बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

छिटो कानुन बनाऊ : पूर्वमन्त्री आचार्य

बिहीबार, १७ मङ्सिर २०७२, १४ : ३७
बिहीबार, १७ मङ्सिर २०७२
चितवन–पूर्व कानुन तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले संविधान जारी भएको दुई वर्षभित्रमै सम्पूर्ण कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले संविधानमा तीन वर्षभित्रमा सबै कानुन बन्नुपर्ने उल्लेख भए पनि यही संसद्को बाँकी दुई वर्षे कार्यकालमा सबै कानुन बन्नसके संविधान कार्यान्वयनको पक्ष प्रभावकारी बन्ने बताए । उनका अनुसार २५० भन्दा बढी कानुन सामान्य संशोधन गरेर हुने भए पनि ४० वटा कानुन पूरै बदल्नुपर्छ । “म मन्त्री छँदा कै अवस्था कानुन निर्माणका विषयमा अध्ययन गरेको परामर्श टोलीले दिएको जानकारीअनुसार करिब ३०० वटा कानुन संशोधन र निर्माण गर्नुपर्ने हुन्छ,” उनले भने । संविधान जारी भएको एक हप्तामै कानुन सचिवको नेतृत्वमा काम सुरु भइसकेको बताउँदै उनले अहिलेसम्म संसद्मा कुनै पनि कानुन पेस नभएको जानकारी दिए । छिटो कानुन बनेर कार्यान्वयन पक्ष अगाडि बढेमा सरकार र जनतालाई सहज हुने र अहिले उठिरहेका कतिपय सवाल कानुनमार्फत नै सम्बोधन गर्न सकिने उनको भनाइ थियो । उनले भने, “छिटो कानुन बनाउन सरकारको तत्परता आवश्यक छ ।” नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले आफ्नो पार्टीले तराईको मागलाई सम्बोधन गर्ने गरी यसअघि नै संविधानका दुईवटा संशोधन प्रस्ताव संसद्मा पेस गरिसकेको जानकारी दिँदै यस विषयमा सत्तारूढ दल गम्भीर नभएको आरोप लगाए । पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी दिन लगाउने केन्द्रीय समितिको आदेशअनुसार उच्च नेतृत्वबाट निर्णय भएकाले कसैलाई पनि दोष दिनु उपयुक्त नभएको उनको जिकिर थियो । नेपाली काँग्रेस चितवन क्षेत्र नं ४ को प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा नेता आचार्य यहाँ आएका ह्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप