शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१९ महिला विश्वकप २०२७ को तयारीमा कसरी लाग्नेछ नेपाल ?

आईसीसीलाई पाँचवटा रंगशाला प्रस्ताव
आइतबार, २७ कात्तिक २०७९, २० : २२
आइतबार, २७ कात्तिक २०७९

नेपाली भूमिमा विश्वकप प्रतियोगिता आयोजना गर्न पाउनु नेपाली क्रिकेट र नेपाल क्रिकेट संघ (क्यान) का लागि ठुलो सफलता हो । नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने मौका पाएको हो । पहिलो पटक आयोजनाको जिम्मेवारी पाएको नेपाल विश्वकपको तयारी मात्र होइन, उपाधि नै जित्ने तयारीमा पनि लाग्ने क्यानले बताएको छ । 

‘नेपालका लागि घरेलु मैदानमा आयोजना हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नु मुख्य लक्ष्यमा एक हुनेछ । विश्वकपकै तयारीका लागि आजै देखि जुट्छौँ,’ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले रातोपाटीलाई बताए । नेपाली क्रिकेटको इतिहासमा नै ठुलो सफलता मिलेको र विश्वकप आयोजनाको जिम्मा पाउनु क्यानको मात्र नभएर पुरै राष्ट्रको नै सफलता भएको उनको भनाई छ । 

‘विश्वकप आयोजनाको जिम्मा पाउनु क्यान र पुरै नेपालको सफलता हो । यो गर्वको कुरा हो । जब संसारभर प्रतियोगिता प्रसारण हुन्छ, एउटा विश्वकपले नेपाललाई २ सय देशमा एकै पटक चिनाउँछ,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बङ्गलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । बोर्ड बैठकले २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको थियो । जसमा मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । 

विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माण कुरामा आगामी पाँच वर्षभित्र सरकारले पनि पहल गर्ने आशा रहेको मल्लले बताए । उनले आईसीसीमा विश्वकपका लागि नेपालका पाँच रंगशालाको बारेमा जानकारी पठाएको र आईसीसीको टिमले पाँच मध्य दुई रंगशालालाई मान्यता दिने बताए । 

क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मूलपानी क्रिकेट मैदान, पोखरा क्रिकेट रंगशाला, भैरहवा क्रिकेट रंगशाला र चितवनको गौतमबुद्ध रंगशालालाई प्रस्ताव गरेको छ । पाँच वटा रंगशालाई पाँच वर्षभित्र निर्माण गरिसक्न पनि सरकारले साथ दिनेमा क्यान आशावादी छ । 

‘विश्वकपका लागि हामी भौतिक संरचना निर्माणको विषयलाई पनि प्राथमिकताका साथ हेरिरहेका छौँ । हामीले नेपालका पाँच रंगशालालाई आईसीसी समक्ष प्रस्ताव गरेका छौँ । पाँच मध्य आईसीसीको टोलीले दुई रंगशाला छान्नेछ । अनि हामी पाँच वर्षभित्र निर्माण कार्य सक्ने गरेर लाग्नेछौँ,’ मल्लले भने । 

मल्लले आफूहरू खेलाडीहरुको तयारीको विषयमा पनि आजै देखि लाग्ने बताए । नेपालमा नै अयोजना हुने विश्वकपमा नेपालले खेलेर उत्कृष्ट प्रदर्शन गरेमा मात्र नेपालको शान झनै उच्च हुने बताए । उनले खेलाडी छनोट र तयारीको विषयमा क्यान चाँडै लाग्ने बताए । 

‘नेपालमा आयोजना हुने विश्वकपमा नेपालले सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरोस् भन्ने हाम्रो चाहना हो । त्यसैले खेलाडीको तयारीको विषयमा हामी आजै देखि लाग्नेछौँ,’ मल्लले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप