शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सीके राउतको रफ्तार, ६ दिनमा भेटे १० जना नेता

मङ्गलबार, २० मङ्सिर २०७९, १५ : ४३
मङ्गलबार, २० मङ्सिर २०७९

सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउत जनकपुर हुँदै मंसिर १३ गते काठमाडौं पसे । काठमाडौँ पसेलगत्तै उनले विभिन्न पार्टीका नेतासँग भेटघाट गरेका छन् ।

संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरुको घरघर पुगेर संवाद गरिरहेका छन् । उनले विभिन्न दलका १० जना नेतालाई भेटिसकेका छन् । यद्यपि यो तथ्याङ्कमा अध्यक्ष राउतको सचिवालयले सार्वजनिक गरेको भेटघाट मात्र समेटिएको छ, यस बाहेक पनि उनले थुप्रै भेटघाट गरेका छन् ।

सत्ता सहकार्यका लागि विभिन्न कोणबाट छलफल सुरु भइरहेको समयमा अध्यक्ष राउतको यो खालको भेटघाटलाई चासोपूर्वक हेरिएको छ । अझ महत्त्वपूर्ण त यो छ कि राउतले अहिलेसम्म जतिजनालाई भेटेका छन्, ती सबै सत्ता गठबन्धनमा रहेका तथा त्यस निकट रहेका नेतामात्र छन् ।

जनमत पार्टीका नेताहरुले यो भेटघाट सामान्य रहेको दाबी गरिरहेका छन् । अध्यक्ष राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अन्य नेताहरुसँग बधाई तथा शुभकामना साटासाटका लागि मात्र यो भेटघाट भइरहेको उनीहरुको दाबी छ ।

राउतले जेलमा रहेका रेशम चौधरीदेखि लिएर तीन जना पूर्वप्रधानमन्त्री तथा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटिसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले भेट्न बाँकी छ । उनीहरुसँग पनि एक दुई दिनमा भेट गर्ने उनका पार्टीका नेताहरु बताउँछन् ।

भेटको शृङ्खला

मंसिर १३ गते काठमाडौं आउने क्रममा जनकपुर विमानस्थलमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग अध्यक्ष सीके राउतको भेट भएको थियो । सोही भेटबाट प्रभावित भएका उनले विमलेन्द्र निधिसँग त्यसको भोलिपल्ट अर्थात मंसिर  १४ गते उनको निवासमै गएर भेटे ।

अध्यक्ष राउत सत्ता गठबन्धनलाई सघाउनेमा प्रतिवद्ध भएपछि कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तय भएको थियो । प्रधानमन्त्री देउवासँग भेट्ने तारतम्य मिलाएर निधिले त्यसको भोलिपल्ट अर्थात् १५ गते राउतलाई लिएर बालुवाटार गएका थिए ।

बालुवाटारको भेटमा अध्यक्ष राउतले सत्ता गठबन्धनले बनाउने सरकारलाई सघाउने प्रतिवद्धता जनाएको कांग्रेस नेता निधिले सार्वजनिक गरिसकेका छन् । पछि राउतको सचिवालयले पनि सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने सहमति भएको तर अहिले नै कुराको टुङ्गो लागि नसकेको जानकारी गराएको थियो ।

त्यही दिन अध्यक्ष राउतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणसँग छुटुटाछुट्टै भेट गरेका थिए । सन्दर्भ चुनाव जितेपछि शुभकामना तथा बधाई साटासाट रहे पनि भेटघाटको मुख्य विषय सत्ता सहकार्य नै थियो । जुन कुराको सूचना माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट विभिन्न स्रोतबाट बाहिर आएको थियो ।

त्यसको भोलिपल्ट मंसिर १७ गते अध्यक्ष राउतलाई उनकै पार्टीले काठमाडौंमा बधाई तथा शुभकामनाका लागि कार्यक्रम आयोजना गरेको थियो ।  त्यसको भोलिपल्ट मंसिर १८ गते जनमतका अध्यक्ष राउतले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सो पार्टीका प्रवक्ता डा.प्रकाशरण महतलाई छुट्टाछुट्टै भेटेका थिए । सो भेटको प्रयोजन पनि सत्ता सहकार्य नै थियो । त्यहाँ पनि उनले सत्ता गठबन्धनलाई सघाउने प्रतिवद्धता जनाएका थिए ।

मंसिर १९ गते अध्यक्ष राउत नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई भेट्न जेल मै पुगेका थिए । जेलमा बधाई तथा शुभकामना साटासाट गरेपछि सत्ता सहकार्यबारे दुवै जनाको बीचमा कुराकानी भएको भेटमा सहभागी एक नेताले बताए ।

रेशम चौधरी पनि सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई सघाउनेमा सकारात्मक छन् । उनलाई पनि माओवादीका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारीलगायत नेताले छुट्टाछुट्टै भेटिसकेका छन् ।

अध्यक्ष राउतले त्यही दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्राई, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई छुट्टाछुट्टै भेटिसकेका छन् । उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेता नेपालको कोटेश्वरस्थित निवासमा भेटेका छन् ।

जबकि यसअघि मंसिर १५ गते नै राउतले प्रचण्डलाई उनकै निवासमा गएर भेटिसकेका थिए । दुईजना अध्यक्षलाई एकैसाथ भेट्नुले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । अध्यक्ष प्रचण्डले कांग्रेससँग कुरा नमिले एमालेसँग मिलेर वाम गठबन्धन बनाएर सरकार बनाउने अभिव्यक्ति दिइसकेपछि राउतले उनीहरुलाई भेटेका छन् ।

तर, जनमत पार्टीका महासचिव चन्दन सिंहले यी सबै भेटघाट सामान्य रहेको दाबी गरे । उनले भने, ‘चुनाव जितेर आइसकेपछि एक अर्कालाई बधाई दिनुपर्छ भन्ने राजनीतिक संस्कार कायम गर्न यो भेटघाट गरिएको हो, भेटमा कुनै सहमति भएको छैन ।’

सरकार निर्माण तथा सत्ता सहकार्यका लागि चहल पहल भइरहेको बेला नेताहरु बीच भेट हुँदा त्यस विषयमा कुराकानी हुनु सामान्य भए पनि अध्यक्ष राउतले कसैलाई कुनै प्रकारको आश्वासन नदिएको उनले बताए । उनले भने, ‘हो, हामीसँग संघदेखि प्रदेश (मधेस प्रदेश) सम्मको सरकार गठन गर्ने साँचो छ तर त्यसलाई हामी दुरुपयोग गर्दैनौं, त्यसमा हामी सचेत छौं ।’

जनमत पार्टीका अध्यक्ष राउत जनताको काम गर्नका लागि सरकारमा जानै पर्ने बताउँछन् । उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘जनताका जति अपेक्षाहरु छन्, ती सबै पूरा गर्नका लागि सरकार नै चाहिन्छ, सरकारमा गएर जनताका ती चाहनाहरु पूरा गर्नेछौं ।’

उनका यी अभिव्यक्तिले जनमत पार्टी संघीय सरकारदेखि लिएर मधेस प्रदेश सरकारमा सहभागी हुनका लागि इच्छुक छ । सो पार्टीका अध्यक्ष राउतको बढ्दो राजनीतिक भेटघाट सत्तारोहणकै वातावरण मिलाउन केन्द्रित रहेकोमा आशंका गर्ने ठाउँ भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप