बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने

बिहीबार, ३२ असार २०८३, २१ : ३४
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी साउन २४ देखि २७ गतेसम्म हुने सम्मेलनमा फोनिजमा आबद्ध विभिन्न जातीय पत्रकार सङ्गठनहरू सहआयोजक रहने आज जानकारी दिइएको छ । सम्मेलनमा तामाङ पत्रकार सङ्घ, किरात राई पत्रकार सङ्घ, तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, थारु पत्रकार सङ्घ नेपाल, मगर पत्रकार सङ्घ, लिम्बू पत्रकार सङ्घ र शेर्पा सञ्चार समूह सहआयोजक रहनेछन् ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२-२०३२ लाई आदिवासी भाषाको अन्तरराष्ट्रिय दशकका रूपमा घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा विश्व आदिवासी दिवस तथा फोनिजको २७औँ स्थापना दिवसको अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजका अध्यक्ष लक्की चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार सम्मेलनको अन्त्यमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासका लागि आवश्यक नीतिगत सुधार, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चारमाध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेसागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटेर ‘काठमाडौँ घोषणापत्र’ जारी गरिनेछ ।

फोनिजका महासचिव बलामीका अनुसार सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषा पत्रकारहरूबीच अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सम्मेलनबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेसागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ । साथै आदिवासी समुदायको जल, जमिन, जङ्गल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव तथा जलवायु न्यायमा सञ्चारमाध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् ।

सम्मेलनमा विज्ञहरूसहित २७ देशका करिब ६० जना अन्तरराष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि तथा नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० जना प्रतिनिधि सहभागी हुनेछन् । त्यस्तै जातीय पत्रकार सङ्गठनहरूबाट करिब १०० जना सहित ५०० जनाभन्दा बढी मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । फोनिजले सदस्यता विस्तार र पत्रकारहरूलाई प्रोत्साहनका लागि मधेस र लुम्बिनी प्रदेशमा फेलोसिप (शोधवृत्ति) कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप