बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल

बिहीबार, ३२ असार २०८३, २१ : ३०
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ ।

मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायका स्वास्थ्य समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकतालगायत विषयमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गरिन् ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकता सम्बोधनका लागि आवश्यक नीतिगत तथा प्राविधिक पक्षमा मन्त्रालय सकारात्मक रहेको प्रष्ट पारिन् । मन्त्री मेहताले सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय गरी समुदायको स्वास्थ्य अधिकार सुनिश्चित गर्न पहल अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उक्त भेटघाटमा मायाको पहिचान नेपालका संस्थापक सुनीलबाबु पन्तसहित समुदायका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप