मुस्ताङको कोरला नाका उपयुक्त विकल्प : संसदीय टोली
बिहीबार, १७ मङ्सिर २०७२, १३ : ०९
मुस्ताङ– मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका दुई छिमेकी राष्ट्र भारत र चीनलाई जोड्न उपयुक्त विकल्प भएको संसदीय टोलीले निष्कर्ष निकालेको छ ।
लामो समयदेखि बन्द अवस्थामा रहेको नाकाको स्थलगत अध्ययनका लागि गएको व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिले यस्तो निष्कर्ष निकालेको हो । बुधबार सदरमुकाम जोमसोममा आयोजित अन्तरसंवाद कार्यक्रममा समितिका सभापति रवीन्द्र अधिकारीले दुई देशलाई जोडेर त्यसबाट फाइदा लिन नाका उपयोगी हुने देखिएको बताए ।
सुरक्षाको कारण देखाउँदै चिनियाँ पक्ष सहमत नभएपछि करिब १२ वर्षदेखि नाका बन्द अवस्थामा छ । नाकालाई प्रयोग गर्दै तिब्बतबाट धार्मिक गुरुहरु भारत लगायतका देशमा प्रवेश गर्ने र उपल्लो मुस्ताङमा खम्पा विद्रोह भएका कारण चिनियाँ पक्षले नाकालाई संवेदनशील मान्दै आएको छ ।
“यहाँसम्म आधारभूत रुपमा सबै कुरा पुगेको पाइयो, अब त्यसलाई स्तरोन्नति नै मुख्य कुरा हो”, सभापति अधिकारीले भने, “केही स्थानमा सडकको स्तरोन्नति गर्नुपर्ने देखिएको छ, त्यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिनेछौँ ।” टोलीले सीमा क्षेत्रमै पुगेर सडक र नाका आसपासको भूगोलको अवस्था अध्ययन गरेको थियो । सीमा क्षेत्रसम्म कालीगण्डकी करिडोरअन्तर्गत सडकको पहुँच पुगे पनि जोमसोमदेखि माथिल्लो खण्डमा थुप्रै ठाउँमा सडकको व्यापक स्तरोन्नति गर्नुपर्ने देखिएको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर पनि टोलीमा सहभागी रहेका कारण आवश्यक अध्ययन र बजेट व्यवस्थापनका लागि सरकारलाई थप निर्देशन दिने समितिले जनाएको छ । नाका सञ्चालन हुने बित्तिकै सिधै सम्बन्ध सुनौली नाकासम्म हुने भएकाले पश्चिमाञ्चल विकास क्षेत्रका लागि बढी फाइदाजनक भएको सभापति अधिकारीले जानकारी दिए ।
नाका सञ्चालनकै लागि लामो समयदेखि सदरमुकाम जोमसोममा रहेको सीमा प्रशासन कार्यालय र नेचुङ भन्सार कार्यालय पनि उपल्लो मुस्ताङमा पुनस्र्थापना गरिएको छ । सीमामा भन्सार कार्यालयलाई केही मात्रै व्यवस्थित गरिए पुग्ने देखिएको छ ।
सिमाना नजिकै चिनियाँ पक्षले भने सुरक्षा क्याम्प खडा गरेर सुरक्षा निगरानी बढाएको छ भने नेपाली पक्षबाट त्यसो हुन सकेको छैन । भारतीय नाकाबन्दीका कारण देशभर इन्धन, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको चरम अभाव भइरहेको सन्दर्भमा तत्काल नाका सञ्चालन गर्न स्थानीयवासीले पनि माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण