बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मिटरको अभावले विद्युतीकरण ठप्प

बिहीबार, २४ मङ्सिर २०७२, १० : ५५
बिहीबार, २४ मङ्सिर २०७२
झापा–नेपाल विद्युत् प्राधिकरणले एक वर्षदेखि मिटर उपलब्ध गराउन नसक्दा झापामा विद्युत् सेवा लिन निवेदन दर्ता गराएका १० हजारभन्दा बढी नयाँ उपभोक्ता समस्यामा परेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, विर्तामोड, भद्रपुर, शनिश्चरे, खुदुनाबारी, चन्द्रगढी, सुरुङ्गा, दमकलगायत जिल्लाभरबाट दश हजारभन्दा बढी नयाँ ग्राहकले विद्युत् लाइन जडानका लागि निवेदन दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले मिटर अभाव भएको कारण देखाउँदै विद्युत्को नयाँ लाइन जडान गर्न नमानेको पीडित उपभोक्ता बताउँछन् । गत असारदेखि नयाँ निवेदनसमेत लिन नमानेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण बिर्तामोडका अनुसार एक वर्षअघि देखि मिटर जडान कार्य ठप्प छ । मिटरको अभाव मुलुकभर रहेको कार्यालयका सहायक प्रकाशकीय अधिकृत पूर्ण चौहान बताउँछन् । उनले विर्तामोड कार्यालयमा जिल्लामै सबैभन्दा बढी विद्युत् सेवा लिनका लागि सात हजार नयाँ निवेदनको चाङ लागेको जानकारी दिए । भारतीय नाकाबन्दीका कारण विदेशबाट मिटर आयात हुन नसक्दा समस्या झन् चर्किएको प्राधिकरण पक्षको दाबी छ । पुराना मिटर जलेका र बिग्रेका ग्राहकले समेत नयाँ मिटर पाएका छैनन् । ध्रवुतारा बहुउद्देश्यीय सामुदायिक विद्युत् उपभोक्ता समिति विर्तामोडका सचिव रेवतीरमण नेपाल मिटर अभावको कारणले विद्युत्को विस्तार ठप्प भएको बताउँछन् । सरकारले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नसकेका बेला नयाँ उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराउन नसक्नु गम्भीर कमजोरी भएको शनिअर्जुन–१ की उपभोक्ता गीता अधिकारीको भनाइ छ । मिटर अभावले सहरी क्षेत्रमा मात्र होइन ग्रामीण सामुदायिक विद्युतीकरणको काम पनि ठप्प भएको छ । नयाँ उपभोक्ताहरू एउटै मिटर बक्सबाट दर्जनौँ घरमा विद्युत् लाइन तानेर जोखिमपूर्ण सेवा लिन बाध्य छन् । विर्तामोड कार्यालयका सहायक प्रकाशकीय अधिकृत चौहान मिटर कहिले आउँछ भन्ने यकिन नभएको बताउँछन् । ग्राहकले प्राधिकरण कार्यालयलाई मिटर जडानका लागि एक हजार ३७० रुपैयाँ बुझाउनुपर्छ । झापामा प्राधिकरणले मागअनुसार मिटर उपलब्ध गराउन नसक्दा विद्युत् चोरीको समस्यासमेत बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप