शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुथ ‘कब्जा’ गर्दा प्रहरी के हेरेर बस्यो ?

सोमबार, १२ मङ्सिर २०७९, ११ : ४७
सोमबार, १२ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जाका ४ वटा बुथ ‘कब्जा’ गरेको भनेर विवाद हुँदा मतगणना हुन सकेको छैन । नेपाली कांग्रेसले चारवटा बुथ कब्जा गरेर एकलौटी भोट खसालेको नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्यालले आरोप लगाएकी छिन् ।

स्याङ्जा क्षेत्र नम्बर–२ स्थित चापाकोट नगरपालिका–४ मा रहेको राममन्दिर मतदान स्थल, कमेरे स्थित डिसिङकोट आधारभूत विद्यालयको बुथ सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेको अर्यालको आरोप छ । चापाकोट–५ स्थित जनसक्रिय आधारभूत विद्यालय र साठिमुरेको दिनदयालु आधारभूत विद्यालयमा सञ्चालित मतदान केन्द्रमा पनि कांग्रेस कार्यकर्ताले कब्जा गरेर एकलौटी भोट खसालेको अर्यालले जिकिर गरिन् । उनले भनिन्, ‘४ ठाउँमा गठबन्धन दलले एकलौटी रूपमा ४ हजार ३ सय मत खसालेको छ ।’ सो आरोप सहित एमाले मतगणना प्रक्रियामा सहभागी भएको छैन । एमालेको सहमति नहुँदा स्याङ्जामा अझै मतगणना हुन सकेको छैन ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्वाचन अघि भनेका थिए–‘अस्वाभाविक गतिविधि भएमा चुनावमा खटिएका प्रहरीलाई गोली चलाउने अधिकार दिइएको छ ।’ निर्वाचन अघि आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले पनि निर्वाचनमा अस्वाभाविक गतिविधि गर्नेविरुद्ध ‘बल प्रयोग’ गर्ने चेतावनी दिएका थिए । तर, ‘बुथ कब्जा’ जस्तो अस्वाभाविक गतिविधि हुँदा स्याङ्जा प्रहरी के हेरेर बस्यो ? बुथ कब्जा हुँदा किन बल प्रयोग गरिएन, भन्नेबारे प्रश्न उठेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनाल बुथ कब्जाबारे जानकारी नै नभएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै डिएसपी खनालले भने–‘मजबुत सुरक्षा गरेका थियौँ । बुथ कब्जाको विषय हामीलाई जानकारी छैन ।’ बुथ कब्जाबारे आयोगलाई पनि थाहा नभएको खनालले जिकिर गरे । 

स्याङ्जाका एसपी राजीव बस्नेतमाथि गठबन्धनको पक्षमा प्रहरीलाई दुरुपयोग गरेको आरोप छ । त्यसबारे सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । स्याङ्जामा निर्वाचनको दिनमा प्रहरीले दुई ठाउँमा गोली चलायो । दुवै ठाउँमा हवाई फायर गरेको थियो । डीएसपी खनाल भन्छन्, ‘आवश्यक परेको ठाउँमा गोली चलाएका थियौँ ।’ स्याङ्जामा एमाले नेतृ अर्यालसँग नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ प्रतिस्पर्धामा छन् । 

दोलखामा पुन: मतदान, बाजुरामा गणना अनिश्चित 

मङ्सिर ४ मा निर्वाचन अवधिभर गोली चलेको बाजुरामा अझै मतगणना हुन सकेको छैन । बाजुराको बुढीनन्दा–५ र त्रिवेणी नगरपालिका–७ नाटेश्वरी मतदानस्थल लगायत दुई दर्जन मतदान केन्द्रमा विवाद र झडप भयो । त्रिवेणीमा दुई जनाले ज्यान गुमाएका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि कांग्रेसका कार्यकर्ताले कुटेर नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या गरेको आरोप छ । चेतनको शव अछामको बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा छ । हत्यामा संलग्नहरुलाई नियन्त्रणमा नलिएसम्म शव जिम्मा नलिने एमालेका स्थायी समिति सदस्य कर्ण थापाले रातोपाटीलाई बताए । नाटेश्वरी मतदान स्थलमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । 

विवादका कारण मतदान रोकिएको बुढीनन्दामा शनिवार निर्वाचन आयोगले पुनः मतदान गराएको छ । बाजुराका डिएसपी चतुर्भज ओझाका अनुसार बाजुरामा मत गणना गर्नेबारे सहमति भएको छैन । 

त्यस्तै, निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।

दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र "ग", सोही गाउँपालिकाको वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र "क" र "ख", तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र "क" र "ख" तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र "ग" गरी १० (दश) वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको आयोगको ठहर छ ।

निर्वाचनको दिन दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको थियो । स्थिति नियन्त्रणमा लिन २६ राउण्ड गोली चलाउनुपरेको दोलखाका डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । दोलखामा ‘प्रहरीले नै नेपाली कांग्रेसको रुख चिन्हमा भोट हालिदिएको’ भनेर एकजना ज्येष्ठ नागरिकले बोलेको भिडियो सामाजिक संजालमा भाइरल छ । सो भिडियोमा सत्यता नभएको दोलखाका डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए । उनले भने–‘भिडियो अफवाह हो, प्रहरीले कांग्रेसलाई भोट हालेको भन्ने कुरामा सत्यता छैन ।’ 

यता मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरूको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप