बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–१ का मतदाता सबै उम्मेदवारसँग पानी माग्दै

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : ४०
बिहीबार, ०१ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ वडामात्रै पर्छन्, जहाँ झण्डै ४५ हजार मतदाता छन् । यो क्षेत्रमा काठमाडौंको मुटु मानिने पुतलीसडक, डिल्लीबजार, घट्टेकुलो, अनामनगर, बबरमहल, त्रिपुरेश्वर, भोटेबहाल, बानेश्वर, बुद्धनगर, शान्तिनगर लगायत पर्छन् । ती क्षेत्रका अधिकांश मतदाताले सबै उम्मेदवारलाई ‘पानी ल्याइदेउ, मत दिन्छौं’ भन्ने गरेका छन् ।

यस क्षेत्रका मतदाताले पानीको चरम अभाव खेपेका छन् । मेलम्चीको पानी काठमाडौं झरेको चार महिना बित्न नपाउँदै बाढीले मेलम्ची आयोजनाको भौतिक संरचना तहसनहस बनाएपछि पानीको समस्या उस्तै भएको हो । अहिले वैकल्पिक स्रोतको रुपमा बोरिङ र जारको पानीले आफ्नो जीवन निर्वाह गरिरहेका मतदाताले भोट माग्न घरदैलोमा आएका नेतासँग पानीको माग गरेका हुन् ।

यस क्षेत्रका जनताले पानीलाई नै मुख्य मागको रुपमा उठाएको नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह बताउछन् । ‘यो क्षेत्रको मुख्य समस्या खानेपानीकै छ । खानेपानी कहिले दिनुहुन्छ भन्दै मतदाताले सोध्छन्, हामीले ठोस जवाफ दिने अवस्था छैन । राजनीतिक उपलब्धिलाई सुरक्षित राख्दै यस क्षेत्रका जनताको पानी लगायत अन्य मुद्दा सम्बोधन गर्नुपर्ने छ,’ सिंहले भने, ‘स्थानीय रुपमा भएका ढुंगेधाराहरु सुकिसकेका छन् । कतिपय ढुंगेधारालाई पुनर्जागृत गरेपछि  पानी आउन थालेका छन् । त्यसबाट केही मात्रामा खानेपानीको हल भयो । अझै धेरै जनतालाई पानी पुर्‍याउनु छ ।’

एमालेका उम्मेदवार किरण पौडेलले यस क्षेत्रमा बसोबास गर्दै आएका ६० प्रतिशत मतदातामा खानेपानीको समस्या रहेको दाबी गरे । ‘यहाँका ६० प्रतिशत जनतामा खानेपानीकै समस्या छ । अहिले जेजति पानी छ, त्यसलाई खपत गर्नु भएको छ । ट्याङ्करको पानी र जारको पानी प्रयोग गरेर टारेको अवस्था छ,’ पौडेलले भने ।

काठमाडौं खानेपानी लिमिटेड (केयुकेल)ले वितरण गर्ने पानीलाई न्यायोचित ढंगले वितरण गर्न आफूहरुले दबाब दिने पौडेलले बताए । ‘काठमाडौं खानेपानी लिमिटेड (केयुकेल) को जुन वितरण प्रणाली छ, त्यसलाई व्यवस्थित गर्न दबाब दिनुपर्ने छ । यसरी आउने पानीको वितरणलाई न्यायोचित र व्यवस्थित बनाएमा थोरै भए पनि समस्या हल हुन सक्छ,’ पौडेलले भने, ‘मेलम्चीको पानी वितरण गर्ने प्रणालीलाई छिटो परिणाममुखी बनाउन संघीय संसदमा गएपछि सदनको ध्यानाकर्षण गराउने गरी पहल गर्नेछु ।’

राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पनि यस क्षेत्रमा मुख्य समस्या खानेपानी नै भएको बताए ।

सिंहलाई चुनौती दिँदै बम र मिश्र

कांग्रेस उम्मेदवार प्रकाशमान सिंह २०४८ र २०५१ सालको संसदीय चुनावमा क्रमशः काठमाडौं क्षेत्र नम्बर ४ र ३ बाट पराजित भए । काठमाडौंका स्थायीवासी, त्यसमा पनि नेवार समुदायकै उम्मेदवार हुँदाहुँदै लगातार पराजित भएपछि २०५६ सालको संसदीय चुनावमा उनी राष्ट्रियसभामा गए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भारी मतका साथ काठमाडौं–१ बाट निर्वाचित भएका उनी त्यस यताका निर्वाचनमा यसै क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

२०७४ सालको चुनावमा कांग्रेसबाट सिंह र विवेकशील साझाबाट रवीन्द्र मिश्र र वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा थिए । मिश्रले सिंहलाई कडा चुनौती दिए पनि सिंह झिनो मतान्तरले निर्वाचित हुन सफल भए । सिंहले १० हजार ९३६ मत ल्याएर विजयी भए भने मिश्र १० हजार २१७ मतमा सीमित भए । वाम गठबन्धनका उम्मेदवार शर्माले ५ हजार ३३५ मत ल्याएर तेस्रो भएका थिए ।

अहिलेको चुनावी मैदानमा सिंहसँग फेरि मिश्रले प्रतिस्पर्धा गर्दैछन् तर अहिले मिश्र राप्रपाबाट उम्मेदवार बनेका छन् । यस्तै, एमालेबाट किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, स्वतन्त्र राजनीतिक शक्ति नेपालबाट रमेश खरेलसहित ३२ जनाले प्रतिनिधिसभामा यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट स्वतन्त्र मात्रै ११ जना उम्मेदवार छन् ।

यस्तै गठबन्धनबाट प्रदेशसभा ‘क’मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ, प्रदेशसभा ‘ख’ मा सुरजचन्द्र लामिछाने उम्मेदवार छन् । यस्तै एमालेबाट प्रदेशसभा ‘क’मा रामप्रसाद अमगाई, प्रदेशसभा ‘ख’मा गणेशप्रसाद दुलाल उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेसका सिंह नै सबैभन्दा बलियो उम्मेदवारको रुपमा देखिएका छन् । उनलाई माओवादी, एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धनले साथ दिएको छ । सिंहका कडा प्रतिस्पर्धी मिश्रको पनि आफ्नै खालको ‘क्रेज’ छ । यद्यपि नवप्रवेशीलाई टिकट दिएको भन्दै राप्रपाभित्र एउटा समूह असन्तुष्ट देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमको ‘क्रेज’ युवा मतदातामा बढी देखिएको छ । अर्को स्वतन्त्र रुपमा अभियान चलाएका युवाहरु बमको पक्षमा देखिन्छन् ।

यस्तै भ्रष्टाचार विरोधी गतिविधि सञ्चालन गर्दै आएका स्वतन्त्र राजनीतिक शक्ति नेपालका खरेल पनि युवाहरु माझ लोकप्रिय देखिएका छन् ।

स्थानीय तहको अंकगणित यस्तो छ

यस क्षेत्र अन्तर्गतका वडामा स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस नै पहिलो पार्टी देखिन्छ । दोस्रोमा एमाले र तेस्रोमा राप्रपा छ । माओवादी यस क्षेत्रमा चौथो दल भएको थियो ।

त्यतिबेला कांग्रेसले ९ हजार ८९५ मत, एमाले ९ हजार ५४१ मत, राप्रपाले १ हजार ३७६ मत र माओवादीले १ हजार १५९ मत ल्याएका थिए । यस आधारमा गठबन्धनका उम्मेदवार सिंहको पक्षमा ११ हजार ५४ मत र एमालेका पौडेलको पक्षमा ९ हजार ५४१ मत देखिन्छ ।

जनता र कार्यकर्ताले चाहेसम्म चुनाव लड्ने हो : प्रकाशमान सिंह

काठमाडौं–१ का उम्मेदवार, नेपाली कांग्रेस

चुनावी गतिविधि कस्तो रह्यो ?

हामीले यस क्षेत्रका वडाहरुमा घरदैलो र भेटघाट गरिसकेका छौं । यो क्षेत्रका चार वडालाई समेटेर प्रचारप्रसार समिति बनाएर क्यालेण्डर अनुसार व्यवस्थित रुपमा घरदैलो गर्‍यौं । मतदातालाई भेट्ने, गुनासोहरु सुन्ने काम भयो ।

यो क्षेत्र काठमाडौंको मुटु पनि हो । तपाईंले कुन कुन मुद्दाहरु लिएर मतदाताकहाँ पुग्नु भयो ?

हामीले संविधानलाई सुरक्षित राख्दै आवश्यक कानुन बनाएर जानुपर्ने छ । यो देशमा अझै धेरै पूर्वाधार आवश्यक छ । यस क्षेत्र देशको राजधानी, त्यसमा पनि वानेश्वरलाई राजनीतिक सेन्टरको रुपमा हेर्ने गर्छन् । त्यस हिसावले पनि महत्वपूर्ण छ । यो क्षेत्रको मुख्य समस्या खानेपानीकै छ । खानेपानी कहिले दिनुहुन्छ भन्ने छ राजनीतिक उपलब्धिलाई सुरक्षित राख्दै हरेक जनताको जीविकोपार्जन सहज पार्दै काम गर्नुपर्ने छ ।

यस क्षेत्रका जनताको घरघर जानु भयो । हेर्नुभयो अरु के के समस्याहरु पाउनुभयो ?

यस क्षेत्रको पहिलो समस्या नै खानेपानीको समस्या हो । स्थानीय रुपमा भएका ढुंगेधाराहरु जो सुकिसकेका थिए, त्यसलाई पुनर्जागृत गरेका कारण कतिपय ठाउँमा पानीका मुल फुटेका छन् । त्यसबाट थोरै भए पनि खानेपानीको समस्या हल भएको छ । हामी टोल सुधार समितिसँग अन्तक्र्रिया गरेर समुदाय र जनप्रतिनिधि मिलेर काम गर्न खोजेका छौं । त्यसरी काम भएमा ढुंगेधारा लगायत अरु समस्या समाधान गर्न सजिलो हुने छ । 

अहिले १५ पार्क निर्माण गरेका छौँ । मलाई यस क्षेत्रमा मत माग्न आउँदा एउटा सानो बच्चाले हामीलाई खेल्ने पार्क कहिले बनाई दिनुहुन्छ भनेको कुराले भित्रैदेखि छोयो । घरैघर भएकाले खेल्ने पार्क छैन । खुला चौर छैन । त्यसपछि हामीले जर्बजस्त रुपमा कब्जा गरेर राखेको जमिन फिर्ता गरेर १५ वटा पार्क बनाएका छौं । अरु ओपन जिमहरुदेखि लिएर सामुदायिक भवन र क्लवहरु बनाएका छौं । सहरी क्षेत्रमा चाहिने युवादेखि लिएर ज्येष्ठ नागरिकका लागि धेरै काम भएका छन् ।

अहिले ज्येष्ठ नागरिकहरुकै लागि गणेशमान सिंहको नाममा २९ वडामा नेपालकै नमुना भवन बनाएका छौं । त्यसमा डे केयर, हेल्थ केयर, भजन गाउने सबै व्यवस्था छ । आधुनिक सुविधा सम्पन्न लिफ्ट सहितको पाँच तले भवन बनाएको छ । त्यसबाट धेरै ज्येष्ठ नागरिकले लाभ लिन सक्ने छन् । 

यस क्षेत्रका सबै सामुदायिक स्कुलहरुको पूर्वाधार विकास गरिसकेका छौं । यस क्षेत्रका सामुदायिक र निजी स्कुलको जुन अन्तर छ, त्यसलाई अन्त्य गर्ने कार्यक्रम बनाउने भनिएको छ । त्यसो हुन सकेमा अरु राष्ट्रिय रुपमा जुन विभेद देखिएको छ, त्यसको समेत अन्त्य हुने थियो ।

तपाईं २०४८ र ०५१ सालको चुनावमा पराजित हुनुभयो । २०५६ सालमा राष्ट्रिय सभामा जानुभयो । २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आउनु भएको छ । अब यसरी नै कहिलेसम्म जनतामा जानुहुन्छ ?

जनता र कार्यकर्ताले चाहेसम्म जाने हो । जनताले मलाई मत दिएसम्म गइरहने हो । हामी फेरि जनताको म्याण्डेट मान्ने मान्छे पर्‍यौं । डेमोक्रेसीमा पिपुलले जज गर्ने हो । पिपुलले कन्टिन्यु गर भन्यो भने गर्ने हो । यदि तिम्रो टेष्टिङ गर्न बाँकी छ भन्यो भने अभ्यास गर्ने हो । जनताले मत दिइरहेको अवस्थामा छोड्ने भन्ने हुँदैन ।

तपाईं यसरी चुनावी मैदानमा जान थालेको तीन दशक भइसक्यो । अब युवालाई अवसर दिनुपर्छ भन्ने लाग्या छैन ?

यो क्षेत्रको प्रदेश ‘क’ बाट दीपेन्द्र श्रेष्ठ हुनुहुन्छ । उहाँ पनि दोस्रो पटक लड्दै हुनुहुन्छ । अर्कोतिर लामिछानेजी पनि युवा नै हुनुहुन्छ । राजनीतिमा कम्बिनेसन पनि चाहिन्छ । जसरी २०४६ सालको परिवर्तनपछि बहालवाला प्रधानमन्त्री किसुनजी यो क्षेत्रबा चुनाव लड्नु भयो, उहाँ चुनाव जितेर प्रधानमन्त्री हुने अवस्था हुँदाहुँदै पराजित भएपछि देशको राजनीतिक अवस्था अर्कै ठाउँमा पुग्यो । 

त्यसो भए अबको पाँच वर्षपछि आउने चुनावमा पनि उम्मेदवारको रुपमा जनतामाझ जानुहुन्छ ?

मैले भनिसकेँ, जनताले जबसम्म निर्वाचित गर्छ, त्यतिबेलासम्म मैदानमा हुन्छु । मेरो काम राम्रो हुँदासम्म र जनतालाई चित्त बुझेको छ भन्ने हुँदासम्म छोड्ने कुरा हुँदैन ।

तपाईं यो क्षेत्रबाट निर्वाचित भएर गएको खण्डमा ५ वर्षको अवधिमा यहाँका जनताले के फरक अनुभूति गर्न पाउने छन् ?

यो क्षेत्रमा बग्ने बागमती र विष्णुमती नदीको रिभर सिस्टमलाई जीवन्त राख्ने छौं । यस्तै रुद्रमती इच्छुमतीदेखि लिएर सबै नदीलाई जीवन्त राख्न ‘वर्क आउट’ गरिसकेका छौं्र । काठमाडौं बाहेक अरु नगरपालिकाले ढल व्यवस्थित गरेमा बागमतीसहित अरु नदीलाई बाह्रै महिना स्वच्छ राख्न सकिन्छ । खानेपानीको राम्रो व्यवस्था गर्नुका साथै नदीहरुलाई जीवन्त राख्ने कामहरु हुने छन् ।

यस्तै वातावरण प्रदुषण भ्यालीको सबैभन्दा ठुलो समस्या छ । यहाँको फोहरमैला व्यवस्थापनको सवालमा मैले सुरुदेखि नै ‘जिरो वेष्ट’मै नगइ हुँदैन भनेको थिएँ । अब त्यसमा गृहकार्य गरेर जानुपर्छ ।

०००

प्रकाशमानजीको प्रतिस्पर्धी म होइन, उहाँ आफै हो : किरण पौडेल

काठमाडौं–१ का उम्मेदवार, नेकपा एमाले

घरदैलो र चुनाव प्रचार कस्तो रह्यो ?

यस क्षेत्र अन्तर्गत ४ वडामात्रै पर्छन् । मतदान केन्द्रका आधारमा प्रचारप्रसार र घरदैलो गरेका छौं । चुनावी मत परिणाम आफ्नो पक्षमा पार्न हामीले चाहेर हुँदैन, मतदाताले चाहने कुरा हो । यो चुनावमा हामीले जित्नु भनेको मतदाताकै पक्षमा काम गर्नु हो । यदि म निर्वाचित भएर संसदमा गएपछि उठाउने आवाज मेरोमात्रै आवाज होइन, यहाँका युवादेखि वृद्धसम्मका आवाज हुने छ । मलाई निर्वाचित गराउन यहाँका युवाहरु लाग्नु भएको छ ।

यहाँको मुख्य समस्याहरु के के रहेछन् ?

आफ्नो वरिपरि जति पनि अवसर छन्, त्यहाँसम्म उहाँहरु पुग्न नसकेको अवस्था छ । जस्तै, सिंहदवार, राष्ट्र बैंक यहीँ छ । यो देशका सानादेखि ठुला सरकारीदेखि गैरसरकारी संघसंस्था यतै छन् । उनीहरुले यहाँका जनताको निम्ति जति छुट्याएको कार्यक्रम र बजेट छ, त्यसमा उहाँहरुको पहुँच पुग्न सकेको छैन । सिंहदरवारको आँगनमै भएका जनताले सिंहदवारबाट वितरित अनुदानहरु लिन सक्नु भएको छैन । जसमा स्वरोजगार, युवा उद्यमशीलता, सिप विकासका कार्यक्रम लगायत सबैमा विमुख हुनुपर्ने अवस्था छ ।

स्थानीय समस्याको रुपमा खानेपानीको समस्या छ । कुनै ठाउँमा पानीको राम्रो सुविधा छ भने कुनै ठाउँमा धारा खोल्दा हावा आउने अवस्था छ । पहुँच हुनेको घरमा पानी आउने, नहुनेको घरमा पानी नआउने अवस्था छ ।

पानीको समस्या समाधान गर्न के योजना बनाउनु भएको छ ? 

काठमाडौं खानेपानी लिमिटेड (केयुकेल)को वितरण प्रणालीलाई व्यवस्थित गर्न दबाब दिनुपर्ने छ । यसरी आउने पानीको वितरणलाई न्यायोचित र व्यवस्थित बनाउनैपर्ने छ । मेलम्चीको पानी वितरण गर्ने प्रणालीलाई छिटो परिणाममुखी बनाउन सिंगो सदनको ध्यानाकर्षण गराउने गरी पहल गर्ने छु ।

तपाईंका प्रतिस्पर्धी प्रकाशमान सिंहलाई गठबन्धनको साथ छ । त्यसमा पनि एमाले विभाजित भइसकेको छ । यस्तो अवस्थामा तपाईंलाई चुनाव जित्न कठिन हुन्छ होला नि ?

काठमाडौं–१ मा आएर पार्टीको कुरै नगरौं । पार्टीको उम्मेदवार हेरेर भोट हाल्ने भन्दा पनि व्यक्ति हेरेर भोट दिने अवस्था छ । उम्मेदवारको विगत, वर्तमान र भविष्य हेरेर मतदाताले भोट दिने अवस्था छ । हामी अहिले एमालेको चुनाव चिन्ह सूर्य लिएर आएका हौंला तर मतदाताले विगत, वर्तमान र भविष्य हेर्नुहुन्छ । प्रकाशमानजीको प्रतिस्पर्धी म होइन, उहाँ आफै हो । उहाँले विगत कस्तो बनाउनुभयो ? वर्तमानमा के गर्नुभयो ? भविष्यमा के गर्दै हुनुहुन्छ ? त्यसबाट यहाँका जनताले बुझ्ने कुरा हो ।

विगत १५ वर्षमा उहाँ निर्वाचित भएपछि यहाँका जनताले के पाए ? अब भविष्यमा के पाउनेवाला छन् भन्ने विषयमा यहाँका मतदाताले राम्रोसँग बुझिसकेका छन् । उहाँको कोही प्रतिस्पर्धी छ भने उहाँ आफै हो । हाम्रो प्रतिस्पर्धी कोही छ भने हामी नै हौं ।

आफूले जित्ने आधार के पाउनु भएको छ ?

तपाईंले पनि राम्रोसँग देख्नुभयो होला । हामीसँग दिनभरि हिड्नुभयो भने धेरै देख्नु हुनेछ । उहाँहरुले भनिराख्नु भएको छ, तपाईंको विजय सुनिश्चित छ । हामी ५ गते माला लिएर बस्छौं भनेर जनताले भनिसक्नुभयो । कतिपयले सिकाएर बोल्ने गर्छन् । त्यसो होइन, स्वतःस्फूर्त रुपमा मलाई विजयको शुभकामना दिनु भएको छ । युवा पंक्तिलाई अगाडि बढाउन परिभाषित लामो रेसको घोडाको रुपमा खट्न सक्ने प्रतिनिधि पठाउन खोज्नु भएको छ । भोलि सदनमा ठुलो पार्टीको रुपमा आउने प्रतिनिधि घरघरमा आएको बुझ्नु भएको छ । चुनाव जित्नेमात्रै होइन, परिणाममुखी काम गर्ने हैसियत छ भन्ने बुझेका छन् । लामो समयसम्म टिक्ने पनि यिनै छन् भन्ने जनतामा परेको छ । यस क्षेत्रमा देखिएका प्रतिस्पर्धीहरुमध्येबाट विश्वास योग्य पात्र हामी नै रहन सफल भएका छौं ।

तपाईंका प्रतिस्पर्धी प्रकाशमान सिंहले एमालेका उम्मेदवारलाई मत दिएर के गर्नुहुन्छ, उहाँलाई मत दिएर निर्वाचित भए यो देशको संविधान र लोकतन्त्र मास्नुहुन्छ भन्दै हुनुहुन्छ नि ?

तपाईंले यो कुरामात्रै सुन्नु भएछ । मलाई जिताउनुस्, म प्रधानमन्त्री बन्छु भन्नु भएको छ । उहाँकै पार्टी सभापति गठबन्धनकै नेता शेरबहादुर देउवा हुनुहुन्छ । देउवाले भावी प्रधानमन्त्री भनेर मुख खोलेर बोल्न सक्नु भएको छैन । बोल्यो कि प्रचण्डजीले के भन्ने हुन्, माधवजीले के गर्ने हुन् भन्ने चिन्ता छ । यता प्रकाशमानजीले म भोलिको प्रधानमन्त्री हुँ भन्दै हुनुहुन्छ । केवल मतदातालाई प्रभावित पार्न बोल्नु भनेको जनतामाथि धोका हो ।

उहाँले जे प्राप्त गर्नु भएको छ, त्यो गणेशमान सिंहकै कारण प्राप्त गर्नु भयो । गणेशमान सिंहको लिगेसीको हामी पनि सम्मान गर्न चाहन्छौं । हामी उहाँको आदर्श पालना गर्न चाहन्छौं । प्रधानमन्त्रीको अफर आउँदा समेत मलाई चाहिँदैन भनेर गणेशमानजीले भन्नु भएको थियो । कांग्रेसको केही दिन अघि सकिएको महाधिवेशनबाट युवा पुस्तामा कांग्रेसको नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने एजेण्डालाई रातारात छोडेर एउटा अमुख व्यक्तिको टिकटको निम्ति हजारौं युवाको भावनामा ठेस पुर्‍याउनुभयो ।

अर्को कुरा संसदबाट देशको निकास दिन सकिँदैन भनेर ताजा जनादेशमा जान संसद विघटन गरिएको हो । हाम्रो राष्ट्रियतामाथि भइरहेको प्रहार ताजा जनादेशमा नगइ रोक्न सकिँदैन भनेर गरिएको हो ।

०००

निर्वाचित नहुने भन्ने कुशब्द प्रयोग नै नगर्नुस् : रवीन्द्र मिश्र

काठमाडौं–१ का उम्मेदवार, राप्रपा

चुनाव प्रचार प्रसार कस्तो रह्यो ?

एकदमै शानदार रुपमा भयो । सबैतिर स्वतस्फूर्त सद्भाव देखियो । साथीहरु २०७४ सालको चुनावमा तामझाम थियो भन्नुहुन्छ । अहिले वास्तविक भोटरकहाँ पुगिरहेका छौं । सबैतिर उत्साहपूर्ण वातावरण छ ।

मतदाताको घरदैलोमा जाँदा समस्याहरु के के पाउनुभयो ?

धेरैले यस क्षेत्रको समस्या उल्लेख गर्दा खानेपानीको समस्या नै प्रमुख रुपमा उठाएको पाइयो । सडक बत्ती, ढल, बाटो पिचको कुरा उठाउनु भएको छ ।

तपाईंलाई यस क्षेत्रका मतदाताले किन भोट हाल्नुपर्ने ?

यो क्षेत्र र यो देशले गर्व गर्न लायक योग्य सांसद बन्नलाई हो । देशलाई शिरमा राखेर काम गरेपछि देशको दुरगामी हित हुनेगरी नीति निर्माण गर्ने र कानुन बनाउनेमा लाग्ने छु । मेरो योग्यता र क्षमताले भ्याएम्म काम गर्ने छु । यस क्षेत्रका जनताका आकांक्षा सम्बोधन हुनेगरी स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्ने छ ।

सांसदमा निर्वाचित भएपछि निःशुल्क, शिक्षा, स्वास्थ्य र सामाजिकको व्यवस्था गरिने छ । यो देशमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहको क्षेत्रमा जे गर्न सकिन्छ, मरिमेटेर गर्नेछु । त्यसमा पूर्ण इमानदारिताका साथ जोडतोडले हस्तक्षेपकारी ढंगले भूमिका निर्वाह गर्ने छु ।

कुनै समय तपाईं आफै पुराना पार्टी काम छैनन् भनेर वैकल्पिक शक्ति निर्माणमा लाग्नुभयो । अन्तिममा पुरानै पार्टीमा फर्किएपछि रवीन्द्र मिश्रपनि उस्तै रहेछ भन्ने परेको छ नि ?

पार्टी पुरानो भन्नुको अर्थ पुराना नेतृत्वहरु भएर पुरानो पार्टी भनिएको हो । राप्रपामा महाधिवेशन भएर नयाँ नेतृत्व आयो, त्यसले देशभर नयाँ आशा जगाएको छ । आमजनतामा ठुलो आशा जगाएकाले होस्टेमा हैंसे गर्न जोडिएको हो ।

अघिल्लो पटक चुनाव लड्नु भयो तर हार्नुभयो । यो पटक फेरि लड्नु भएको छ । फेरि अर्को चुनावमा अरुलाई अवसर दिनुहुन्छ कि छोड्नुहुन्छ ?  

जसरी पनि देश बनाउने भन्ने लागेपछि मैदानबाट सजिलै भाग्न मिल्दै मिल्दैन । निर्वाचित नहुने भन्ने कुशब्द प्रयोग नै नगर्नुस् । निर्वाचित हुँदाको कुरा हो ।

०००

प्रतिस्पर्धा गर्न होइन, जित्न आएको हुँ : पुकार बम

काठमाडौं–१ का उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी

तपाईंको चुनाव प्रचार कस्तो रह्यो ?

मैले यो क्षेत्रमा चुनाव प्रचार गर्न थालेको ६ महिना भयो । गत जेठ २० गते उम्मेदवार तय गरेर अघि बढेको सम्भवतः पहिलो उम्मेदवार म नै हुँ । हामीले अरु पार्टीको जस्तो तामझाम र चुनावीसभा गरेनौं । पार्टी प्यालेसमा मासु, भात खुवाएर गरेनौं । हामी चुनावी आचारसंहितालाई पालना गर्दै थिति बसाल्न आएको हो । मतदातालाई एक ढंगले भ्रममा पारेर मत बटुल्ने प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक छ । चुनावबाट अत्यधिक खर्च गरेर जित्ने प्रणालीको हामीले एक ढंगले विद्रोह गरेका छौं ।

म पैदलै हिँडेर मतदाताको घरघर पुगेको छु । मैले शिक्षा, स्वास्थ्य रोजगारी, सम्पदा संरक्षणका मुद्दा उठाएको छु । पुकार बम को हो ? के काम गरेको छ ? अरु भन्दा कसरी सक्षम छ ? भन्ने आम मतदातालाई बुझाएको छु । यस क्षेत्रका सबै मतदाताको घरमा पुगेका छौं । अरु उम्मेदवार पहिलो पटक घरदैलोमा जाँदा हामी पाँचौं चरणमा पुगिसकेका छौं ।

यस क्षेत्रमा के के समस्या रहेछन् ?

पुराना पार्टीहरुले यो ठाउँको लागिमात्रै होइन, अरु क्षेत्रका समस्यालाई समेत राष्ट्रिय मुद्दाको रुपमा समाधान गर्नुपर्ने हो । उहाँले पानी, ढल, बत्ती, मन्दिरका मुद्दा उठाउनु भयो । त्यो पनि निरुपण गर्न सक्नु भएन । खास भन्ने हो भने यस्ता मुद्दा स्थानीय सरकारबाटै निरुपण हुनुपर्ने हो । तर हामीले यस्ता मुद्दा बोकेर हिँड्नु पर्ने अवस्था छ । हामीले स्थानीयसँगै राष्ट्रिय मुद्दालाई समेत जोडेर लिनुपर्ने छ । त्यसपछि सांसदको भुमिका के हो ? त्यसले जनतालाई दिने सुविधाका विषयमा बुझाइरहेका छौं ।

यो चुनावमा तपाईंको पार्टी नयाँ, चुनाव चिन्ह नयाँ र उम्मेदवार पनि नयाँ भएकाले चुनाव जित्न गाह्रो होला त ?

यस क्षेत्रका सचेत मतदाताले सडकदेखि मिडियासम्म गरेको बहस र छलफललाई राम्रोसँग बुझ्नु भएको छ । कतिपय अवस्थामा आफै समेत सहभागी हुनु भएको छ । इनफ इज इनफदेखि लिएर गोविन्द केसीसम्मका आन्दोलनहरुलाई नजिकबाट हेर्नु भएको छ । मैले चुनाव जित्छु भन्ने आधारका रुपमा विगत १५ वर्षदेखि आन्दोलनका अभियानहरु, त्यसले ल्याएका नतिजाहरु हुन् । अरुले लेख्ने, बोल्ने, गीत गाउने र कविता लेख्नेमात्रै गरे । मैले भ्रष्टाचारसँग जोडिएको शिक्षा, स्वास्थ्य, रोजगारी, भोटिङ राइट, सम्पदा संरक्षण, महिला अधिकारका क्षेत्रमा नेतृत्व गर्दै आएँ ।  मैले जित्ने आधार विगतका कामहरु नै हुन् ।

तपाईंको प्रतिस्पर्धी प्रकाशमान सिंह कि रवीन्द्र मिश्र ?

यो क्षेत्रमा म बाहेक ३१ जना नै प्रमुख प्रतिस्पर्धी हुनुहुन्छ । यी उम्मेदवारहरुले जे काम गरेका छन्, त्योभन्दा बढी मैले गरेको छु । म यो क्षेत्रमा प्रतिस्पर्धा गर्नमात्रै आएको होइन, जित्न आएको हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप