बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आर्थिक संकटका संकेत दर्शाउँदै उद्योगीले भने, ‘चालू पूँजी निर्देशका स्थगित गरौँ’

बिहीबार, २९ मङ्सिर २०७९, १९ : ३१
बिहीबार, २९ मङ्सिर २०७९

विराटनगरमा आजदेखि सुरु भएको विराट एक्स्पो उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले देखिएको अर्थतन्त्रको संकटबारे राष्ट्रपति सामु बेलिबिस्तार लगाए ।  उनले अहिलेको अर्थतन्त्रमा देखिएको चुनौती राष्ट्रिय चुनौती भएको भन्दै यो पहिले भोगेको भन्दा भिन्न रहेको भन्दै उनले सरकारसँग सहकार्य गरेर अगाडि बढ्न आह्वान गरे । उनले केही नीति निर्माताले भुक्तानी सन्तुलनमा सकारात्मक भइसकेपछि अर्थतन्त्र राम्रो अवस्थामा आएको भनेर भने पनि त्यसले मात्रै अर्थतन्त्र चलायमान हुन नसक्ने तथ्यांक प्रस्तुत गरे । अर्थतन्त्र लयमा आउनाका लागि तरलताको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।

‘निर्माण क्षेत्रमा ७० प्रतिशत बढीको संकुचन आएको छ । निर्माण क्षेत्र भनेको माउ उद्योग हो । दैनिक उपभोग्य सामानको कुरा गर्ने हो भने १० प्रतिशत बढी संकुचनमा रहेको छ । सरकारले विद्युतको खपत बढाउने कुरा गरिरहेको छ तर, विद्युतीय उपकरणको कारोबारमा पनि ५५ प्रतिशत संकुचन आएको छ,’ गोल्छाले गर्दै भने, ‘अटो मोबाइलको क्षेत्र ८० प्रतिशत भन्दा बढी संकुचन आएको छ । बिमा व्यवसाय ३० प्रतिशतले घटेको छ । होटल व्यवसाय ३० देखि ४० प्रतिशत संकुचनमा आएको छ । घरजग्गाको कारोबार ४५ प्रतिशत, पूँजीबजार ३८ प्रतिशतले संकुचनमा आएको छ ।’

उनले डिजेलको खपत कम भएको तथ्यांक प्रस्तुत गर्दै औद्योगिक क्षेत्रमा विद्युत् खपत पनि घटेको आँकडा प्रस्तुत गरे । ‘अहिले डिजेलको खपत पनि २५ प्रतिशतले घटेको छ । विद्युत् प्राधिकरणमा उद्योगमा बिजुलीमा विद्युत्को खपत पनि २५ देखि ३० प्रतिशतले घटेको छ,’ गोल्छाले भने, ‘ढुवानी व्यवसाय पनि ६० प्रतिशत घटेको छ । निर्यात ३६ प्रतिशतले घटेको छ ।’

राजस्व लक्ष्य अनुसार मात्रै नभएर अघिल्लो वर्षको भन्दा घटेको र आउँदो पुस महिनामा संकलन हुने आयकर ५० प्रतिशतले कम हुने उनले आँकलन गरे । ‘राजस्व लक्ष्यको त कुरा परै जाओस् अघिल्लो वर्षको भन्दा अहिले १९ प्रतिशतले कमी छ । हाम्रो अर्थतन्त्र संकटमा छ । ठूलो चुनौतिको बीचमा रहेको छ,’ गोल्छाले भने, ‘मुद्रा स्फिती १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण छ । यसले सर्वसाधारणको क्रयशक्ति घटेको छ । पुस महिनामा आयकर संकलन ५० प्रतिशत भन्दा कम हुने आँकलन गर्न सकिन्छ ।’

उनले यसको समाधानका लाथि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएको चालू पूँजी निर्देशिकालाई केही समय स्थगित गर्नुपर्ने र तलता अभावलाई सुधार गर्न व्यवसायीक बैंकहरुलाई तरलता उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा १ नम्बर प्रदेशको औद्योगिक क्षेत्रको समस्या प्रस्तुत गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले पूँजीगत खर्चमा उल्लेख्य वृद्धि गर्न जरुरी रहेकोमा जोड दिए ।

उनले द्विपक्षीय सहमति अनुसार भारतले नेपालको आइसिपीसम्मको रेलमार्ग निर्माण गरिसकेको ६ महिना पुग्दा पनि नेपालले अलमलमा रहेकोतर्फ राष्ट्रपति भण्डारीलाई जानकारी गराए । ‘यसबीचमा भारतीय रेल्वेका अधिकारीले आइसिपीसम्म रेल्वे कार्गो संचालन गर्न पटकपटक आग्रह गरिरहेका छन् । म स्पष्ट रुपमा हाम्रो दुःख उल्लेख गर्न चाहन्छौं । आइसिपी सम्म रेल्वे कार्गो रेल्वे संचालन गर्ने सन्दर्भमा नेपाली सरकारी अधिकारीहरु अझै पनि अन्यौलमा हुनुहुन्छ । फलतः विराटनगरको आइसिपीसम्मको रेल कार्गो संचालन अझै पनि अनिश्चित र अन्यौलपूर्ण छ,’ उनले भने ।

प्याकुरेलले उर्जा निर्यात योग्य वस्तु हो कि देशको औद्योगिकीकरणको लागि कच्चा पदार्थ हो भन्ने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउँदै विदेश निर्यात गर्दाकै मूल्यमा विद्युत् उपलब्ध गराए औद्योगिक लगानीको बाढी ल्याइदिने पनि बताए । ‘उर्जाको विषयमा हाम्रो मुलुकमा उर्जा देशको औद्योगिककरणको लागि कच्चा पदार्थ हो कि राष्ट्रको निर्यातयोग्य वस्तु हो भन्ने विषयमा स्पष्ट हुन आवश्यक भइसकेको छ । सरकारले हामीलाई निर्यातकै मूल्यमा हामीलाई उर्जा उपलब्ध गराओस् हामी औद्योगीकरणको बाढी ल्याइदिन सक्छौं,’ प्याकुरेलले भने, ‘तर हामीलाई दिएको भन्दा धेरै सस्तोमा छिमेकी राष्ट्रमा उर्जाको निर्यात गरेपछि हामी त्यहाँको उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्ने ? सरकारले हामीलाई स्पष्ट जवाफ दिनैपर्छ ।’

प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप