बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बिना बर्दीमा प्रहरी गौंडा-गौंडामा बसेका छन्, आचारसंहिता छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

शनिबार, ०३ मङ्सिर २०७९, १२ : ४६
शनिबार, ०३ मङ्सिर २०७९

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताएको छ । आयोगले निर्वाचन आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो । 

आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लंघन हुनसक्ने बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरू लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरूप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए । 

उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए । निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीका प्रहरी खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए ।

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानुनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताए । उहाँले आयोगले आचारसंहिता कडाइबारे विभिन्न राजनीतिक दल र नेताहरूसँगको छलफलपछि नै निर्णय लिएको बताए निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण गराए  । 

उनले आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको बताए । आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहिता उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दाबी गरे ।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानुनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । उनले आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए । 

निर्वाचन आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको बताए । उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए । 

निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताए । उनले आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भएपनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको बताए । उनले निर्वाचन आयोगले मतदाता शिक्षालाई कमजोरी र कमी हुन नदिने प्रतिवद्धता जनाए । 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप