पर्यटन क्षेत्र सुस्ताएसँगै हात्ती पाल्न मुस्किल
बिहीबार, १७ मङ्सिर २०७२, १४ : ४८
चितवन– पर्यटक घुमाएर आम्दानी गर्ने उद्देश्यले जिल्लाको सौराहामा पालिएका हात्ती यतिबेला काम नपाएर फुर्सदिला बन्दै गर्दा तिनलाई पाल्नका लागि होटल व्यवसायीलाई धौधौ परेको छ ।
अन्य वस्तुभाउ पाल्नुभन्दा हात्ती पाल्नु आफैमा खर्चिलो छ । सौराहामा पर्यटक बोक्नकै लागि ६२ वटा निजी हात्ती पालिएका छन् । एउटै हात्ती किन्न अहिले रु ८० लाख हाराहारी खर्चिनु पर्छ । एउटै होटलले एकदेखि तीन वटासम्म हात्ती पाल्दै आएका छन् ।
एउटा हात्तीलाई पाल्न मासिक रु एक लाखको हाराहारी खर्च हुने गरेको व्यवसायीको भनाइ छ । राईनो लजका सञ्चालक विष्णुप्रसाद अर्याल एउटा हात्तीलाई दैनिक एक किलो सख्खर, पाँच पाथी धान, एक किलो चना, तीन क्विन्टल घाँस र १५ किलो पराल खुवाउनुपर्ने बताउँछन् ।
हात्ती सञ्चालन गर्न र पाल्न दुई जना माउते चाहिन्छन् । जसका लागि मासिक रु १० हजार तलब र खाजा खाना गरेर झण्डै रु ३० हजार खर्च हुन्छ । यद्यपि, हात्तीले मासिक मुस्किलले रु ३० हजार मात्रै आम्दानी गर्ने गरेको व्यवसायीको भनाइ छ । यी सबै खुवाएर पाल्दै गरेका हात्तीले मुस्किलले तीन दिनमा एक पटक मात्रै काम पाउने गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक भट्टराई बताउँछन् ।
गतवर्ष यतिबेला सौराहामा हात्ती नै चढ्नका लागि पर्यटकले तीन दिनसम्म कुर्नु परेको स्मरण गर्दै उनले भने, “यसवर्ष तीन दिनमा एउटा हात्तीको पर्यटक बोक्ने पालो आउँछ । गत वर्ष एकै दिनमा हात्तीले बिहान र बेलुका गरेर चार पटक पर्यटक घुमाउने गर्दथे ।”
सौराहा घुम्न आउने पर्यटकलाई बाघमारा, कुमरोज र चित्रसेन सामुदायिक वन एवम् मृगकुञ्ज मध्यवर्ती वनमा घुमाउने गरिन्छ । हात्तीले कम्तीमा दुई घण्टा पर्यटकलाई घुमाउँछन् । महँगो मूल्यमा खरिद गरेका हात्ती र खर्चिलो पालन एकातर्फ हुनु, अर्कोतर्फ भूकम्पयता काम नपाउनुले व्यवसाय कष्टकर बनेको व्यवसायीको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घका द्वितीय उपाध्यक्षसमेत रहे का भट्टराईले यतिबेला सौराहामा २० प्रतिशतको हाराहारीमा मात्रै पर्यटक आएको बताए । ठूलो सङ्ख्यामा आउने चिनियाँ पर्यटक यतिबेला खासै आएका छैनन् भने स्वदेशका स्कूल कलेजका विद्यार्थी पनि इन्धनको अभावले आएको पाइँदैन ।
हात्ती पाल्न यत्तिको कठिन कहिल्यै नभएको व्यवसायी बताउँछन् । एउटा हात्तीमा चार जना चढाएर जङ्गल घुमाइन्छ ।
घाँस काट्ने व्यवस्था मिलाइदिन आग्रह
हात्ती पाल्न कठिन हुँदै गर्दा होटल व्यवसायीले सरकारी तवरबाट घाँस काट्ने व्यवस्था मिलाइदिनसमेत आग्रह गरेका छन् । उनीहरुले पुरानो पदमपुर क्षेत्रमा राम्रो घाँस पाइने हुँदा काट्ने व्यवस्था गरिदिए हात्ती पाल्न सहज हुने माग गर्दै आएका छन् ।
राईनो लजका सञ्चालक अर्यालले भने, “यो सङ्कटमा मध्यवर्ती र पुरानो पदमपुर क्षेत्रमा घाँस काट्ने अनुमति दिए हात्ती पाल्न सहज हुन्थ्यो ।” महँगो बैंकिङ् व्याजमा खरिद गरिएका हात्तीको आम्दानी हुन छोडेपछि ऋण कसरी तिर्ने चिन्ता पनि व्यवसायीमा रहेको आफैले तीन वटा हात्ती पाल्दै आएका फरेष्ट रिसोर्टका सञ्चालकसमेत रहे का सहकारी संस्थाका अध्यक्ष भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण