बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

शुक्रबार, ०९ मङ्सिर २०७९, १३ : ४१
शुक्रबार, ०९ मङ्सिर २०७९

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।

चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।

माओवादीसहित अरु दलले मत दिएपनि कांग्रेसले नदिँदा एमाले बलियो भएको सापकोटाले बताए । ‘हामीले कांग्रेसलाई मत दियौं, हामीलाई कांग्रेसले मत दिएन । गठबन्धनमा कांग्रेसले धोका दियो’ रातोपाटीसँग कुरा गर्दै सापकोटाले भने, ‘गठबन्धन गरेर माओवादीलाई तात्विक रुपमा खास्सै फरक परेन । हाम्रो काँधमा चढेर कांग्रेस ठूलो भयो ।’ यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । अब गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने गलत सावित गरेको साहले बताए ।

यस्तै माओवादी केन्द्रीय सदस्य दिनेश महर्जनले गठबन्धनमा कांग्रेसले धोका दिएकाले अबको ५ वर्ष माओवादी सरकारमा जानै नहुने बताए । ‘हामी सत्तामा बसियौ सरकारको नेतृत्व पनि गर्यौं’ महर्जनले भने, ‘अहिलेको चुनावमा जनताले प्रतिपक्षमै बस भनेर जनमत दियो ।  अबको ५ वर्ष सत्तामा नगएर पार्टी निर्माणमा लाग्नुपर्छ ।’ 

माओवादी चुनावी परिणामबाट सानो आकारमा तेस्रो शक्तिमा खुम्चिएपछि माओवादी वृत्तमा खैलाबैला मच्चिएको छ । अब पार्टीलाई कस्तो बनाउने र कस्तो नीति अख्तियार गर्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नै सुझावहरू दिन थालेका छन् । गत बिहीबार पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले फेसबुकमार्फत पार्टीलाई बलियो बनाउन नौ बुँदे सुझाव दिएका छन् । अबको प्रतिकूलतामा चुनाव लडेर जित्न जमिनमा दाह्रोसँग खुट्टा टेक्नुपर्ने टिप्पणी गरे ।

‘पार्टीका नेताहरूले पिँधका मान्छेहरूको मुद्दा बोक्नुपर्छ, संगठनमा विधि पद्धति चलाउनुपर्छ, राज्यको प्रतिनिधि हुँदा सरल,सस्तो र छिटो डेलिभरी दिनुपर्छ, नेताहरूले चाकरीवाज कार्यकर्ता खोज्नुहुन्न’ न्यौपानेले भने, ‘कार्यकर्ताहरूले नेताहरूको बाह्रमासे गीत गाउनु हुन्न, परिवार सम्पतीप्रतिको अचाक्ली मोह त्याग्नुपर्छ, चुनावी अंकगणितका लागि विजातीय वर्गसँग मिल्नुहुँदैन ।’ पैसाका लागि तस्कर र  ठेकेदार दलालहरुसँग उठबस गर्न नहुने न्यौपानेको सुझाव छ । अब माओवादीले पार्टी निर्माणमा कस्तो नीति र योजना अख्तियार गर्छ भन्ने विषयमा बहस हुन थालेको छ । 

सरकारमा नजाने मत बलियो 
माओवादीमा यो ५ वर्ष सरकारमा जान नहुने मत बलियो हुँदै गएको छ । अरूको नेतृत्वको सरकारमा सहभागी हुँदा परिणाम देखाउन नसकिने भएकाले प्रतिपक्षमै बसेर पार्टी बनाउन लाग्नुपर्ने नेताहरूको भनाई छ । तर, सरकार बन्न नसक्ने अवस्थामा भने समर्थन मात्रै गरेर सत्ता बाहिर बस्नुपर्ने सापकोटाले बताए । ‘सरकारमा जाँदा परिणाम देखाउन नसक्ने संलग्नता मात्रै हुने भयो । ओली सरकारमा सहभागी भयौं ।

उनले गरेका भ्रष्टाचार अनियमितता र गलत क्रियाकलापको अपजस हामीले लिइ दिनुपर्ने भयो । देउवा सरकारमा सहभागी भयौं । उनले गर्न नसकेका अपजस हामीले लिनुपर्ने भयो’ सापकोटाले भने, ‘त्यसैले यो ५ वर्ष माओवादी सरकारमा जानु हुँदैन । सरकार नबन्ने स्थितिमा समर्थन गरेर सहयोग गर्नुपर्छ । आफैंले नेतृतव गर्ने अवस्था हुने अवस्था बाहेक सरकारमा जानुहुँदैन ।’

आफै नेतृत्व गर्ने अवसर पाए आफ्ना नीतिहरू लागू गरेर काम देखाउन सकिने सापकोटाले बताए । तर, भर्खरै निर्वाचित भएर आएका प्रायः सांसदहरुको भने सरकारमा सहभागी हुनुपर्ने मत बलियो छ । पार्टी अध्यक्ष प्रचण्डले सरकारमा जाने/नजाने विषयमा कस्तो निर्णय गर्छन् अहिल्यै भन्न सक्ने अवस्था छैन ।

यदि माओवादी ५ वर्ष सरकार बाहिरै बसेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर संगठन बलियो हुने अवस्था छ । सत्ता बाहिरै बसेमा बारम्बार माओवादीलाई लाग्दै आएको सत्ता लिप्साको आरोप समेत पखालिने सम्भावना छ । सरकारमा जाने÷नजाने विषयमा अध्यक्ष प्रचण्डले कस्तो निर्णय गर्छन् अहिलै भन्न सक्ने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप