नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- बोहराले तरुण माध्यमिक विद्यालय, बालाजुको झुट्टा मार्कसिट र ट्रान्सफर सर्टिफिकेट पेस गरी २०६९ मंसिर १ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी नियुक्ति लिएको आयोगको दाबी छ ।
- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको निष्कर्षसहित आयोगले बोहराविरुद्ध कैद र जरिवानाको माग गरेको छ ।
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा नेपाल प्रज्ञा प्रतिष्ठानका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यरत कार्यालय सहयोगी रामकुमार बोहराविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोहराले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी नियुक्ति लिएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा उनले तरुण माध्यमिक विद्यालय, बालाजुको सेन्टअप (कक्षा १०) को मार्कसिट र ट्रान्सफर सर्टिफिकेटलगायतका शैक्षिक योग्यता सम्बन्धी झुट्टा विवरण तथा नक्कली प्रमाणपत्र पेस गरी जागिर प्राप्त गरेको खुलेको आयोगको दाबी छ।
अख्तियारका अनुसार बोहरा २०६९ मंसिर १ गतेदेखि लागू हुने गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा राजपत्र अनंकित तृतीय श्रेणी सरहको रङ्गमञ्च सहायक पदमा स्थायी नियुक्त भएका थिए। उक्त पदमा कार्यरत रहँदा उनले ओहदा, तलब–भत्ता तथा अन्य सुविधासमेत लिएको आयोगले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको निष्कर्षसहित आयोगले बोहराविरुद्ध कैद र जरिवानाको माग गर्दै आरोपपत्र दायर गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण