शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा–२ मा पाण्डे र गैरेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

बुधबार, ३० कात्तिक २०७९, १२ : २१
बुधबार, ३० कात्तिक २०७९

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पामा आसन्न निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको विश्वास जित्न प्रयत्नरत छन् । खासगरी प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र नेकपा एमालेका नेता ठाकुर गैरेबीच प्रतिनिधिसभा सदस्य पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाका, पुराना र धेरै चुनावमा अभ्यस्त पाण्डे र युवा नेता गैरेको चुनावी अभियान पनि आक्रामक छ । एमाले विभाजन नहुँदै एउटै पार्टीमा रहेका पूर्व सहकर्मीहरूबीचको प्रतिस्पर्धालाई धेरैले महत्वका साथ हेरेका छन् ।

पाण्डेलाई सत्तारुढ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको साथ छ । चुनावी रणनीतिमा चतुर मानिने पाण्डेले पछिल्लो समय तानसेनका पूर्व मेयर अशोकुमार शाही र उपमेयर लक्ष्मीदेवी पाठकलाई समाजवादीमा प्रवेश गराएर आफूलाई सशक्त दाबेदारका रुपमा उभ्याएका छन् ।

एमालेमै रहेका कतिपय कार्यकर्ताले चुनावमा आफूलाई साथ दिने पाण्डेकोे दाबी छ । यद्यपि उनको पार्टीको संगठन बलियो नभएकाले चुनावी नतिजा आफ्नो पक्षमा पार्न चुनौती पनि उत्तिकै छ ।

पाण्डेले भने, ‘जनप्रतिनिधि बनेर मैले धेरै काम गरेको छु । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डलाई बजेट पारेको हुँ तर ठेकेदारले समयमा काम नगर्दा सबै काम सफल हुन सकेनन् । कतिपय बजेट फ्रिज पनि भए ।’

समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने गरी संयन्त्र बनाएर अब काम गरिने उनले उल्लेख गरे । उनले शिद्धबाबा सुरुङमार्ग निर्माणको पहल आफूले गरेको भन्दै केही ढिला भए पनि यसको काम पूरा हुने विश्वास ब्यक्त गरे । तानसेनको खानेपानी समस्या समाधानका लागि पनि आफूले पहल गरेको उनले बताए । बाँकी रहेका विकासका काम अबको कार्यकालमा गरिने उनको भनाइ छ ।

पाण्डेसँग कडा प्रतिस्पर्धीमा रहेका नेकपा एमालेका नेता ठाकुर गैरे पनि कमजोर उम्मेदवार होइनन् । यस क्षेत्रमा एमालेको बलियो संगठन छ । यसक्षेत्रमा पहिलो पटक निर्वाचनमा होमिएका गैरेलाई पार्टी कमिटिका नेता कार्यकर्ताले दरिलो साथ दिएका छन् । आफ्नै पार्टीका पूर्व सहकर्मीसँग प्रतिस्पर्धा गर्नुपरेपछि गैरेलाई यस पटकको चुनाव जित्नैपर्ने दबाब छ ।

गैरेले निर्वाचन क्षेत्रभरि भएको कार्यक्रममा आफू नयाँ र युवा उम्मेदवार भएकाले आफूलाई जिताएर एक पटक हेर्न आग्रह गरिरहेका छन् । ३२ वर्ष लामो राजनीति गरेका गैरे युवा माझ लोकप्रिय नेता नै मानिन्छन् ।

यस क्षेत्रमा कांग्रेसभित्रको अन्तरद्वन्द्वलाई उपयोग गर्न सके गैरेले नतिजा आफ्नो पक्षमा पार्न सक्ने बुद्धिजिवीहरु बताउँछन् । कांग्रेसभित्र असन्तुष्ट पक्ष रहेकाले त्यसललाई प्रभावित पारेर मत आफ्नो पक्षमा तान्ने कोसिसमा गैरे छन् । चुनावको मुखमा केही माओवादीका युवा नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेता गैरेले रातोपाटीसँगको संवादमा भने, ‘मैले घरदैलोको क्रममा धेरै उत्साहजनक प्रतिक्रिया पाएको छु । पुरानाले गर्न सकेनन्, तपाईले इमानदारितापूर्वक काम गर्नुहोला भन्ने सुझाव धेरै ठाउँबाट आएको छ । जनताको मप्रतिको आशा र भोरोसा देख्दा मैले निर्वाचन जित्छु र जनचाहना अनुसार काम पनि गर्नेछु ।’

ंपाल्पाको सदरमुकाम तानसेनसँग र तराईका जिल्ला जोड्ने सडकहरुको स्तरोन्नति, पर्यटकीय स्थलहरुको प्रवर्द्धन, कृषिको आधुनिकीकरण लगायतका विकासका योजनाहरु जनतामाझ आफूले राखेको र यी योजना पूरा गरिने पनि उनले बताए ।

विचारको राजनीति गर्ने र वाम एकताको पक्षमा उभिने उनको कथन छ । राजनीति विकृत भएको, पैसाले जेसुकै गर्न सकिन्छ, टिकट किन्न सकिन्छ, चुनाव जित्न सकिन्छ भन्ने जस्ता परम्परागत शैलीहरु परिवर्तन गर्न आश्यक रहेको गैरेले तर्क गरे ।

यस्तो छ अंकगणित

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा गठबन्धनका दलहरुको मत बढी देखिन्छ । स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार यो क्षेत्रमा एमालेको मत ३० हजार ५ सय ३६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३ सय १३, एकीकृत समाजवादीको ४ सय ३३ र राष्ट्रिय जनमोर्चाको ८ सय ८४ मत छ ।

स्थानीय तहको निर्वाचन मत परिणाम अनुसार गठबन्धन दलहरु अघि देखिए पनि यो समयावधिमा पार्टी परिवर्तन गर्ने र गुट उपगुटको परिवर्तन गर्नेहरुले गर्दा मत संख्यामा फरक पर्नेछ । कांग्रेसको असन्तुष्ट पक्षले इमानदारिता नदेखाएमा पाण्डेलाई चुनाव जित्न चुनौती हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप