शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, १५ : ५६
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विश्वकर्मा २ हजार ३३८ मतसहित अग्रता लिइरहेका छन् । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी एक हजार ८३७ मतसहित दोस्रो र पाँच दलीय गठबन्धको साथ पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल एक हजार ८०२ मतसहित तेस्रो स्थानमा छन् ।

रुपन्देही–२ मा ४ हजार १३४ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अग्रपंक्तिमा छन् । एमालेका विष्णु पौडेल ४ हजार ६९ मतसहित दोस्रो स्थानमा छन् भने पाँच दलीय गठबन्धनबाट जनमुक्तिका केशव थापा ३ हजार १४२ मतका साथ तेस्रो स्थानमा छन् ।

रुपन्देही–३ मा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दिपक बोहोरा ६ हजार ३७३ मतसहित पहिलो स्थानमा छन् भने पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण खाँण ५ हजार १२४ मत ल्याएर बोहोरालाई पछ्याइरहेका छन् ।

रुपन्देही–४ मा भारी मतान्तरसहित लोकतान्त्रिक समाजावादीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला अघि छन् । शुक्लाले ८ हजार ८४३ मत पाउँदा उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट कांग्रेसका प्रमोद यादव २ हजार ७६१ मत र जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव ३ हजार ६१५ मतसहित पछ््याइरहेका छन् ।

त्यस्तै रुपन्देही–५ मा एमाले–राप्रपा गठबन्धनबाट एमालेका बासुदेव घिमिरे १० हजार २५५ मतसहित अग्रपंक्तिमा छन् भने पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका भरत शाह ८ हजार २२२ मतसहित दोस्रो स्थानमा छन् ।

यी पाँच क्षेत्रमा मत संख्या ५० देखि ८० हजारसम्म रहेकोले कसको जित हुन्छ भन्ने अवस्थाको अझै अनुमान गर्न सकिँदैन । हालसम्म यी क्षेत्रमा १० देखि १५ हजारसम्म मत गणना भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप