बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नयाँ नेपाली फिल्म हाम्रो मुभि डटकमबाट अनलाइनमै हेर्न मिल्ने

बिहीबार, २४ मङ्सिर २०७२, १७ : ३४
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं–नेपाली चलचित्रका थुप्रै पारखीहरु अहिले विदेशी भूमिमा छन् । इन्टरनेटको पहुँचमा रहेपनि उनीहरुलाई नयाँ फिल्म हेर्ने मौका हत्तपत्त जुर्दैन । रिलिज भएको महिनौँ पछि युट्युबमा अपलोड हुने फिल्म हेरेर रमाउनुपर्ने उनीहरुको बाध्यता छ । नयाँ फिल्म हेर्नका लागि उनीहरु निश्चित रकम खर्च गर्न तयार छन् । तर, पैसा तिरेर नयाँ नेपाली फिल्म हेर्न पाउने व्यवस्था भने यस अघि थिएन । इन्टरनेटको पहुँचमा रहेका नेपाली चलचित्रका पारखीहरुले अब विश्वभरबाट निश्चित रकम तिरेर नयाँ नेपाली फिल्म हेर्न पाउने भएका छन् । हाइलाइट्स नेपाल र विधि प्रा.लि.ले नेपाली चलचित्रका पारखीहरुका लागि यस्तो सुविधा उपलब्ध गराएका हुन् । हाम्रो मुभि डटकममार्फत अब नयाँ तथा पुराना नेपाली चलचित्रहरु घरमै बसेर हेर्न सकिनेछ । ‘दुई सयभन्दा बढी चलचित्रहरु उपलब्ध गराएर हाम्रो मुभि डटकमलाई नेपालको पहिलो सबैभन्दा ठूलो मूभि लाईब्रेरी बनाइने हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङले बताएका छन् ।’ तत्कालका लागि श्री ५ अम्बरे, नाइके, सम्बोधन, माइ प्रमिसलगायतका नयाँ चलचित्र ५ सय रुपैयाँ तिरेर हेर्न सकिन्छ । यस्तै हाम्रो मुभि डटकममा दर्शकको प्रतिक्रिया हेरेर नेपाली पेमेन्ट गेटवे पनि चाँडै नै थपगर्ने विधि प्रा.ल.का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले जानकारी दिए । अहिले पेपाल र क्रेडिट कार्डबाट रकम तिरेर फिल्म हेर्ने व्यवस्था रहेपनि अब छिट्टै यो व्यवस्थालाई अझै सहज बनाउने कम्पनीको योजना छ । केहि समयपछि इन्टरनेट, बिजुलीको मासिक रकम तिरे जस्तै नयाँ फिल्महरु मासिक रकम तिरेर सब्स्क्राइब गरेर हेर्ने सुविधा पनि मिलाइने सापकोटाले बताए । हाम्रो मुभिबाट फिल्म हेर्नका लागि वेभसाइटमा गएर फेसबुक वा गुगलबाट लग इन गर्नुपर्नेछ । यो नेपालकै पहिलो अनलाईनबाट चलचित्र हेर्ने सुविधा भएकाले दर्शकको माग र प्रतिक्रिया अनुसार हाम्रो मुभि डटकमलाई अघि बढाउने योजना छ । हाम्रो मुभिमार्फत फिल्म हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप