शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन पराजित भए घनश्याम भुसाल ?

आइतबार, ११ मङ्सिर २०७९, १४ : १५
आइतबार, ११ मङ्सिर २०७९

 प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा विजयी भए । उनी नेकपा एमालेका सचिव हुुन् । विश्वकर्मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

विश्वकर्मासँग चुनावी प्रतिस्पर्धामा रहेका नेता घनश्याम भुसाल पराजित भएका छन् । उनी ३ हजार ५६४ मतान्तरले पराजित भए । एमालेका स्थायी कमिटी सदस्य रहेका भुसालले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि भुसाललाई पाँच दलीय सत्ता गठबन्धनको साथ थियो ।

सत्ता गठबन्धनले भुसाललाई समर्थन गरेर सो क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थिएन । गठबन्धनको साथ पाउँदा पनि भुसाल किन हारे भन्ने विषयले चर्चा पाउन थालेको छ ।

किन हारे भुसाल ?

भुसालले निर्वाचन हार्नुमा विविध कारण छन् । मुख्यतः नेपाली कांग्रेसभित्रको गुटबन्दीले भुसाललाई असर पारेको बताइन्छ । रुपन्देही–१ को प्रदेशसभा (२) मा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता अब्दुल रज्जाकको समूहले घात गर्दा भुसाल पराजित भएको भुसाल समर्थकहरुको बुझाई छ । रुपन्देही–१ को प्रदेशसभा (१) मा उम्मेदवार बनेका अर्का कांग्रेस नेता विश्वनाथ यादव र रज्जाकको एउटै गुट थिएन, जसले गर्दा रज्जाक प्रदेशसभा सदस्यमा विजयी भए भने यादवले चुनाव हारे । रज्जाकको समूहले आफ्नै पार्टीका यादवलाई हरायो भने भुसाललाई पनि सोही समूहले भोट हालेन । बरु रज्जाक समूहले एमालेका छविलाल विश्कर्मासँग मिलेर भोट आदानप्रदान गरेका कारण रज्जाक विजयी भएको सो क्षेत्रमा चर्चा छ ।

भुसाल समर्थक एक नेताले रातोपाटीसँग भने, ‘अब्दुल रज्जाकको गुट बलियो रहेछ, अन्त्यमा त्यो समूहले हामीलाई धोका दिएर एमालेका छविलाल विश्वकर्मालाई भोट हाल्यो ।’

करिब ५ देखि ७ हजार मत रज्जाक समूहले भुसाललाई नदिएर विश्वकर्मालाई दिएको उनले दाबी गरे ।

किन बिच्किए रज्जाक ?

रुपन्देही १ मा पाँच दलीय गठबन्धनमध्ये सबैभन्दा बलियो पार्टी नेपाली कांग्रेस नै हो । यसअघि अब्दुल रज्जाकले एमालेका छविलाल विश्वकर्मालाई हराएका थिए । जानकारहरुका अनुसार रज्जाक अहिले पनि प्रतिनिधिसभामा लड्न चाहन्थे तर पार्टीको भागबण्डामा रुपन्देही–१ कांग्रेसले पाउन सकेन । भागबण्डामा माओवादी केन्द्रले पाए पनि उसले घनश्याम भुसाललाई मैदान छोडिदियो ।

आफू प्रतिनिधिसभामा लड्न नपाएको पहिलो रिस रज्जाकले पोखे । समाचार स्रोतका अनुसार रुपन्देही ३ वा १ मा प्रतिनिधिसभातर्फ उनी लड्न चाहन्थे तर ३ मा बालकृष्ण खाँणले छोडेनन् र १ उठ्न खाँणले नै नदिएको रज्जाकले बुझे । त्यसको रिस साँधेको रज्जाक समूहले अन्ततः भुसाल र आफ्नै पार्टीका विश्वनाथ यादवलाई हरायो । रज्जाकले मुस्लिम समुदायको भोट पुरै डाईभर्ट गरे । भित्री असन्तुष्टिले केही दिन त उनी चुनाव प्रचार प्रसारका कार्यक्रममा पनि सहभागी भएनन् ।

स्रोतका अनुसार रज्जाकले चुनावको दुई दिनअघि आफ्नो समूहका विभिन्न बुथमा खटिएका चुनावी कमाण्डरहरुलाई भैरहवाको डाँडागाउँमा रहेको युनिक ब्याङ्केट (होटल) मा लगेर गोप्य भेला गराई पैसा बाँडेर भोट ट्रान्सफर गर्न लगाएका थिए । त्यो समूहले भोट छविलाल विश्वकर्मालाई हालेको स्रोतको भनाइ छ ।

गठबन्धनको तर्फबाट चुनाव परिचालन कमिटीका संयोजक रहेका कांग्रेस नेता हिरा केसी समेत रज्जाकको प्रभावमा परेको बताइन्छ । तर केसीले भने भुसाललाई जिताउन हरसम्भव प्रयास गरिएको रातोपाटीलाई बताए । प्रयास सफल नभएको भन्दै उनले निराशा ब्यक्त गरे ।

देवदह क्षेत्रका स्वतन्त्र लेखक बिनबहादुर कुँवरले भने, ‘गठबन्धनबाट कांग्रेसकै केही मान्छेले घनश्यामलाई धोका दिएका हुन्, उनीहरुलाई परीक्षण गर्ने समय पनि घनश्यामलाई भएन ।’

उनले थपे, ‘घनश्यामले भनेजति खर्च पनि गर्न सकेनन्, कांग्रेसहरु बिनापैसा परिचालन हुँदैनन् भन्ने उनले बुझेनन् ।’ गठबन्धनका अन्य दलले भने इमानदारपूर्वक भुसाललाई भोट हालेको उनको ठहर छ ।

अर्कोतर्फ भुसालको संगठन नभएको, चुनाव चिह्न नयाँ भएको, एमालेबाट विद्रोह गरेर आए पनि आफ्ना सर्मथकलाई संगठित पार्न नसकेको, नेपाली कांग्रेसभित्रका गुट उपगुटलाई मिलाउन नसकेको आदि कारणले पराजय ब्यहोेरेको जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप