सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ गठबन्धनलाई गण्डकीमा बहुमत, मुख्यमन्त्रीमा खगराजको सम्भावना

सोमबार, ११ पुस २०७९, ०७ : ५६
सोमबार, ११ पुस २०७९

नेकपा माओवादीले सत्ता गठबन्धन छाडेसँगै प्रतिनिधिसभामा सबैभन्दा ठूलो बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुन पुगेको छ । सत्ता गठबन्धनमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिमा अडान राखेपछि नयाँ ७ दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४ औैं प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् । उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भट्टराईले प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेर एमाले—माओवादी सहितको ७ दलीय समीकरण बनेपछि गण्डकीमा पनि नयाँ गठबन्धनको सरकार बन्ने पक्का भएको छ । 

केन्द्रमा माओवादी र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धन फेरिएसँगै संघीय सरकारदेखि प्रदेशसम्मको सत्ता समीकरणमा फेरबदल हुने निश्चित भएको छ । गण्डकीमा २७ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्ने निश्चित भएको हो ।  

नयाँ सत्ता समीकरण अनुसार अब गण्डकीमा एमाले, माओवादी र राप्रपा नेतृत्वमा सरकार बन्ने छ । ६० सदस्यी गण्डकी प्रदेश सभामा मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ५ दलको प्रतिनिधित्व भएको छ । जसमा नेपाली कांग्रेस २७ सिट सहित पहिलो, नेकपा एमाले २२ सिट सहितको दोस्रो, माओवादी केन्द्र ८ सिट सहित तेस्रो स्थानमा छ । समानुपातिकमा २ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको समर्थनमा अब गण्डकी सरकार बन्ने छ । गण्डकीमा १ सिट पाएको एकीकृत समाजवादीले सरकारमा जाने नजाने निर्णय गरेको छैन ।  

गण्डकीमा एमाले, माओवादी र राप्रपा मिल्दा ३२ जना सांसद पुग्छन् । यो सरकार गठन गर्न पुग्ने स्पष्ट संख्या हो । गण्डकीमा सरकार गठन गर्न ३१ सांसदको समर्थन आवश्यक पर्छ । नयाँ गठबन्धनबाट १ जना सभामुख चयन हुँदा पनि ३१ जना सांसद पुग्छन् ।  

यसरी केन्द्रमा सत्ता गठबन्धन परिवर्तन हुँदा गण्डकीमा कसको नेतृत्वमा सरकार भन्ने बहस सुरु भएको छ । गण्डकीमा एमाले माओवादी दुवैले मुख्यमन्त्रीको दाबी गरेका छन् । एमाले नेताहरु केन्द्रमा माओवादी नेतृत्वमा सरकार बन्दा प्रदेशमा आफूहरूले स्वतः पाउने विश्वास गर्छन् । उनीहरूको दाबी मुख्यमन्त्री एमालेले नै पाउने बताउँछन् । एमालेबाट निर्वाचित एक प्रदेश सांसदका अनुसार केन्द्रीय समीकरणले प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने स्पष्ट भएको बताउँछन् । भन्छन्, ‘हामी गण्डकीमा मात्र हैन, ७ वटै प्रदेशमा अब एमाले माओवादीको सरकार बन्छ । यसरी हेर्दा सत्ता गठबन्धनमा ठूलो भएको एमालेले सरकारको नेतृत्व गर्छ भन्ने कुरा दुई मत छैन,’ ती नेताले भने ।

पूर्व प्रदेश सांसद तथा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले एमाले नेतृत्वका सरकार बनाउन आफूहरू माओवादी र राप्रपासँग छलफलमा भर्खर प्रारम्भ भएको जानकारी दिए । उनका अनुसार एमालेबाट मुख्यमन्त्री खगराज अधिकारी हुने छन् । अधिकारीले पनि आफूहरुले सरकारको नेतृत्व गर्न पाए सर्वोत्कृष्ट सरकार बनाउने बताएका छन् । आइतबार दलको नेतापछि पत्रकारसँग कुरा गर्दै अधिकारीले आफूहले सर्वोत्कृष्ट सरकार र सर्वोत्कृष्ट व्यवहार बनाउने बताएका छन् । 

‘एमाले प्रदेश कमिटीले आइतबार संसदीय दलको नेतामा खगराज अधिकारीलाई सर्वसम्मत दलको नेतामा चयन गरेका छौं । उहाँकै नेतृत्वमा अब गण्डकीमा सरकार बन्छ,’ दवाडीले भने । केन्द्रका भागबन्डाले अनुसार नै गण्डकीमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको विश्वास छ ।  

माओवादी नेताहरु पनि गण्डकीमा माओवादी नेतृत्वका सरकार बन्ने दाबी गर्छन् । उनीहरूले केन्द्रमा जस्तै यसपटक आफूहरुलाई एमालेले समर्थन गरेर सरकार बन्ने बताएका हुन् । ०७४ सालमा वाम गठबन्धनबाट आफूहरूले पृथ्वीसुब्बा नेतृत्वको सरकार बनाएकाले यसपटक आफूहरुलाई एमालेले समर्थन गर्नुपर्ने बताउँछन् । 

यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने दुवै दलको टुंगोमा पुगेका छैन । माओवादी केन्द्रले अझै पनि संसदीय दलको नेता चयन गरेको छैन । छिट्टै आफू संसदीय दलको नेतामा सर्वसम्मत हुने माओवादी सांसद हरिबहादुर चुमन बताउँछन् । उनी भन्छन्, ‘मुख्यमन्त्रीमा हाम्रो स्वाभाविक दाबी रहन्छ । हामी छिट्टै सर्वसम्मत दलको नेता चयन गर्छौं ।’ 

संसदीय दलको नेतामा चयन पछि अधिकारीले भने— भ्रष्टाचार गर्दिन, सरकार र व्यवहार सर्वोत्कृष्ट बनाउँछौँ 
आइतबार एमालेबाट गण्डकी प्रदेश संसदीय दलको नेतामा चयन भएपछि खगराज अधिकारीले आफू नेतृत्वका संसदीय दलले भ्रष्टचार नगर्ने र सबैभन्दा उत्कृष्ट बन्ने बताएका छन् । एमाले गण्डकी प्रदेश समितिले आइतबार दलको नेतामा चयनपछि बोल्दै अधिकारीले शासक होइन एमाले सेवक भएर काम गर्ने बताएका हुन् । प्रदेश सांसद तर्फ हेर्दै अधिकारीले भने, ‘हामी भन्ने छौं । भ्रष्टाचार गरेर हामी एक पैसा पनि लिनेछैनौं । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भनेर कसैले थप सपथ खाएको देखें । हामी यसलाई पनि मान्छौं । हाम्रा २२ जना सांसदहरु कुनै भ्रष्टचारम सहभागी हुने छैनौं ।’ अधिकारीलाई संसदीय दलका नेता चुन्न सांसद लीलाबहादुर थापा प्रस्तावक र रोशन गाहा मगर समर्थक थिए । अधिकारी संसदीय दलका नेता चुनिए पनि उपनेता, प्रमुख सचेतक र सचेतक चुन्न बाँकी छ ।

अधिकारीले गण्डकी प्रदेशलाई कोरोला नाकादेखि त्रिवेणीसम्म जोडेने बताएका हुन् ।  ‘हामी नवलपुर र मुस्ताङ नजोडिएसम्म प्रदेश जोडिएको ठान्ने छैनौं । यसअर्थमा प्रदेशको केन्द्र पोखरालाई सबैतिरबाट सुगम बनाएर अगाडि बढ्ने छौं,’ उनले भने, ‘हाम्रो घोषणा पत्रको मार्गदर्शनमा गएर काम गर्छाैं । विकासका कुरा गर्दा सकेसम्म सबैको समर्थन जुटाएर काम गर्ने र्छौं ।’ अधिकारीले पोखराको फोहोरमैला व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा एमालेले जिम्मेवारी पूरा गर्ने बताएका हुन् । ‘लोकतन्त्रमा सबैको विचारलाई हेक्का राखेका हामी काम गर्छांै । जहाँ हामी जीत निकाल्न सकेनौं । यहाँ पनि हामीले विकास निर्माण आगामी पाँच वर्षमा जीत हात पाछौैंं,’ उनले भने । 

एमालेबाट निर्वाचित सांसदले आफूलाई योग्य बनाउने प्रदेशका नियमावली, प्रदेशको ऐन  काननु र देशको संविधान कन्ठ गर्नुपर्ने बताएका हुन् । ‘हामी दलको विधायन अनुसार हामी अगाडि बढ्ने छौं  । हामी सर्वोत्कृष्ट समिति, सर्वोत्कृष्ट दल अनुरुपको जिम्मेवारी , सर्वोत्कृष्ट सरकार चलाउँछौं,’ अधिकारीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप