शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीको चुनावी समीक्षा : ‘विप्लव समूह’ नै मुख्य सुरक्षा चुनौती, निर्वाचन शान्तिपूर्ण

मङ्सिर ४ मा भएको चुनावमा १२२ राउण्ड फायर
सोमबार, १९ मङ्सिर २०७९, ०९ : ५३
सोमबार, १९ मङ्सिर २०७९

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । तर, निर्वाचन आयोगले नतिजाको पूर्ण विवरण सार्वजनिक गरिसकेको छैन । 

निर्वाचन अगाडी र निर्वाचन सकिएपछि मतगणना हुँदाको अवस्थामा सुरक्षा निकाय ‘सम्भावित सुरक्षा चुनौती’ बारे निकै सचेत थिए । मतगणना पुरा भएसँगै प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाबारे प्रारम्भिक समीक्षा गरेको छ । 

प्रहरी प्रधान कार्यालयले चुनावमा सबैभन्दा धेरै चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट झेल्नुपरेको निष्कर्ष निकालेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मुख्य चुनौती विप्लव नेतृत्वको नेकपा नै देखियो’ प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राई भन्छन्–‘चुनावको पूर्वसन्ध्यामा नेपालगञ्ज र भोजपुरमा विष्फोट गराएर सो संगठनले आतङ्क सिर्जना गर्ने प्रयास गरेको थियो ।’ 

मङ्सिर ४ मा मतदान हुँदा दोलखा, स्याङ्जा र बाजुरामा तनावपूर्ण अवस्था सिर्जना भए पनि प्रहरीले सो घटनालाई ‘छिटपुट घटना’को रूपमा विश्लेषण गरेका छ । छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीको निष्कर्ष छ । 

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको थियो । निर्वाचन सम्पन्न भएको साँझ कुटपिटबाट ज्यान गुमाएका ऐडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले आईजिपी धिरज प्रताप सिंहलाई निर्देशन दिएका छन् ।

निर्वाचनकै दिन त्रिवेणी नगरपालिका–७ मा झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । 

मतदान हुने दिन दोलखाको गौरिशंकर गाउँपालिका, बैतेश्वर, कालिञ्चोक र तामाकोशी लगायतका ठाउँमा प्रहरीले दिनभर गोली चलाउनु परेको थियो । 

स्याङ्जाको गल्याङ नगरपालिका स्थित आदर्श मावि मतदान केन्द्रमा पनि प्रहरीले गोली चलाएको थियो । ‘छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ’ डीआईजी टेक प्रसाद राई भन्छन्–‘बाजुरा र दोलखामा निर्वाचनमा भाग लिएका दलका कार्यकर्ता नै सुरक्षा चुनौतीको रूपमा देखिए ।’ 

२०७९ वैशाखमा सम्पन्न चुनाव भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाको दृष्टिले राम्रो भएको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । स्थानीय तह निर्वाचनमा मतदानपछि ब्यालटबक्स बोकेर भाग्ने समूहलाई गोली प्रहार नगरेको भन्दै त्यहाँ खटिएका प्रहरीलाई कारबाही गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका प्रहरीलाई प्रधान कार्यालयले ‘अवस्था हेरेर’ गोली चलाउन देशभर ब्रिफ गरेको निर्वाचनमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।

१० जना विरुद्ध मुद्दा 

निर्वाचन बिथोल्न खोज्ने २५१ जनालाई प्रहरीले निर्वाचन अघि र मतदानको दिन पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र कफन केन्द्रीय कमाण्ड सहित ३१ समूहमा आबद्ध कार्यकर्ताहरू थिए । पक्राउ गरिएका मध्ये १० जना विरुद्ध मुद्दा दर्ता गरिएको डीआईजी राईले बताए । पक्राउ गरिएका मध्ये २ सय ४१ जना छुटेका छन् । 

निर्वाचन अवधिमा देशभरका ४३ ठाउँमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । मतदान अवधिमा १२२ राउण्ड गोली चलाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ३९ राउण्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

चुनाव गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ । दोलखाका ७ ठाउँमा स्थिति नियन्त्रणमा लिन प्रहरीले २६ राउण्ड गोली चलाएको छ । 

स्याङ्जाको गल्याङ नगरपालिका स्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी सहितका मतदान स्थलमा प्रहरीले गोली चलाएको छ । डोटीको राधाकृष्ण मावी गोपाघाटमा ४ राउण्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाको  मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुममा प्रहरीले गोली चलाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी देशभर करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । १० हजार ८ सय ९२ मतदान स्थल सुरक्षाका लागी ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव विनोद प्रकाश सिंहले जानकारी दिए ।

निर्वाचनको सुरक्षामा ७५ हजार सैनिक परिचालित थिए । सेनाले चुनावको बाहिरी घेरामा बसेर सुरक्षा प्रदान गरेको छ । सबैभन्दा भित्री घेराको सुरक्षा जिम्मा पाएको प्रहरी ७१ हजार परिचालन गरिएको थियो । चुनावको सुरक्षामा ३२ हजार सशस्त्र परिचालित थिए । 

१ लाख १५ हजार म्यादी प्रहरी र २ हजार राष्ट्रिय अनुसन्धानका सुरक्षा अधिकारीहरू निर्वाचन सुरक्षामा परिचालित थिए । 

प्रधानमन्त्रीले दिए ‘धन्यवाद’

प्रधानमन्त्री शेर बहादुर देउवाले मङ्सिर १२ मा  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्याललाई बालुवाटारमा बोलाएर धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरूलाई धन्यवाद दिएका हुन् । 

मङ्सिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका थिए । 

बाजुराको त्रिवेणी नगरपालिका–७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ संगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले आईजिपी सिंहलाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप