बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भीम उदास : रोमदेखि रुससम्म

बुधबार, १३ पुस २०७९, ०९ : ५१
बुधबार, १३ पुस २०७९

३० वर्ष संयुक्त राष्ट्र संघअन्तगर्त विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा काम गरे । कहिले जेनेभा त कहिले रसिया, कहिले युद्धग्रस्त मुलुकमा त कहिले सैनिक शासक भएको मुलुकमा । 

ललितपुरका भीम उदास (७३) ले डब्लुएफपीकाे नेतृत्व सम्हाले । म्यानमारका लागि नेपाली राजदूत समेत रहिसकेका भीमले आफ्नो जीवनमा धेरै हण्डर खानुपर्‍यो ।  

२००६ चैत २६ गते भोजपुरको टक्सारमा जन्मिएका भीमले त्यहीको विद्योदय हाईस्कूलबाट एसएलसी गरे । त्यसपछि विराटनगर झरे, जहाँबाट उनले २०२३ सालमा आईएस्सी पास गरे । 

सानैदेखि लेखपढमा उनको रूची थियो । ‘स्कूलमा कोही स्पोर्टस्तिर जान्थे तर म मेरो हाइट र अन्य कारणले गर्दा त्यतातिर रूची थिएन । स्कूल नजिकै एउटा पुस्तकालय थियो । मैले त्यसैमा स्वयम्सेवकको रूपमा काम गरे ।’ उनले भने ।

सानैदेखि अरूले डाक्टर, इन्जिनियर बन्छु भन्दा उनको इन्जिनियर बन्ने सपना थियो । ‘मलाई इन्जिनियर हुँ जस्तो लाग्थ्यो । किनभने त्यो बेला इन्जिनियर, डाक्टर एक प्रतिष्ठित पेशा लाग्थ्यो । त्यसकारण म पनि त्यही बन्न सक्छु कि भन्ने सपना थियो,’ उनले भने । 

तर, समयक्रम अनुसार उनको रूची र चाहना फरक हुँदै गयाे । आईएस्सीमा तेस्रो श्रेणी ल्याउँदा इन्जिनियरिङ अध्ययन गर्न उनको योग्यताले मिलेन । त्यसैले, आईएस्सी सकेर गाउँमै रहेको अन्नपूर्ण निम्न माध्यमिक विद्यालयमा शिक्षण पेशामा लागे, त्याे पनि हेडमास्टर भएर काम गरे ।  

आर्थिक अवस्था कमजोर हुँदा उनले पढाईलाई बीचमा ब्रेक लगाएर पढाउनतिर लागे । त्यो समयको अवस्थाबारे भीमले भने, ‘अहिले भन्दा र सुन्दा अनौठो लाग्न सक्छ । मैले मेरो आमाको सिक्री बेचेर आईएस्सी पढेको थिए ।’ 

यसरी पारिवारिक पृष्ठभूमि व्यापार भएपनि उनको परिवारको अवस्था कमजोर थियो । 

उनको सानैदेखि साहित्यमा पनि रूची थियो । साहित्यिक रुझानले बीए पढ्दा पढ्दै उनी पत्रकारितामा समेत आबद्ध भए । सबैभन्दा पहिला उनले दिल्लीबाट अनलाइनमार्फत् पत्रकारिताको डिप्लोमा तहको तालिम लिए । त्यसपछि जनवार्ता भन्ने दैनिक पत्रिकामा काम गरे । कोषराज रेग्मी सम्पादक रहेको पत्रिकामा उनले सहायक सम्पादक भएर काम गरे । 

उनी कोशी साप्ताहिकको पहिलो सम्पादक भएर काम गरे । त्यतिबेला साहित्यमा रूची राख्ने भएकाले दुवै काम सजिलो थियो । डेढ वर्ष काम गरेपछि उनले राजीनामा दिए । जनवार्तामा काम गर्दै गर्दा राष्ट्रिय समाचार समितिमा समेत उनले ५ महिनाजति भोलेन्टियरको रूपमा काम गरे । आर्थिक हिसाबले पैसा कमाउन नसकिने भएपछि उनी यो पेशा छोड्न बाध्य भए । 

त्यसपछि उनले कन्काई सिँचाई आयोजनामा काम पाए । र त्यहा काम गर्न थाले । पछि कुलेखानी जलविद्युत आयोजनामा जागिर खान गए । दुवै आयोजनामा गरी उनले ७ वर्ष जति काम गरे । 

उनले कोशी साप्ताहिकमा काम गर्दै गर्दा रञ्जना श्रेष्ठसँग प्रेम विवाह गरे । त्यो बेला प्रेम विवाह फलामको चिउरा चपाउनु सरह थियोे । अहिलेको जस्तो डेटिङ जान सकिने अवस्था थिएन । 

उनको घर टक्सारमा थियो भने रञ्जनाको भोजपुर बजार थियो । दुवैजना बीचको दूरी भौतिक रूपमा आधा घण्टाको थियो । तर, समय र परस्थितिले कोशौं दूर बनाइदिएको थियो । उनले प्रेमिकालाई हुलाकबाट पत्र पठाउँथे ।

रञ्जनासँग उनको प्रेम सम्बन्धमा हुनुको रोचक कारण छ । उनको जेठो दाई भीमको हाईस्कूलको क्लासमेट थिए । त्यो बेला उनीसँग एकपटक मात्र भेट भएको थियो । उनको घर जाँदा किताव आदानप्रदानको सिलसिलामा एक पटक देखेका थिए । त्यसपछि आईएस्सी सकेर पढाउन गए, त्यो बेला उनीसँग भेट भयो । 

मलाई लाग्यो ‘ईफ आई मेरी समवान, सी ईज द वान’ । त्यही आधारमा कुराकानी गर्दै गए । उनीहरूले कहिले झ्यालबाट हेराहेर गर्थे भने कहिले आँखामा आँखा जुधाएर मनको भावना व्यक्त गर्थे । यसरी मौन प्रेम झाँगिदै गयो । 

त्यसबेला बजार क्षेत्रले टक्सार क्षेत्रमा बस्नेलाई हेप्ने गरेका थिए । उनीहरू आफुलाई सुपेरियर ठान्थे । त्यसैले, भोजपुर टक्सारमा विवाह गर्न पनि निकै समस्या भयो । त्यसपछि दुवै जनाको परिवार र सीमित साथीभाइसहित सुनसरीको बराह क्षेत्र मन्दिरमा २०२७ सालमा विवाह गरे । 

डब्लुएफपीमा जागिर  

उनलाई आफ्नो जीवनमा प्रभाव पार्ने दुई जना व्यक्ति लाग्छ । एउटा उनको आमा र दोस्रो श्रीमती । 

‘मेरो जीवनमा दुई जना स्वास्नी मान्छेको ठूलो प्रभाव छ । एउटा मेरी आमा । उहाँकै इन्स्प्रेशनका कारण बीए सम्मको पढाई पुरा गरे । दोस्रो मेरो श्रीमती । ‘सी इन्करेज मी, सी इन्स्पायर मी ।’ लाइफलाई कसरी ‘बेटर’ गर्न सकिन्छ भनेर उनको इन्स्प्रेशन पनि छ,’ उनले भने । 

एक पटकको घटना उनलाई अझै पनि सम्झनामा ताजै छ । पत्रकारिता गरिरहेका थिए । घरमा जेठाे छोरा जन्मिसकेको थियो । छोरा विरामी थियो । उनलाई श्रीमतीले छोराको लागि औषधि र खानेकुरा ल्याउन पठाएकी थिइन् । 

उनी घरबाट बाहिर त निस्किएर । त्यही दिन काठमाडौंबाट मन्त्री विराटनगर पुगेका रहेछन् । अनि उनी पत्रकारको रूपमा मन्त्रीलाई फलो गर्नतिर लागे । राति न खानेकुरा, न छोराको लागि औषधी केही पनि नलगी रित्तो हात घर गए । 

श्रीमान्ले कर्तव्य पुरा नगरेपछि श्रीमतीले आफ्नो औलामा लगाएको औंठी दिइन् र त्यो बेचेर छोराको लागि औषधी र खानेकुरा लिएर आउन भनिन्, ‘तपाईंलाई अर्काको पछि लागेर न्युज बनाउने होइन कि, अरूले तपाईंको विषयमा न्युज लेखोस् । म त्यो देख्न चाहन्छु,’ जुन कुराले उनको माइण्ड डाइभर्ट गरिदियो । 

‘मलाई लाग्छ त्यही नै मेरो जीवनको टर्निङ प्वाइन्ट थियो । जसले मलाई युएन ज्वाइन गर्न ठूलो भूमिका खेल्यो,’ उनले भने । 

कुलेखानीमा काम गरिरहेका थिए । त्यहाँ काम गर्न थालेको २ वर्ष भइसकेको थियो । त्यो बेला दोस्रो छोरा समेत जन्मिसकेका थियाे । जागिर गरेपनि आर्थिक भार बढ्दो थियो । आर्थिक भार बढ्दै गएपछि श्रीमतीले जागिरको विकल्प खोल्न भनिन् । र, संयुक्त राष्ट्र संघ (युएन) तिर काम गर्न पाए राम्रो हुन्थ्यो भन्ने सुझाइन् । 

त्यसपछि उनले नेपालभित्रै यूएनमा प्रयास गरे तर छनौटमा पर्न सकेनन् । जापानीज कम्पनीमा काम गरिसकेको अनुभवको कारण आफूले युएनमै जागिर पाउने आश भने छँदै थियो । ‘त्यसपछि मैले इन्टरनेशलन पोजिशनमा एप्लाई गरे । र, छनौटमा परे,’ उनले भने ।  

छनौटपछि उनी चार वर्ष भोलियन्टरको रूपमा पाकिस्तान गए । १९ जनवरी १९८१ मा पाकिस्तान पुगेका उनी डब्लुएफपीमा काम गरे । पाकिस्तानमा उनी ८ वर्ष बसे । त्यही बस्दा बस्दै उनले इन्टरनेशल रिलेसनमा मास्टर पास गरे ।  

जब उनको युएनमा जागिरको टुंगो लाग्यो, त्यही बेला छोरी सुम्निमा जन्मिएकी थिइन् । छोरीको पास्नीकै दिन उनले नेपाल छोडेका थिए । 

त्यसबेला पाकिस्तानमा २२ लाख शरणार्थी थिए । उनीहरूलाई खाना पुर्‍याउने जिम्मेवारी डब्लुएफपीको थियो । पेशावरमा ५ वर्ष काम गरे । उनको कामको मूल्याङ्कन गर्दै डब्लुएफपीले बलुचिस्तानमा पठायो, जहाँ ८ लाख शरणार्थी थिए । त्यहाँको अप्रेशन कमजोर भएकाले इन्टरनेशल पोजिशन दिएर उनलाई त्यहाँको कमाण्डिङ सम्हाल्ने मौका दियो । त्यहाँ उनले तीन वर्ष काम गरे । 

रोमदेखि रसियासम्म

पाकिस्तानमा उनको अप्रेशन हेड रोमबाट आएका थिए । उनको काम देखेर उनलाई रोम नै बोलाए । रोममा रिजनल अप्रेशनको डेक्स अफिसरको रूपमा साढे ४ वर्ष काम गरे । 

त्यहाँबाट उनी सोभियत संघबाट टुक्रिएको मुलुक अर्मेनिया गए । अर्मेनिया र अजरबैजानबीच युद्ध चलिरहेको थियो भने भूकम्पसमेत गएको थियो । त्यहाँ धेरैलाई खान बस्न समस्या थियो । त्यहाँ डब्लुएफपीको अफिस नै थिएन । त्यहाँ अफिस खोल्नेदेखि लिएर कर्मचारी व्यवस्था तथा सम्पूर्ण अप्रेशन उनैले जिरोबाट व्यवस्थापन गरे । 

उनी अर्मेनिया २ वर्षका लागि गएका थिए तर १७ महिनामै उनलाई डेपुटी डाइरेक्टर नियुक्त गरी जेनेभा बोलाइयो । 

जेनेभाको हावापानी श्रीमतीलाई अनुकूल नभएपछि उनी ३ वर्षमै त्यहाँको बसाइँ छोट्याए । उनले भने,‘चिसोको कारण श्रीमतीको हातखुट्टा सुन्निन थाल्यो । बस्नै गाह्रो भएपछि हामी जोर्डन गयौं ।’ 

जोर्डनमा उनी कन्ट्री डाइरेक्टरको रुपमा गएका थिए । यसअघि अर्मेनियामा पनि कन्ट्री डाइरेक्टरको रुपमै थिए । जोर्डनमा ४ वर्षका लागि गएका थिए । तर, २ वर्षमै रसिया गए । 

रसियामा पनि अर्मेनियाको जस्तै गरी नयाँ अफिस खोल्नुपर्ने थियो ।  जब रसियनहरुले चेन्सियामा आक्रमण गरे, त्यहाँका मानिसहरु अन्यत्र जान बाध्य भए । एउटै देशभित्र आक्रमण भएर उनीहरु समस्यामा परेका थिए । तर रसियाले डब्लुएफपीको कार्यालय खोल्न मानेको थिएन । सुरक्षा परिषद्मा लैजान खोजेपनि त्यहाँ पास हुन सक्ने अवस्था थिएन । किनभने रसियाले नै भिटो पावर लगाईहाल्थ्यो । 

त्यसको विकल्पमा सेक्यूरिटी जनरलले डब्लुएफपीलाई एउटा चिठ्ठी लेखेको थियो । त्यही चिठ्ठीको आधारमा उनलाई त्यहाँ पठाइएको थियो । 

काम गर्ने क्रममा थुप्रै अवरोध भयो । रसियालाई सहायता आवश्यक नरहेकाले उनीहरुले सुरुमा धेरै अवरोध गरे । 

रसियामा सबै खर्च डब्लुएफपीले गर्ने र खाना किन्नेदेखि लिएर वितरणसम्म रसिया सरकारले गर्ने गरेको थियो । तर, उनीहरुले कम गुणस्तरको खाना दिने, त्यो पनि समयमै नदिने समस्या भयो । त्यसपछि उनले आफैंले खाना किने, ढुवानीको पनि व्यवस्थापन गरे । उनले सेन्टरपिटरवर्गकाे पोर्ट व्यवस्थापन गरेर खाना ढुवानीलाई सहज बनाएका थिए । बिस्तारै सबै कुरा सहज भयो । 

भीम त्यहाँबाट हिँड्नुभन्दा एक दिन अगाडि थाहै नदिई त्यहाँको राज्यमन्त्री आए । र उनलाई सम्मान गरे । राम्रो काम गरेको भनेर तक्मा ल्याएर लगाईदिए । त्यो तक्मा कस्तो हो, थाहा भएन । 

रसियाबाट ६ साता विदा लिएर काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले गैरआवासीय नेपाली संघ (एनआरएन) को पहिलो ग्लोबल सम्मेलन गराए । त्यसपछि उनलाई म्यानमारको जिम्मेवारी दिइयो । 

त्यसपछि उनी म्यानमार जान तयार भए । उनीबारे डब्लुएफपीको रिजनल अफिस थाईल्याण्डले प्रेस विज्ञप्ती जारी गरेको थियो । जसमा उक्त तक्माबारे पनि जानकारी दिइएको थियो । रसिया सरकारबाट उच्च तक्मा पाउने उनी चौथो व्यक्ति रहेछन् । 

‘उनीहरुले पीएनजी (प्रसना नन ग्रेटा) गर्लान् भन्ने सोचेको मान्छेलाई त्यस्तो तक्का दिएर सम्मान गरेपछि राम्रै काम गरेको रहेछु भन्ने लाग्यो,’ उनले भने । 

उनी म्यानमारमा सन् २००३ देखि २००६ सम्म बसे । म्यानमारमा कन्ट्री अफिस थिएन, खाली प्रोजेक्ट मात्रै थियो । उनी नै पहिलो कन्ट्री डाइरेक्टरका रुपमा गएका थिए । 

म्यानमारको रखाईनमा रहेका रोहिंग्याहरुलाई सरकारले नै खाना दिने गरेको थियो । त्यहाँ पनि रसियाजस्तै समस्या देखियो । रोहिंग्याहरूमाथि यतिसम्म विभेद गरिएको थियो कि एक ठाउँबाट अर्को ठाउँ जान पनि अनुमति लिनुपर्ने थियो । मान्छेहरूको मात्र नभएर जनावरहरूको समेत तथ्याङ्क राख्नुपर्ने अवस्था थियो । 

त्यस्तो अवस्थामा काम गर्न यूएनका एजेन्सीहरूलाई सहज थिएन । तर, उनले डिप्लोमेटिक तवरबाट सबै समस्याको समाधान गरे । र, उनीहरूका लागि खानाको व्यवस्था सहज गरे । म्यानमारमा दैनिक अढाई लाख मानिसहरूलाई डब्लुएफपीमार्फत् खाना दिने गरिएको थियो । 

तर, सेनाको नियन्त्रणमा रहेकाले खाना समयमै नदिने, कम गुणस्तरको खाना दिने समस्या देखिएपछि उनले पहिला खाना वितरणमा रोक लगाए । र, आईएनजीओलाई खाना वितरणको जिम्मा दिए । पछि खाना समेत बाहिरबाटै ल्याएर वितरण गर्न थाले र म्यानमार सरकारको एकाधिकार तोडियो । 

म्यानमार सरकार निरंकुश थियो । यतिसम्म कि कसैलाई पठाइएको मेल समेत सबैभन्दा म्यानमारको सेनाले हेर्ने गरेको थियो । निकै समस्या झेलेर म्यानमारको आफ्नो मिसन पनि सफल बनाए । 

त्यसपछि उनी साउथ अफ्रिका गए । त्यहाँ ४ वर्ष काम गरेपछि उनले सन् २०११ जनवरीमा ३० वर्षे डब्लुएफपीको जागिरबाट अवकाश लिए । अवकाशपछि पनि विभिन्न संघ संस्थामार्फत् सामाजिक कार्यमा सक्रिय रहे । 

राजदूतको जिम्मेवारी

उनी सन् २०१७ मा म्यानमारको लागि राजदूत भएर ४ वर्षे कार्यकाल पुरा गरे । त्यो अवधिमा उनले म्यानमारका उत्पादनलाई सिधै नेपालसम्म ल्याउने वातावरण मिलाउनुका साथै नेपाली सामान निर्यातका लागि समेत पहल गरे । 

म्यानमारमा दुई पटक बस्दा सैनिक शासन अनि जनताको शासन पनि प्रत्यक्ष भोग्ने मौका पाए । आङसान सुकी नेतृत्वको शासनकालमा राजदूत भएर जाँदा उनलाई काम गर्न धेरै सहज भयो । नेपाल–म्यानमार सम्बन्धलाई थप उचाईमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । 

हाल पनि उनी द बुद्ध फाउण्डेशनको प्रमुख, एनआरएन फाउण्डेशनको बोर्ड डाईरेक्टरलगायत संस्थामा आबद्ध भई काममा सक्रिय छन् । उपनाम उदास राखेपनि भीम उदासको मुहारमा उदासीको पदचाप छैन । बुढ्यौलीमा पनि उनी काममा उत्तिकै खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप