बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ–६ मा पूर्व रक्षामन्त्री भर्सेस पूर्व आईजीपी

बिहीबार, ०१ मङ्सिर २०७९, १७ : २४
बिहीबार, ०१ मङ्सिर २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार जोडतोडले भइरहेको छ । यसै क्रममा काठमाडौँ क्षेत्र नम्बर ६ मा पनि उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम चरणमा आफ्नो पूरा शक्ति लगाइरहेकाछन् ।

यो क्षेत्रमा प्रतिनिधिसभातर्फ १३ दलका प्रतिनिधि र ११ स्वतन्त्रसहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै प्रदेशसभातर्फ १७ जना दलका प्रतिनिधि र ८ जना स्वतन्त्रसहित २५ जना उम्मेदवार छन् ।

यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधान छन् । प्रधानलाई सत्ता गठबन्धनले सघाएकाले यसअघिको चुनावभन्दा बलियो उम्मेदवारको रूपमा दरिएका छन् । यसै क्षेत्रबाट दोस्रो संविधानसभा (२०७० साल) र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी भारी मतान्तरका साथ विजयी भएका थिए । २०७४ सालको चुनावमा उनले वाम गठबन्धनका उम्मेदवार तथा माओवादी नेता झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए ।

प्रधान १६ हजार ७८५ मत ल्याएर विजयी हुँदा सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए । पहिलो संविधानसभा (२०६४ साल)को चुनावमा भने प्रधान माओवादीकै हितमान शाक्यसँग पराजित भएका थिए । अहिले कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धन भएकाले प्रधानको पल्ला भारी देखिन्छ ।

पछिल्ला दुई चुनावमा राम्रो नतिजासहित विजयी भएकाले उनलाई यो चुनावमा निकै सहज हुने आँकलन छ ।

यस्तै गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत विश्लेषण गर्दा यो क्षेत्रमा कांग्रेस पहिलो शक्तिका रूपमा देखिन्छ । त्यसमा पनि पाँच दलीय गठबन्धनका कारण प्रधानलाई अझ सहजता बनाएको छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले पनि चुनाव प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । विशेषगरी युवा वर्ग माझ खनाल लोकप्रिय छन् । यद्यपि नतिजा आफ्नो पोल्टामा पार्न खनाललाई निक्कै कठिन देखिएको छ । पार्टीदेखि चुनाव चिह्नसम्म सबै नयाँ भएकाले जनतामा अझै राम्रोसँग उनी र उनको दल भिज्न सकेको छैन ।

यो क्षेत्रमा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । प्रहरी महानिरीक्षकबाट अवकाश पाएका खनाल एमालेबाट उम्मेदवार भए पनि मतदाता समक्ष उनको घुलमिल भएको छैन । जसले गर्दा उनलाई पनि प्रशस्त चुनौती देखिन्छ ।

यस्तै प्रदेशसभा (क) मा कांग्रेसबाट हरिप्रभा खड्गी र (ख) बाट विष्णुभक्त तिमल्सेना उम्मेदवार छन् । माओवादीबाट प्रदेशसभा (क) बाट  रवीन्द्रप्रसाद श्रेष्ठ र प्रदेशसभा (ख) बाट प्रकाश फुयाल उम्मेदवार भए पनि फुयालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको माओवादी नेता हिमाल शर्माले बताए । प्रदेशसभा (ख) मा माओवादीका फुयालले कांग्रेसका तिमल्सेनालाई सघाए पनि प्रदेशसभा (क) मा भने मित्रवत् प्रतिस्पर्धा हुने शर्माले बताए ।

यस्तै एमालेबाट प्रदेशसभा (क) बाट निरेशलाल सिंह महर्जन र (ख) बाट अमनकुमार मास्के उम्मेदवार छन् । 

पूर्व रक्षामन्त्री भर्सेस पूर्व आइजीपी

प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ–६ मा पूर्व रक्षामन्त्री प्रधान र पूर्व प्रहरी महानिरीक्षक खनालबीच कडा प्रतिस्पर्धा हुने चर्चा भइरहेको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले भित्रभित्रै माहौल राम्रो बनाएको धेरैलाई हेक्का छैन । एमालेका उम्मेदवार खनाल विवादै विवादले घेरिएकाले मिडियामा समेत बोल्न हिचकिचाउने गरेका छन् । उनी सांसद अपहरण काण्डदेखि प्रहरी महानिरीक्षक हुँदाका काण्ड उप्काउँछन् कि भन्ने त्रासले मिडियामा बोल्नसमेत डराउने गरेका छन् । उनी उम्मेदवार भएपछि मिडियामा खासै उपस्थित भएका छैनन् ।

‘मैले मिडियामा बोलेर चुनाव जितिने होइन । मत हाल्ने जनता हुन् । बरु जनतामा गएर भोट माग्दा फाइदा हुन्छ,’ रातोपाटीसँगको संक्षिप्त कुराकानीमा खनालले भने, ‘बाहिर बोल्दा बेकारमा विवादमा परिन्छ, उल्टै घाटा हुन्छ । त्यसैले तपाईले पनि हेर्नु भएको होला, मैले कतै बोलेको छैन ।’

बरु चुनाव प्रचार र घरदैलोको फोटो भिडियो खिचेर सहयोग गर्न खनालले आग्रह गरे ।

नेवारी भाषा बोल्न नआउँदा उनलाई चुनाव प्रचारमा समस्या हुने गरेको देखिन्छ । नेपाली समुदायको बस्तीमा पुग्दा मतदातासँग भाषिक समस्या झेल्ने गरेका उनलाई एमालेकै केशव स्थापित र विद्यासुन्दर शाक्यले सघाउने गरेका छन् ।

पार्टीबाट टिकटका आकांक्षी स्थापित र शाक्य दुवैजना यतिबेला खनाललाई सहजीकरण गर्न खटिए पनि चुनावी माहौल तताउन सकेका छैनन् । प्रहरी जागिरेबाट अवकाश पाएका खनाल राजनीतिक तथा सामाजिक रूपमा जनतामा घुलमिल नभएकाले केही चुनौती देखिएको छ ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालको तुलनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले युवा मतदातामाझ राम्रो माहौल बनाएका छन् । उनले रणनीतिक रूपमा पहिलेदेखि नै मतदातालाई भेटेर कन्भिन्स गरेकाले सत्ता गठबन्धनका उम्मेदवार प्रधानको कडा प्रतिस्पर्धीको रूपमा देखिएका हुन् ।

तर, कांग्रेसका प्रधान काठमाडौँकै नेवार समुदायका भएकाले भाषा र संस्कृतिका दृष्टिकोणले उनी केही सहज अवस्थामा छन् । त्यसमा पनि आफ्नो पक्षमा गठबन्धन भएकाले चुनाव जित्न कुनै समस्या नभएको प्रधानले बताए ।

‘मैले गत वर्ष गठबन्धन नहुँदासमेत सहज ढंगले चुनाव जितेँ । कुनै समस्या भएन,’ प्रधानले भने, ‘अहिले झन् मेरो पक्षमा गठबन्धन भएपछि चुनौती हुने कुरै भएन । चुनाव जित्न सहज छ । त्यसमा पनि एमाले आफै टुक्रिएको छ ।’

आफू निर्वाचित भएको १० वर्षमा यो क्षेत्रभित्र भौतिक संरचना धेरै निर्माण भएको प्रधानले बताए । ‘मैले तीन पटक चुनावी प्रतिस्पर्धा गरेँ । दुई पटक चुनाव नै जितेँ । चुनाव जितिसकेपछि यो क्षेत्रको विकास निर्माण र समृद्धिका लागि धेरै काम गरेको छु,’ उनले भने, ‘साङ्लाको डाँडामा कुनै बाटो थिएन । अहिले हेर्न जानुस्, अर्कै भइसक्यो । उत्तरी क्षेत्रको काभ्रेस्थली, धर्मस्थलीमा पक्की बाटो बनेको छ । यो विगत १० वर्षमा धेरै भौतिक संरचनाको विकास भयो ।’

यस क्षेत्रमा कांग्रेसका भीमसेन दास प्रधान, एमालेका सर्वेन्द्र खनाल र स्वतन्त्र पार्टीका शिशिर खनालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि मुख्य प्रतिस्पर्धा कांग्रेसका प्रधान र स्वतन्त्र पार्टीका खनालबीच नै हुने आकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप