बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर हिँडेका छन्: पुन

शनिबार, २६ कात्तिक २०७९, १० : ४७
शनिबार, २६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले केपी ओली अझै संविधान, लोकतन्त्र र व्यवस्था मास्ने अभियानमा सक्रिय रहेको बताएका छन् । ओलीले राजावादी र विखण्डनकारीहरूको अपवित्र गठबन्धन बोकेर चुनावमा भोट माग्दै हिँडेको आरोप पुनले लगाए । आफूहरूले विगतमा ओलीबारे गर्दै आएको टिप्पणी उनको चुनावी गठबन्धनमा रहेका दल र व्यक्तिहरूका अनुहार र चरित्रबाट प्रस्ट भएको पुनको भनाइ थियो । 

‘आज फेरि प्रतिगामी सोच राख्नेहरू, संविधानमाथि पटकपटक प्रहार गर्नेहरू चुनावी गठबन्धनका नाममा जुरमुराई रहेका छन् । लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध अपवित्र खालको गठबन्धन बनेको छ’, गृह जिल्ला रोल्पाको सुलैचौधरमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने, ‘पटकपटक संविधान च्यात्नेहरू,  प्रतिगमनको प्रयास गर्ने, लोकतन्त्रमाथि चुनौती खडा गर्नेहरू, हिजोका राजावादीहरू, मधेसलाई अलग राज्य बनाउन चाहनेहरू, विभिन्न खाले विखण्डनवादी र साम्प्रदायिक सोच राख्ने शक्ति तथा व्यक्तिहरूको प्रतिगामी मोर्चा जनताविरुद्ध खडा गरिएको छ । हामी मङ्सिर ४ मा यसलाई परास्त गर्नैछौ ।’ 

पुनले केपी ओलीले जनताले स्थायित्व र विकासका लागि ०७४ को निर्वाचनमा दिएको जनमतमाथि अपमान गर्दै दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रतिवादका लागि गठबन्धन निर्माण गरेको बताए । राज्यका सबै संयन्त्र आफ्नो नियन्त्रणमा लिने तथा संविधान र व्यवस्थामाथि हमला गरेर ओलीले निर्वाचित तानाशाह बन्न खोजेपछि उनलाई रोक्न गठबन्धन निर्माण गरिएको चर्चा पुनले गरे । स्थानीय निर्वाचनमा गरिएको गठबन्धनले देशैभर राम्रो परिणाम आएको र त्यसले धेरै हदसम्म प्रतिगमनलाई कमजोर बनाउने काम गरेको भन्दै यसपटककको चुनावी परिणामले प्रतिगमनले घुँडा टेक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप