मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘फ्लोर क्रस’ गर्नेदेखि दल बदलेकाहरूलाई जनताले पत्याएनन्

यी हुन् कर्णालीमा दोस्रो पटक संसद् यात्रामा ‘ब्रेक’ लागेका अभागी नेताहरू
सोमबार, १२ मङ्सिर २०७९, १५ : १७
सोमबार, १२ मङ्सिर २०७९

सुर्खेत 

कर्णालीमा ०७४ मा  एउटा पार्टीबाट चुनाव जितेका र अहिले फरक दलबाट दोस्रो पटक सोही पदका लागि मैदानमा उत्रिएका कर्णालीका चार जनता नेताहरूको संसद्को दोस्रो यात्रामा ‘ब्रेक’ लागेको छ । आम निर्वाचनमा फरक पार्टी र फरक पोजिसनसहित चुनावमा होमिएका उनीहरू पराजित भएका हुन् ।  पराजित हुनेमा दैलेखका धर्मराज रेग्मी, सुर्खेतका ठम्मर विष्ट, कालिकोटका कूर्मराज शाही, जुम्लाका पदम रोकाय छन् । प्रदेश सरकारका देखिएको सत्ता संघर्षको समयमा उनीहरूले दल अदलबदल गर्नेदेखि ‘फ्लोर क्रस’ जस्तो संसदीय इतिहासमा नै नभएका क्रियाकलाप सरिक भएका थिए । 

०७४ मा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी आम चुनावका लागि दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा सिफारिस भएका थिए ।  यद्यपि उनले प्रतिनिधि सभामा टिकेट पाउन सकेनन्, सांसद हुँदा हुँदै एमालेको कित्तामा उभिएकाले उनलाई एमालेले सुरक्षित गर्नुपर्ने बाध्यता थियो ।  अन्तमा १ (क) बाट पुनः प्रदेश सभा सदस्यमा टिकेट पाए । यद्यपि उनले दोस्रो पटकको संसद् यात्रा सफल हुन् सकेन । 

रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए । तर उनी कांग्रेसबाट उम्मेदवार बनेका पूर्णबहादुर खत्रीसँग १ हजार ३९२ मतान्तरले पराजित भए ।  गठबन्धनका उम्मेदवार खत्रीको पक्षमा ९ हजार ४६४ मत आउँदा रेग्मीको पक्षमा जम्मा ८ हजार ७२ मत आयो।  

रेग्मी तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षमा आफ्नो दलका नेता महेन्द्रबहादुर शाहीलाई छाडेर एमालेको कित्तामा उभिने मध्येका एक थिए । २३ फागुन ०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि रेग्मी एमालेमै बसे । त्यसपछि माओवादी केन्द्र संसदीय दलले उनको सांसद पद खोसिदिएको थियो । ०७४ मा सोही क्षेत्रबाट १० हजार ३६१ मत ल्याएर निर्वाचित भएका उनलाई यो पटक जनताले पत्याएनन् र पराजित भए ।  

रेग्मी एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय कानुन विभागका उपप्रमुख छन् र अधिवक्ता समेत हुन् । एमालेको बलियो जनाधार रहँदा रहँदै पनि उनी पराजित भएका हुन् ।  

०७४ मा माओवादीबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) बाट १५ हजार ३५२ मतसहित निर्वाचित भएका ठम्मर विष्टको दोस्रो पटकको संसद् यात्रामा पनि ‘ब्रेक’ लागेको छ । सरकारमा माओवादीका सांसदहरू मन्त्री बन्दा आफूलाई दलले मन्त्री नबनाएको झोकमा सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । 

गत चैत्रमा मात्र उनी एमाले प्रवेश गरेका हुन् । त्यसपछि माओवादीले उनको सांसद पद खोसिदिएको थियो । विष्टले माओवादीका नेताहरूले प्रदेशमा भ्रष्टाचार गरेको, आफ्नो नीति, विधि विपरीत कार्य गरेको आरोप लगाउँदै एमाले प्रवेश गरेका हुन् । एमालेमा आफूलाई सुरक्षित ठानेका उनलाई जनताले भने पत्याएनन् । 

एमालेबाट पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका विष्ट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेलसँग ३ हजार ७५ मतान्तरले पराजित हुन् । पोखरेलको पक्षमा १८ हजार २६३ मत आउँदा विष्टलाई जम्मा १५ हजार १८८ मत आयो ।

लामो समय माओवादी राजनीतिमा सङ्घर्ष गरेका उनी ०५७ सालमा माओवादीले थालेको जनयुद्धमा सहभागी भएका फौजी कमान्डर समेत हुन् । जनमुक्ति सेनाको कम्पनी कमिसार र कमान्डरको भूमिका निर्वाह गरेका उनले पार्टीको शिक्षा विभागको इन्चार्ज, संयुक्त राष्ट्रसंघ (अनमीन) अन्तर्गत हतियार तथा सेना व्यवस्थापन संयुक्त अनुगमन टिमको सेक्टर कमान्डरको जिम्मेवार समेत सम्हालेका थिए । ०७० सालको संविधान सभाको निर्वाचनमा समेत उनी पराजित भएका थिए । 

यस्तै ३ वैशाख ०७८ मा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको निर्णय विपरीत ‘फ्लोर क्रस’ गरेका चार जनामध्येका एक कूर्मराज शाही पनि पराजित भएका छन् । शाहीको पार्टी निर्णय विपरीत गएपछि एमालेले बर्खास्ती गरेपछि सांसद पद गुमेको थियो । तर पनि ६ महिना गैरसांसद भूमि, व्यवस्था, कृषि तथा सहरकारी मन्त्री बनेका थिए ।

एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा लागेर कालिकोटको इन्चार्ज समेत भएका उनले मनोनयन दर्ता गराउने दिनमा भने पुनः एमालेबाट गराए । एमालेले पनि उनको क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि आफैले कारबाही गरेका व्यक्तिलाई टिकेट थमाएर मैदानमा उतार्‍यो ।  

धुमिल राजनीतिक गतिविधिका कारण विवादित छवि बनाएका उनी दोस्रो पटकको संसद् यात्रामा असफल भए । माओवादीका दुर्गबहादुर रावतले शाहीलाई १ हजार ५९ मतान्तरले पराजित गरे । 

शाही उम्मेदवारी दर्ता गर्नुभन्दा अघिसम्म समाजवादीको प्रचार–प्रसार अभियानमा व्यस्त थिए । यद्यपि गठबन्धनको भागबन्डा अनुसार कालिकोटमा समाजवादीलाई भाग नपरेपछि एमालेले रातारात टिकेट थमाएको थियो । मन्त्री हुँदा  बलात्कारको आरोप लागेका शाहीको छवि विवादास्पद छ ।  

उसो त उनले एमालेभित्र लामो राजनीतिक सङ्घर्ष गरेका व्यक्ति हुन् । मन्त्री बन्नकै लागि पार्टीको निर्णय विपरीत कदम चालेका र जनमतको बे–वास्ता गरेका उनको संसद् यात्रामा यो पटक ‘ब्रेक’ लाग्यो ।

यस्तै सत्ताकै लोभमा एमाले त्यागेर समाजवादी रोजेका जुम्लाका पदमबहादुर रोकाय पनि पराजित भएका छन् । बहालवाला प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत रहेका रोकाय ०७४ मा (जुम्ला (ख)) एमालेबाट १० हजार ४५८ मतसहित निर्वाचित भएका थिए । यो पटक कांग्रेस, माओवादीको साथ पाउँदा पनि उनी १ हजार ७१५ मतान्तरले एमालेका टेकराज पछाइसँग पराजित भए । पछाइको पक्षमा ७ हजार ८२७ आउँदा रोकायाको पक्षमा ६ हजार ७१५ मत आयो। रोकाया मन्त्री बन्ने अपेक्षासहित एमाले विभाजनपछि समाजवादीको कित्तामा उभिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप