शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मातृका भर्सेस गिरिराज : मधेसमा माओवादी शून्य !

मङ्गलबार, १३ मङ्सिर २०७९, १५ : ११
मङ्गलबार, १३ मङ्सिर २०७९

पार्टीभित्रको गुटबन्दीले मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको चुनावी नतिजा कमजोर देखिएको छ । पार्टी उपमहासचिव मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेलबीचको चर्को गुटबन्दीले मधेसमा माओवादी धरातल कमजोर हुन पुगेको हो ।

यादव र पोखरेल गुट एकअर्कोलाई हराउन लाग्दा उनीहरू आफै हार्नुका साथै अन्य नेतासमेत पराजित हुन पुगेको माओवादी नेताहरूको भनाई छ । एकले अर्को गुटलाई पराजित गर्न खोज्दा पार्टी पाँचौँ स्थानमा झर्न पुगेको छ । मधेसमा कमिटी लथालिङ्ग हुँदाहुँदै पनि प्रचण्डले कमिटी प्रणालीलाई व्यवस्थित गर्न नसक्दा चुनावमा निराशाजनक नतिजा हात लागेको हो ।

 मधेस प्रदेशका ३२ प्रतिनिधि सभा क्षेत्रमध्ये माओवादीले ६ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएकोमा शून्य भएको छ । माओवादीसहित सत्ता गठबन्धनको सहयोगमा रौतहट ३ बाट प्रभु साह निर्वाचित भएका छन् । चापाकल चुनाव चिन्ह लिएर साह सत्ता गठबन्धनको सहयोगमा निर्वाचित भएका हुन् । उनीलाई माओवादीका सांसद भन्न मिल्दैन । यस्तै सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव निर्वाचित भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचित भएका हुन् । यद्यपि उनी माओवादी चुनाव चिन्हबाट निर्वाचित भएपनि उनको पार्टी माओवादी होइनन् । प्रदेश सभाका ६४ क्षेत्रमध्ये १७ क्षेत्रमा उम्मेदवारी दिएकोमा चार सिट मात्रै जित्न सफल भएको छ ।

 पार्टी उपमहासचिव मातृकाप्रसाद यादवले धनुषा–१ बाट उम्मेदवारी दिएका थिए । यादवका प्रतिस्पर्धी जसपाका दीपक कार्कीले ५ हजार ९४८ फराकिलो मत अन्तरले हराएका हुन् । कार्कीले २७ हजार ४३१ मत ल्याएर विजयी भएका छन् भने यादवले २१ हजार ४८३ मत ल्याएर पराजित भएका छन् । यस्तै अर्का उपमहासचिव पोखरेललाई एमालेका लक्ष्मी महतो कोइरीले १ हजार ३० मत अन्तरले हराएका छन् । महतोले २३ हजार ४०२ मतले विजयी भएका छन् भने पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित भएका हुन् ।

 यस्तै सर्लाही ३ बाट नरेन्द्र साह कलवार एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतले पराजित भएका छन् । एमालेका उप्रेतीले ३२ हजार ९३८ ल्याएर विजयी भए भने साहले ३२ हजार १६८ मत ल्याएर पराजित भएका हुन । सिराहा क्षेत्र नम्बर ३ बाट विश्वनाथ साह एमालेका लीलानाथ श्रेष्ठसँग १ हजार १८२ मत अन्तरले पराजित भएका छन् । श्रेष्ठले २८ हजार ६४ मत ल्याएर विजयी भए भने साह २६ हजार ८८२ मत ल्याएर पराजित भएका हुन् । यस्तै बारा २ बाट शिवचन्द्र कुशवाहा जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका छन् । यादवले १३ हजार ८२२ मत ल्याएर विजयी भएका छन् भने कुशवाहले १३ हजार ४६८ मत ल्याएर पराजित भएका हुन् । 

प्रदेश सभाका ६४मध्ये १७ क्षेत्रमा उम्मेदवारी दिएपनि चार जनाले मात्रै चुनाव जितेका छन् ।  पर्सा १ (क) बाट रोहवर अन्सारी, सर्लाही ४ (ख) बाट फकिरा महतो, महोत्तरी १ (ख) बाट भरतप्रसाद साह र रौतहट ४ (क) मा युवराज भट्टराई विजय भएका छन् । अरू १३ प्रदेश सभामा उम्मेदवारी दिएपनि पराजित भएका छन् ।

 गुटबन्दीले मधेसमा लथालिङ्ग

 मधेसमा यादव र पोखरेलको गुटबन्दीले प्रचण्डले कमिटी बनाउन सकेका थिएनन् । स्थानीय तह र जिल्ला कमिटी भएपनि प्रदेश कमिटीविहिन अवस्थामा छ । पार्टीको कमिटी बन्न नसकेपछि प्रचण्ड आफैँले केन्द्रबाट हेर्दै आएका छन् । चुनावमा समेत प्रचण्ड मधेसका कुनै क्षेत्रमा प्रवेश नगरेपछि नतिजा शून्य हात लागेको छ ।

अध्यक्ष प्रचण्ड आफैले यादव र पोखरेलाई चुनाव अघि मिलेर जान निर्देशन दिएका थिए । मधेसका ८ जिल्लामा सँगसँगै गएर एकताको सन्देश दिन आग्रह गरेका थिए । उनीहरू मधेसका एकाध जिल्लामा गएर प्रचण्डको निर्देशन टारेका थिए । मधेसमा कमिटी बनाएर संगठन चुस्तदुरुस्त बनाउन नसक्दा चुनाव हारिएको पार्टीका प्रदेश इन्चार्ज गणेश शाहले बताए । ‘मधेसमा माओवादी कमजोर छैन । जनतममा कांग्रेस एमालेकै हाराहारीमा छ । प्रदेश कमिटी बन्नै सकेन भएका जिल्ला र स्थानीय कमिटी चुस्तदुरुस्त छैन ।’ शाहले भने,‘अहिले पार्टी परिचालन भन्दा व्यक्ति आफैले परिचालन गरेर मत आयो । मधेसमा माओवादी कमिटीगत रूपमा भोट आएको छैन ।’ मधेसमा गुटबन्दी हुनु त्यसैमा कमिटी प्रणाली हुँदा पार्टी नै लथालिङ्ग हुन पुगेको छ ।

 माओवादीलाई साह र यादवको आशा

 नेपाल समाजवादीका नेता महिन्द्र राय यादव सर्लाही २ बाट निर्वाचित भएपछि माओवादीमै जोडिने आशा गरिएको छ । नेसपा अध्यक्ष बाबुराम भट्टराईले समाजवादी केन्द्र बनाउने सर्तमा एउटै चुनाव चिन्ह लिएर चुनावमा जान सहमत भएका हुन् । आगामी दिनमा यादव समेत एउटै पार्टीमा हुने भएकाले अधिकांश माओवादी नेताहरूले माओवादीकै सांसदको रूपमा लिएका छन् । तर, आगामी दिनमा नेसपासँग एकता गरेर एउटै पार्टीमा हुने अवस्था बन्द बन्दैन अहिले भन्न सक्ने अवस्था छैन । यस्तै रौतहट ३ बाट प्रभु साह र  रौतहट २ बाट किरणकुमार साह एउटै समूहबाट निर्वाचित भएका हुन् । उनीहरूलाई माओवादी सहित सत्ता गठबन्धनले सहयोग गरेको थियो । पछि उनीहरू माओवादीमा जोडिन्छन् वा जोडिँदैनन् अहिले नै भन्न सक्ने सक्ने अवस्था छैन । साह माओवादी छोडेर एमाले प्रवेश गरेको थिए । पछि यो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप