सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

सोमबार, २६ मङ्सिर २०७९, १७ : ५२
सोमबार, २६ मङ्सिर २०७९

गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । 

६ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो । सत्यवती गाउँपालिकाको पहलमा भूगर्भविद्को सहयोगमा अनुसन्धान सुरु भएको भार्सेका वडाध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

 त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा.कविराज पौडेलसहित नौ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना सङ्कलन गरेर शनिबार फर्किएको छ  । उनीहरुले पुस मसान्तभित्र नमूनाको नतिजा दिनेछन् । 

भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना सङ्कलन गरिएको हो । भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रुपमा रहेको स्थानीय नरु बुढाथोकीले बताइन् । भार्से गाउँ थाप्ले लेकको काखमा छ । यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् ।

भार्सेमा १२औँ पुस्ता अगाडि तामा, फलाम र सिसा खानीको उत्खनन गर्ने क्रममा बस्ती बसेको पनि स्थानीयवासीले बताउँदै आएका छन् । अनुसन्धानका क्रममा तामा, फलाम र सिसा खानी सावित भएमा सत्यवती गाउँपालिकाले उत्खनन सुरु गर्नेछ ।  

इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्तविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिक रुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप