जित्छ भनेर कारण सहित हामीलाई सुनाइरहेका थिए । गाउँबेसीका मतदाताको अभिमत तथा जिल्लाका नेताहरूको हिसाबको विश्लेषण गर्दा प्रतिनिधिसभाको लागि लमजुङमा एमाले उपमहासचिव समेत रहेका नेता पृथ्वी सुब्बा (पीएस) गुरुङ र गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका महासचिव समेत नेता देव गुरुङबीच कडा प्रतिस्पर्धा (नेक टू नेक प्रतिस्पर्धा) हुने देखिएको छ । बेसीशहर ३ दुलालटोलकी कमला दुलाल भने कसले जित्छ भनेर यकिन नभएको र आफूलाई भोट हाल्न पनि खासै जाँगर नलागेको सुनाउँदै थिइन् ।

‘कसलाई भोट हाल्ने भनेर यकिन गरिसकेकी छैन, जसलाई भोट हाले पनि उस्तै हुने त होला नि, पहिला पहिला के के न के के गर्छौँ भन्दै भोट माग्न आउँथे, जितेपछि केही पनि गरेनन्, यसपालि पनि के गर्लान् भन्ने लागेको छ, मलाई त भोट हाल्न जान पनि त्यति जाँगर छैन तर जानु पर्छ होला,’ दुलालले भनिन् ।

उनले चुनाव जितेर गएपछि रोजगारी सिर्जना, सुलभ शिक्षा र बाटोघाटो राम्रो बनाउन ध्यान दिने नेताले चुनाव जिते हुन्थ्यो भन्ने सुनाइन् ।

बेसीशहर-३ आलडाडाका कुलबहादुर गुरुङलाई भने जिल्लामा नै काँग्रेस अलि बलियो छ भन्ने लागेको छ । पहिलादेखि नै लमजुङ जिल्ला काँग्रेसको गढको रूपमा चिनिएको तर २०७४ मा एमाले र माओवादी मिलेका कारण मात्रै काँग्रेस हारेको उनको भनाई छ ।

‘यो जिल्लामा काँग्रेस बलियो छ, २०७४ मा माओवादी र एमाले मिलेका कारण मात्रै काँग्रेसले हारेको हो, अहिले त माओवादी र काँग्रेस मिलेका छन्, त्यसैले काँग्रेसले समर्थन गरेको उम्मेदवारले चुनाव जित्छ,’ गुरुङले भने । उनले आफूले पनि गठबन्धनकै उम्मेदवारलाई भोट हाल्ने खुलाए ।

आलडाडाकै मानबहादुर खत्रीलाई भने यसपालि घण्टीमा भोट हाल्न मन लागेको रहेछ । ‘घण्टी कमजोर भएर हो नत्र भोट चाहिँ घण्टीमा हाल्नुपर्ने थियो,’ खत्रीले भने । कमजोर घण्टीलाई भोट नहालेर उनी पनि गठबन्धनकै उम्मेदवारलाई भोट हाल्ने निधोमा पुगेका छन् ।

आलडाडाकै चिजमाया थापा जसले राम्रो काम गर्छ उसैलाई भोट हाल्ने तयारीमा छन् । सोही टोलकी शान्ता गुरुङ पनि नेताले एउटा कुरा गर्ने र काम अर्को गर्ने व्यवहारले दिक्क छिन् । ‘धोका दिन्छ के नेताले, एउटा भन्छन्, अर्कै गर्छन्, जे गर्ने हो त्यही भन्ने र जे भनेको छ, त्यही गर्ने गरे त हामी खुरुखुरु भोट दिइहाल्थ्यौँ  नि, खाली ढाँटेर दिक्क पार्छन्,’ शान्ताले भनिन् ।

लमजुङ दरबार क्षेत्र परिसरमा भेटिएका सूर्यकुमार श्रेष्ठ भने प्रतिनिधिसभाको लागि तीव्र प्रतिस्पर्धा भएको विश्लेषण सुनाउँछन् । प्रतिनिधिसभाको लागि एउटै मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा सत्ता गठबन्धनको तर्फबाट देव गुरुङ र एमालेको तर्फबाट पृथ्वी सुब्बा (पीएस) गुरुङ उम्मेदवार बनेका छन् ।

‘प्रतिनिधिसभाको लागि यसै भन्न सकिएन, पीएस अलि अगाडि छन्, जसले पनि जित्न सक्छन्, प्रदेश कमा जमिन्द्रमान गुरुङले जित्छन् होला, प्रदेश खमा भने भेषबहादुर पौडेलले जित्ने जस्तो देख्छु,’ श्रेष्ठले भने । जमिन्द्रमान गुरुङ एमालेका उम्मेदवार हुन भने पौडेल नेपाली काँग्रेसका उम्मेदवार हुन् ।

२०४३ सालदेखिका उम्मेदवार पीएस

एमालेबाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका पीएस गुरुङ २०४३ सालदेखि उम्मेदवार बन्न थालेका हुन् । पञ्चायती व्यवस्थामा पनि उनी तत्कालीन नेकपा मालेको तर्फबाट जनपक्षीय उम्मेदवारको रूपमा निर्वाचन लडेका थिए तर परिणाम भने उनको पक्षमा आएन ।

प्रजातन्त्र पुनर्स्थापना भएपछि २०४८ सालमा भएको निर्वाचन र २०५६ को निर्वाचनमा पनि पीएस विजयी हुन सकेनन् । तर, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने उनी लमजुङबाटै विजयी भए । यस्तै, २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पनि उनी विजयी भए । त्यसपछि २०७४ मा प्रदेशतर्फ उम्मेदवार बनेर उनी मुख्यमन्त्री भए । पीएस यसपालि संघमा (प्रतिनिधिसभा) उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन् ।

देवः २०४८ सालदेखिका उम्मेदवार

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका देव गुरुङ २०४८ सालदेखि उम्मेदवार बन्न थालेका हुन् । देव गुरुङ पहिलो पटक २०४८ सालमा तत्कालीन जनमोर्चाको तर्फबाट प्रतिनिधिसभामा निर्वाचन लडेका थिए । तर चुनाव भने जितेनन् ।

तत्कालीन नेकपा माओवादीले भूमिगत आन्दोलन थालेपछि गुरुङ पनि भूमिगत भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा उनी मनाङबाट निर्वाचित भए । त्यसपछि २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा देव गुरुङ सहभागी भएनन् । उनी संलग्न रहेको माओवादीको मोहन बैद्य समुहले २०७० को संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गर्ने नीति लिएको थियो ।

संविधानसभाबाट संविधान बनेपछि भएको २०७४ को निर्वाचनमा देव गुरुङ लमजुङबाट उम्मेदवार बनेर निर्वाचित गराउन देवलाई पीएस र पीएसलाई देवले सघाएका थिए । २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । तर अहिलेको समीकरण ५ वर्षअघिको भन्दा फरक छ ।

प्रमुख तीन दलको हिसाब

लमजुङमा प्रतिनिधिसभा निर्वाचनको लागि कसले चुनाव जित्छ भनेर राजनीतिक दलहरूले कस्तो हिसाब गरेका छन् भने हामीले कुराकानी गरेका छौँ । हामीले काँग्रेसका निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेल, एमालेका चुनाव प्रचार समितिको फोकल पर्सन राजेन्द्र बोहरा र माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अनुशासन आयोगका केन्द्रीय अध्यक्ष कमल खड्कासँग उनीहरूको पार्टीले गरेको आकलन बारे कुराकानी गरेका छौँ ।

काँग्रेस निवर्तमान सभापति पौडेलले प्रदेशसभा कमा नेपाली काँग्रेसको मत एमालेको भन्दा करिब २५ सयले बढी र प्रदेशसभा खमा एमालेको मत काँग्रेसको भन्दा करिब २५ सय बढी भएकोले जिल्लाभरिको मत हिसाब गर्दा एमाले र काँग्रेस गरिब बराबर भएको सुनाए । सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङले चुनाव जित्नको लागि प्रदेश कबाट करिब २५ सय मतले लिड गरेर आउनु पर्ने र प्रदेश खमा रहेको २५ सय कम मतबाट केही सुधार गर्नुपर्ने उनको विश्लेषण छ ।

‘प्रदेश कबाट २५ सयले लिड गरेर आउनु भएन र प्रदेश खमा थप सुधार गर्न सकिएन भने अहिले गाह्रै पनि हुन सक्छ, त्यसैले प्रदेश कमा मत जोगाउने र खमा बढाउने रणनीति अख्तियार गर्नुपर्छ,’ पौडेलले रातोपाटीसँग भने ।

प्रदेशसभा खबाट पौडेल आफै प्रदेशसभाको लागि उम्मेदवार छन् । उनी उम्मेदवार भएको क्षेत्रमा नेपाली काँग्रेसको मत कम देखिन्छ । तर, पौडेलका व्यक्तिगत मत पनि भएकोले प्रतिस्पर्धात्मक अवस्था रहेको विपक्षीहरूको पनि विश्लेषण छ । उनी बेसीशहरका स्थापित व्यवसायी पनि हुन् । प्रदेश कमा भने नेपाली काँग्रेसको मत बढी छ । तर, प्रदेश कमा एमालेको तर्फबाट उम्मेदवार बनेका जमिन्द्रमान घले सो क्षेत्रका लोकप्रिय नेता हुन् ।

पीएस गुरुङको चुनाव प्रचार समितिको फोकल पर्सन राजेन्द्र बोहरा भने आफ्नो पार्टीले सजिलै चुनाव जित्ने सुनाउँछन् ।

‘यो जिल्लामा एमालेको भोट ४२ प्रतिशत छ, काँग्रेसको ३५ प्रतिशत छ, माओवादीको १० प्रतिशत छ, बाँकी अन्य राजनीतिक दलको छ, यो हिसाबले पनि हामीलाई चुनाव जित्न कुनै समस्या छैन, सजिलै चुनाव जित्छौँ,’ बोहराले भने । उनको हिसाबमा काँग्रेस र माओवादी मिल्दा ४५ प्रतिशत मत हुने र एमालेको ४२ प्रतिशतमै अड्कने देखिन्छ । यसमा पीएसको व्यक्तिगत मत भएकोले सो सङ्ख्या फरक पर्ने उनको भनाई छ ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अनुशासन आयोगका केन्द्रीय अध्यक्ष कमल खड्का भने स्थानीय तह निर्वाचनमा गठबन्धनको मत ट्रान्सफर भएको र जिल्लामा एमालेभन्दा गठबन्धनको मत नै बढी भएकोले देव गुरुङलाई चुनाव जित्न समस्या नहुने विश्लेषण सुनाउँछन् ।

‘एमालेले ४ र गठबन्धनले ४ स्थानीय तहमा चुनाव जितेको थियो, त्यसमा पनि गठबन्धनको १२ हजार मत बदर भएको हो, यसरी हेर्दा गठबन्धनको मत ट्रान्सफर भएको र मत पनि बढी भएको देखिन्छ, त्यसैले हामीलाई चुनाव जित्न गाह्रो छैन,’ खड्काले भने ।

बजेट ल्याएको जस लिने होडबाजी

२०७४ को निर्वाचनमा पीएस प्रदेशसभातर्फ र देव गुरुङ प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका थिए । सो समय दुवै गुरुङ बन्धु एउटै गठबन्धनबाट उम्मेदवार बनेर विजयी भएका थिए । विजयी भएपछि पीएस गण्डकी प्रदेशको मुख्यमन्त्री बने भने देव गुरुङ प्रतिनिधिसभाको सांसद भए । अर्थात दुवै जना शक्तिमा रहे ।

पीएस प्रदेश सरकारको मुख्यमन्त्री र देव गुरुङ प्रतिनिधिसभाको सांसद भएको फाइदा लमजुङ जिल्लाले पाएको छ । देव गुरुङ सांसद भएको पहिलो वर्ष संघीय सरकारबाट सो जिल्लामा ७५ करोड रुपैयाँ बजेट गएको र चालु आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बजेट गएको माओवादी केन्द्रका युवा नेता खड्का बताउँछन् ।

एमाले नेता बोहराले पीएस मुख्यमन्त्री बनेपछि लमजुङ जिल्लाको विकासका काम धेरै भएको दाबी गरेका छन् भने उनले दाबी गरेका कतिपय विकास आयोजना देव गुरुङको पहलमा संघीय सरकारबाट बजेट परेर काम भएको माओवादी केन्द्रका युवा नेता खड्काले बताएका छन् ।

११ उम्मेदवार मैदानमा

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ देव र पीएससहित १० जना राजनीतिक पार्टी र १ जना स्वतन्त्र गरी ११ जना उम्मेदवार छन् । तर, मुख्य प्रतिस्पर्धा भने देव र पीएसबीच नै हुने राजनीतिक समीकरण र विगतमा ती दलहरूले पाएको मतबाटै प्रष्ट देखिन्छ । त्यसैले पनि लमजुङमा दुई हेबिवेट गुरुङबीच हुने प्रतिस्पर्धालाई केन्द्रीय राजनीतिमै चासोका साथ हेरिएको छ । चार वटा नगरपालिका र चारवटा गाउँपालिका गरेर ८ वटा स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी, दोर्दी, दूधपोखरी र क्वहोलासोथार  गाउँपालिका तथा राइनस नगरपालिका, बेसीशहर, मध्यनेपाल र सुन्दरबजार नगरपालिका रहेका छन् । जसमध्ये वैशाखको स्थानीय निर्वाचनमा कांग्रेसले सुन्दरबजार, राइनस, मध्यनेपाल र दूधपोखरीको प्रमुख जितेको थियो भने एमालेले मर्स्याङ्दी, क्वहोलासोथार ,दोर्दी र बेसीशहरको प्रमुख जितेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप