बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

जाली नोटको कारोबारमा संलग्नलाई सार्वजनिक

बिहीबार, १७ मङ्सिर २०७२, १५ : २५
बिहीबार, १७ मङ्सिर २०७२
धनगढी– नक्कली रुपैयाँको कारोबारमा पक्राउ परेका चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले धनगढी उपमहानगरपालिकाको बेली सडकखण्डमा मङ्गलबार राति शङ्कास्पद गतिविधि देखाएका व्यक्तिमाथि खानतलासी गर्दा उनीहरुलाई जाली एक हजार दरका एक सय तीन थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा मसुरिया–३ मटकौनाका रामप्रसाद चौधरी, मसुरिया–४ बढैपुरका रमेश चौधरी, टीकापुर नगरपालिका–४ बाघमाराका सुरेश चौधरी र प्रतापपुर गाविस–५ हरदहनीका गोविन्द चौधरी रहेका छन् । उनीहरुले भारतको आग्राबाट जाली नोट ल्याएर नेपालमा प्रचलन गर्न खोजेको प्रहरी उपरीक्षक बिष्टले बताए । प्रहरीले ती व्यक्तिहरुले प्रयोग गरेका दुई थान मोटरसाइकल र एक थान आइफोनसमेत बरामद गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ परेकालाई मुलुकी ऐन खोटा चलन १ नम्बर विपरीतको कसुर ऐनअनुसार कानूनी कारबाही गरिने प्रहरी उपरीक्षक विष्टले बताए । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँबाट विगत दुई महिनाको अवधिमा बरामद गरेका १८ वटा चोरीका मोटरसाइकललाई आज भन्सार कार्यालयमा बुझाएको छ । यी मोटरसाइकल जुवा खेल्ने स्थानमा छापा मार्दा जुवाडेले छाडेर भागेका र चेकजाँच गर्ने क्रममा चालक फरार रहेका मोटरसाइकल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप