शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घाटाको व्यापारमा लगानीको ओइरो : नयाँ वर्षसम्मै फिल्म रिलिज क्यालेन्डर प्याक

फागुनमा महाभिडन्त, कतिपय फिल्म उपयुक्त डेट कुर्दै
मङ्गलबार, २० मङ्सिर २०७९, १४ : १३
मङ्गलबार, २० मङ्सिर २०७९

कोरोनापछि नेपाली फिल्मको व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । यो वर्ष वैशाखदेखि कात्तिकसम्म ७ महिनामा करिब तीन दर्जन बढी फिल्म रिलिज भए ।​ रिलिज भएको मध्ये लगानी सुरक्षित गर्न भने जम्मा ६ फिल्म मात्र सफल भए, जसमा ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिङ्गे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’ र ‘महापुरुष’ हुन् । अरु फिल्मको लगानी बालुवामा पानी भयो ।

फिल्ममा करोडौँको लगानी स्वाहा भएपनि मंसिरको चौथो सातादेखि नयाँ वर्षसम्म रिलिज क्यालेन्डर प्याक छ । कतिपय एउटै मितिमा ३/४ वटा फिल्म समेत भिड्दैछन् । फागुनमा त फिल्मको वर्षात् नै छ । मंसिरदेखि चैत मसान्त अर्थात् नयाँ वर्षको आगमनसम्म के कस्ता फिल्म रिलिज हुँदैछ ? यहाँ यसबारे चर्चा समेटिएको छ ।

आगामी २०८० वैशाख १ गतेसम्म दुई दर्जन बढी फिल्मले प्रदर्शन मिति तोकेका छन् । रिलिज क्यालेन्डरअनुसार मंसिरको चौथो साता अर्थात् आगामी शुक्रबार ‘डेसान’ र ‘सोल अफ द कमाण्डो’ दुई फिल्म रिलिज हुँदैछ ।

सामाजिक महामारीको कथामा निर्माण गरिएको ‘डेसान’ कमल एक्चै मगरले निर्देशन गरेका हुन् । फिल्ममा निशान चौहान, पुनम थापा, भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु लगायतको अभिनय छ ।

सोल अफ द कमाण्डो’ भने गोर्खाली सेनाका रूपमा ब्रिटिस आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्किन लालयित हुन्छन् भन्ने कथामा बनेको छ । यसै फिल्मबाट अभिनेता राजकुमार राई २४ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् । फिल्ममा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा लगायतको अभिनय छ ।

मंसिर २९ मा एकमात्र फिल्म ‘सरी मम’ प्रदर्शन हुँदैछ । लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा बनेको फिल्मका निर्देशक नवीन बोगटी हुन् । सरोज खनाल, सरिता लामिछाने, एलिस राईलगायत कलाकार फिल्ममा छन् ।

पुसमा प्रदर्शन हुने फिल्म

यस्तै अहिलेसम्म पुसको पहिलो साता कुनै फिल्म रिलिजमा छैन भने दोस्रो र तेस्रो साता क्रमशः ‘डिसेम्बर फल्स’ र ‘चि मुसी चि’ आउँदैछ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको ‘डिसेम्बर फल्स’ प्रविण झाले निर्देशन गरेका हुन् ।

चि मुसी चि’ मा भने प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतको अभिनय छ । फिल्ममा मार्ना जेम्स र यश सैनीको संयुक्त निर्देशन छ ।

पुसको अन्तिम साता दुई फिल्म ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ ले रिलिज डेट तोकेका छन् । अष्ट महर्जनको निर्देशन रहेको ‘गुञ्जन’मा सारा सिर्पाली, प्रितमराज, कविर खड्का लगायतको अभिनय छ । फिल्म प्रेमकथामा बनेको हो ।

तिम्रो मेरो साथ’ भने रमेश एमके पौडेलले निर्माण निर्देशन गरेका हुन् । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी, सन्दीप क्षेत्री लगायतको अभिनय छ ।

माघमा ३ फिल्म

यस्तै माघमा तीन फिल्म प्रदर्शनमा छन् । पहिलो साता कुनैपनि फिल्म छैन भने दोस्रो साता अर्थात् माघ १३ गते फिल्म ‘लुङ्गा’ र तेस्रो साता २० ‘हिँड्दा हिँड्दै’ र ‘मनसँग मन’ दुई फिल्म छन् ।

भुवन सिंह राई, सारा राई र बुद्धि तामाङको मुख्य भूमिका रहेको ‘लुङ्गा’ फिल्म किरण राईले निर्देशन गरेका हुन् । ‘हिँड्दा हिँड्दै’ प्रेमकथामा बनेको हो । आकाश श्रेष्ठ, सलोन बस्नेत, विकास थापालगायत कलाकार रहेको फिल्म सुशील पंगेनीले निर्माण गरेका हुन् ।

मनसँग मन’ मा भने पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्म कैलाश राईले निर्देशन गरेका हुन् । फागुनमा पनि थुप्रै फिल्म रिलिजमा छन् । पहिलो साता ५ गते ‘फुलबारी’, ‘परदेशी २’ र ‘लन्डन टु पेरिस’ रिलिज हुँदैछ । ‘फुलबारी’ रामबाबु गुरुङ निर्देशित दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की लगायतको अभिनय रहेको फिल्म हो ।

परदेशी २’ का निर्देशक नारायण रायमाझी हुन् । राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा केकी अधिकारी, प्रकाश सपुत, प्रशान्त तामाङ्ग लगायतको अभिनय छ ।

लण्डन टु पेरिस’ घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । कविर खड्का, गरिमा शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्मको मुख्य भूमिकामा छन् । फिल्म यात्रा तथा प्रेमकथामा बनेको छ ।

फागुन १२ मा भने एकमात्र फिल्म ‘बगान’ रिलिज हुँदैछ ।  अभिनेता सरोज खनालको निर्देशन रहेको ‘बगान’ मा आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय छ ।

फागुन १९ मा भने यो वर्षकै प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’, ‘छड्के २’, ‘परस्त्री’ सँग ‘बुलाकी’ र ‘बर एण्ड बधु’ भिड्दैछन् । ५ फिल्म सँगै भिड्न लागेको यो मितिमा केही फिल्म सर्ने अनुमान गरिएको छ ।

छक्का पञ्जा ४’ हेमराज विसीले निर्देशन गरेका हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी लगायतको मुख्य भूमिका फिल्ममा छ । फिल्म निर्माण टिमले वर्षकै सबैभन्दा धेरै ब्यवसाय गर्ने अपेक्षा गरेको छ ।

त्यस्तै ‘छड्के २’ अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म हो । ग्याङस्टार कथामा निर्माण भएको फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

बुलाकी’ का निर्देशक लक्ष्मण सुनार हुन् । यसमा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्टको मुख्य भूमिका छ । फिल्मले कर्णाली भेगको जनजीवनको कथा समेटेको छ ।

परस्त्री’ कलाकार सुरज पाण्डेको निर्देशनमा डेव्यु फिल्म हो । लेखक तथा निर्माता दीपेन्द्र के खनाल रहेको फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

वर एण्ड वधू’ मिलन चाम्स निर्देशित फिल्म हो । रोमान्टिक कमेडी कथामा निर्माण भएको फिल्ममा आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्यको रोमान्स देख्न सकिन्छ । फिल्मका कार्यकारी निर्माता डा अमित रिजाल हुन् ।

फागुनको अन्तिम साता तथा चैत्रको पहिलो र दोस्रो साता अहिलेसम्म कुनै फिल्म छैन । चैतको तेस्रो साता भने ‘कैदीको पत्र’ प्रदर्शनमा आउँदैछ ।

चैत्रको अन्तिम साता अर्थात् नयाँ वर्षको आगमनमा भने ‘भागवत गीता’, ‘बिहे पास’, ‘नाई न भन्नु ल–६’ गरी तीन फिल्म प्रदर्शनमा आउने चर्चा छ । तीनमध्ये एक ‘बिहे पास’ को छायाङ्कन सकिएपनि ‘भागवत गीता’ को भने छायाङ्कन सुरु भएकै छैन । ‘नाई न भन्नु ल–६’ को पनि केही छायाङ्कन बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

भागवत गीता’ झरना थापाको निर्देशन रहने फिल्म हो । सुहाना थापाको मुख्य भूमिका रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । ‘बिहे पास’ रमेश पौडेल निर्देशित फिल्म हो । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मका निर्माता रोहित कट्टेल हुन् ।

नाई न भन्नु ल–६’ मा नवअभिनेता आर्शिवाद क्षेत्री र आँचल शर्मा मुख्य भूमिकामा छन् । हिट फिल्म ‘नाई नभन्नु ल’ को छैठौं श्रृङ्खलाको रुपमा निर्माण भएको फिल्मले बालमनोविज्ञानको कथा उठाएको छ ।

फागुनमा महाभिडन्त

रिलिज क्यालेन्डरअनुसार सबैभन्दा धेरै फिल्म फागुनमा प्रदर्शनका लागि थुप्रिएका छन् । फागुनमा मात्र ‘फूलबारी’, ‘परदेशी २’, ‘लन्डन टु पेरिस’, ‘बगान’, ‘छक्का पञ्जा ४’, ‘छड्के २’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘बर एण्ड बधु’ गरी ९ फिल्म छन् ।

फुलबारी’, ‘परदेशी २’ र ‘लन्डन टु पेरिस’ फागुन ५ गते रिलिज हुँदैछ । यसरी तीन राम्रा फिल्म भिड्दा सबैलाई व्यावसायिक असर गर्ने अनुमान गरिएको छ ।

राम्रो डेटको पर्खाइमा अन्य फिल्म

निर्माण कार्य सकिएका र सक्ने तरखरमा रहेका पनि थुप्रै फिल्म छन्, जसको प्रदर्शन मिति अहिलेसम्म जुर्न सकेको छैन । ती मध्येको एक हो दीपक श्रेष्ठ निर्देशित ‘घिन्ताङ’ फिल्म ।

केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्म ‘घिन्ताङ’मार्फत् दीपकले ९ वर्र्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । यो आफ्नो महत्वाकांक्षी फिल्म भएको दीपक बताउँछन् ।

प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को पनि रिलिज मिति जुर्न बाँकी छ । हिमाली जिल्ला मुस्ताङमा छायाङ्कन भएको फिल्ममा विजय लामा, दीया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती लगायतको मुख्य भूमिका छ । राम्रो डेट मिल्यो भने चैत्रभित्रै यो फिल्म प्रदर्शनमा आउन सक्ने निर्देशक शाही बताउँछन् ।

फिल्म ‘बिच्छेद’को पनि लभगभ काम सकिएको छ । मुकुन भुषाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा राज पण्डित, सुवास राई र साबी बज्राचार्यको लगायतका कलाकारको अभिनय छ । ‘बिच्छेद’ का लागि पनि राम्रो मिति खोज्दै गरेको वितरक करण क्रेजीले बताए ।

त्यस्तै फिल्म ‘मासु भात’ मा रियल प्रेमजोडी सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनय छ । सञ्जीव न्यौपाने निर्देशित प्रेमकथामा बनेको फिल्म पनि उपयुक्त मितिको पर्खाइमा छ । यस्तै, ‘तीन जन्तु’, ‘भूत घर’, ‘हल्लो काशीराम’ लगायत थुप्रै फिल्म छन्, जसका निर्माता राम्रो डेट हात पर्यो भने प्रदर्शनमा ल्याउने दाउमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप