शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरी–२ मा सीके राउतको पक्षमा कसरी आयो लहर ?

उपेन्द्र यादव पछाडि पर्नुका यी हुन् कारण
मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : २१
मङ्गलबार, ०६ मङ्सिर २०७९

मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम आइरहेका छन् । यसै क्रममा सप्तरी–२ मा प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दोब्बर मतान्तरले पछाडि पारेका छन् ।

निर्वाचनमा खसेको ६४ हजार मतमध्ये हालसम्म २५ हजार ४३९ मत गणना भइसकेको छ । त्यसमध्ये जनमत पार्टीका अध्यक्ष राउतले १३ हजार ७५९ मत ल्याएका छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले ६ हजार ९५१ मतमात्र ल्याएका छन् । सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार ८०८ मतले पछाडि छन् ।

अब करिब ३९ हजार मत गणना हुन बाँकी छ । यसमा उपेन्द्र यादवले सीके राउतलाई पछाडि पार्न लगभग असम्भव छ ।

गत चुनावमा २१ हजारभन्दा बढी मतले जितेका उपेन्द्र यादवलाई यसपटक स्थानीय तहको चुनावमा आफ्नै पार्टीले पाएको मतसमेत जोगाउन कठिन देखिएको छ ।

मधेस मामिलाका जानकार तुलानारायण साह (सप्तरी) ले सीके राउतले विगत १० वर्षदेखि गर्दै आएको तयारीलाई उपेन्द्र यादवले नजरअन्दाज गर्दै आएको कारण आज यो अवस्था आएको बताए ।

‘सीके राउत लामो समयदेखि तयारीमा थिए, जुन रुपमा आन्दोलन गरे, त्यसको परिणाम आज देखिएको हो,’ उनले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर राजनीतिको मूलधारमा आएदेखि नै सीके राउतले सप्तरी–२ मा आफ्नै ढंगले तयारी गर्दै आएका थिए तर त्यसलाई उपेन्द्र यादवले कहिल्यै ठम्याउन सकेनन् ।’

उनका अनुसार उपेन्द्र यादवलाई आफ्नै अहंकारले पनि हराएको हो । ‘उनको अहंकारका कारण जसपाका शुभेच्छुकहरु टाढिँदै गए र त्यसलाई समेट्ने प्रयास कतैबाट हुन सकेन,’ उनले भने, ‘उपेन्द्र यादवमा जातीय अहंकारदेखि लिएर मधेस आन्दोलन गरेर आएको जस्ता अहंकार थियो ।’

साहका अनुसार अहिले पनि केही बिग्रेको छैन । पाँच वर्ष उपेन्द्र यादवले आफूलाई सुधार गरेर मधेसका लागि काम गरेको खण्डमा उनी फेरि त्यही अवस्थामा आउन सक्ने साहको भनाइ छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरीमा विकास गरे पनि जनताको प्रत्यक्ष सरोकार भएको विषयमा त्यति ध्यान नदिएको गुनासो छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने मठ, मन्दिर, दलान, सडक, सिंचाई, कृषिलगायतमा उनले खासै काम नगरेको स्थानीयवासी बताउँछन् । यद्यपि, शिक्षा र स्वास्थ्यमा उनले उल्लेख्य काम गरे पनि जनताले त्यसबाट तत्कालै विकासको अनुभूति गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव भन्छन्, ‘उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य तथा सडक यातायातमा ऐतिहासिक काम गर्नुभयो तर जनताले त्यसको तत्काल अनुभूति गर्न सकेन, त्यसले जनतलाई तत्काल फाइदा देखाएन । त्यस कारण उपेन्द्र यादव जनताबाट टाढिएको जस्तो अनुभूति हुन्छ ।’

उपेन्द्र यादव पछाडि पर्नुमा जातीय फ्याक्टरले पनि ठूलो काम गरेको छ । उनी यादव समुदायका हुन् र उनले यादव समुदायलाई मात्र संरक्षण गरेको आरोप लाग्दै आएको छ । पार्टीमा पनि यादव समुदायकै हालीमुहाली रहेको कार्यकर्ताहरुको गुनासो छ ।

सुखराम यादव भन्छन्, ‘पटक पटक सत्तामा जाँदा वा सत्ताको वरिपरि रहँदा अन्य समुदायका लागि खासै सुखद् अनुभूति गरेनन्, त्यसले गर्दा यसपटक उनीहरुले विकल्प रोजे ।’

अर्कोतिर जनमत पार्टीका अध्यक्ष सीके राउतले दलित, आदिवासी, जनजातिलगायतका समुदायलाई समेट्ने प्रयास गरेको बताउँदै उनले त्यही भएर पनि यस पटक अन्य समुदायकाले राउतलाई रोजेको बताए । 

उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेका थिए । जबकि एमालेप्रति मधेसमा राम्रो सोच छैन । त्यो जान्दा जान्दै एमालेसँग गठबन्धन गर्नु नै उपेन्द्र यादवका लागि ठूलो भूल भएको धेरैको विश्लेषण छ ।

एमाले अध्यक्ष ओली उपस्थित कार्यक्रमबाटै मलेठ घटना भएका कारण स्थानीयवासीले त्यसको दोषी ओलीलाई नै मान्छन् । मलेठ क्षेत्र उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले पनि मलेठ घटनालाई जोडेर यो चुनावमा उपेन्द्र यादवको निकै आलोचना भयो ।

नागरिकता विधेयकमा मधेसले एमालेलाई दोषी देख्छ तर उपेन्द्र यादवले सोही एमालेसँग गठबन्धन गरे । मधेसको माग पूरा हुन नदिनुमा एमाले जति दोषी छ, त्यति नै दोषी उपेन्द्र यादव रहेको भन्दै चुनावअवधिभर निकै चर्चा भयो ।

नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव भन्छन्, ‘उपेन्द्र यादव हार्नुमा एउटा महत्वपूर्ण पार्टी देशी विदेशी शक्ति हो, विगत १५ दिनदेखि देशी विदेशी विभिन्न एजेन्सीले उपेन्द्र यादवको विरुद्धमा काम गरिरहेका थिए । उपेन्द्र यादव हार्नु त्यो पनि एउटा कारण हो ।’

तर यसलाई तुलानारायण साह मान्न तयार छैनन् । उनी भन्छन्, ‘यदि भारतले उपेन्द्र यादवलाई हराउन तागत लगायो भने महन्थ ठाकुरलाई किन बचाउन सकिरहेको छैन त ? त्यो गलत प्रचार हो, जनताको अगाडि कसैको केही चल्दैन । उपेन्द्र यादवले जनतालाई विश्वासमा लिएको भए कुनै शक्तिले केही गर्न सक्नेवाला थिएन ।’

२०५६ यता कुनै पनि नेता त्यहाँ दोहोर्‍याएर जितेका छैनन् । उपेन्द्र यादवले त्यसलाई ब्रेक गर्न खोजेका थिए । स्व.गजेन्द्रनारायण सिंह २०५६ मा चुनाव हारेका थिए । त्यसपछि जो जो सो क्षेत्रबाट चुनाव लडे, एकपटक भन्दा बढी चुनाव जित्न सकेका छैनन् । उपेन्द्र यादवले दोस्रो पटक प्रयास गरे, त्यसमा उनी सफल हुन सकेनन् ।

गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका दिलीप सिंह भन्छन्, ‘मधेसी जनताको अपेक्षा धेरै ठूलो छ, उनीहरु तत्काल आफ्नो फाइदा खोज्छन्, जो उपेन्द्र यादवले पूरा गर्न सक्नु भएन ।’

सीके राउत नयाँ नेता भएकाले मतदाताले उनलाई यो पटक मौका दिएको उनको भनाइ छ । सीके राउतले पनि ठूला ठूला सपना बाँडेका छन् । त्यसबाट लोभिएर मतदाताले सीके राउतलाई मतदान गरे । ती आकांक्षा पूरा नभए जनताले फेरि विकल्प खोज्ने सिंह बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप