शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एक हुँदा जे निर्णय हुन्छ, त्यो मान्न सबै तयार छौँ : किरण गुरुङसँगको अन्तर्वार्ता

बिहीबार, २७ पुस २०७४, ११ : २८
बिहीबार, २७ पुस २०७४

नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङ वामगठबन्धनको तर्फबाट प्रदेश नं ४ का मुख्यमन्त्रीका दाबेदार हुन् । उनी तनहुँ प्रदेशसभाबाट निर्वाचित भएका हुन् । उनै गुरुङसँग पार्टी एकता, नयाँ सरकार र प्रदेशसभा गठनका विषयमा गरिरएको कुराकानी :

अहिले पार्टी एकता हुनमा किन ढिलाइ भइरहेको छ ?
पार्टी एकतामा ढिलाइ भएको छैन । यस कार्यमा दुविधा छैन । यो दुविधा एमालेमा पनि छैन र माओवादी केन्द्रमा पनि छैन । साझा उम्मेदवार उठाएर चुनावमा गएका पार्टीमा अहिले आएर एकतामा दुविधा छ भन्ने हल्ला निराधार हो । यस अवस्थामा आएर अब पार्टी एकताबाट कोही पनि पछाडि फर्कंन सक्दैन । ढिलाइ भएको पनि होइन, चुनाव भर्खरै सकिएको छ । निर्वाचन परिणाम आयो । सङ्घीय प्रदेशको  समानुपातिकको मतपरिणाम पनि आएको छैन । पार्टी एकता हुनलाई आन्तरिक तयारी पनि चाहिन्छ नि । अहिले दुवैतर्फ आन्तरिक तयारी भइरहेको छ र कार्यदल बनाएर अगाडि बढिरहेका छौँ ।

पदको कुरा नमिलेर पार्टी एकताको कुरा नमिलेको भनिन्छ नि, के हो ?
बाहिर जस्तो कुरा आएको छ, त्यस्तो होइन । यसमा केही समस्या नै छैन भन्ने चाहिँ होइन । तर ती समस्या हल गर्न नसकिने समस्या होइनन् । मूल कुरा भनेको सैद्धान्तिक आधार नै हो । अब कसरी अगाडि बढ्ने भन्ने नै हो । सहमति भएको पनि अब कसरी अगाडि बढ्ने भन्नेमा नै हो । हिजोको भन्दा पनि अब स्थायित्वसहितको समृद्ध नेपाल बनाउने तरिकाले अगाडि जान तयार छाँै । समानुपातिक र समावेशीसहितका राज्य सञ्चालन गरेर देश समृद्धिमा लैजाने योजनासहित पार्टी एकता थालिएको हो । अहिले अध्यक्ष कसलाई बनाउने । सरकार कसले चलाउने भनेर विवादमा अल्झिन्छौँ भन्ने होइन । यहाँ महान उद्देश्यसहित पार्टी एकता गर्दैछौँ । नेताहरूको व्यवस्थापन होइन । यो देशको व्यवस्थापन गर्न गइरहेका छौँ । 

पार्टी एकतामा एमालेका दोस्रो तहका नेताहरूले कहीँ न कहीँ अल्झाइराखेको भन्ने कुरा के हो ?
हामी चुनावमा लाग्यौँ । गठबन्धनको विजय भयो । यो अवधिमा स्थायी समितिमा तीन बैठक बसेका छन् । यसमा कहीँ कतै एकताको बारेमा अलिकति पनि दुविधा छैन । 

दोस्रो तहका नेताहरूमा केही त्यस्तो छैन । बरु मौखिक रूपमा ६०–४० अनुसार अगाडि बढ्छ भन्ने छ । यसमा धेरैले छोड्नुपर्छ । यसमा केहीलाई पाइँदैन कि भन्ने लागेको हुनसक्छ । तर हामी चुनावभन्दा पहिला नै यो कुरा स्वीकारेर अगाडि बढेका हौँ । यदि यो कुरा दुवै पार्टीका नेताहरूले स्वीकारेर चुनावमा होमिएका हौँ । यसमा मैले पनि छोडेर पार्टी एकता हुन्छ भने तयार छु । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष नमान्ने जमात एमालेमा धेरै छ भनिन्छ नि ?
यो पनि होइन । पार्टी एक हुने भनेपछि यो कुरा हुँदैन । तर अहिलेसम्म पदको बाडफाँडमा कुरा भएको छैन । यो मिडिया र सामाजिक सञ्जालमा मात्र फैलिएका हल्ला हुन् । अझ काङ्ग्रेस खेल्न खोजेको हो । दुवै पार्टीका अध्यक्षमा केही भ्रम छैन । 

एमालेमा प्रचण्डलाई अध्यक्ष मानेर जान समस्या छ कि छैन ?
पार्टी एक भएपछि कसलाई मान्ने नमान्ने भन्ने हुँदैन । एउटै पार्टी भएपछि अध्यक्ष मान्न किन समस्या ?  जुन निर्णय भयो, त्यो मान्न हामीलाई कुनै समस्या छैन । पार्टी एक हुँदा जे निर्णय हुन्छ, त्यो मान्न सबै तयार छाँै । 

वैचारिक रूपमा पार्टी एकताको लागि पार्टी भित्र के–कस्ता छलफल भएका छन् ?
वैचारिक कुरा जसरी बाहिर आएको छ, त्यो हुनु हुँदैन । अहिले विवाद गर्ने समय होइन । अहिले त सबैले एक भएर पार्टी एकता गर्ने समय हो । 

विचारको हिसाबले मिलन विन्दु के हुन सक्छ ?
हामीले अहिले के गरेका छौँ । अब कसरी अगाडि जाने भनेर बढी ध्यान दिनुपर्छ । समृद्ध नेपाल बनाउन कस्तो खालको विचार आवश्यक छ भनेर छलफल गर्नुपर्छ ।

हामी कम्युनिस्टमा रहेको पुरानो रोगको पुनरावृत्ति होइन, नयाँ तरिकाले जान्छौँ । हिजो कम्युनिस्टहरू ससाना कुरामा विभाजन भए । अहिले अब त्यस्तो होइन ।

माक्र्सवाद हामीले छोडेको छैन । हजो सैद्धान्तिक बहस गरेर बढी फुटमा गयाँै । सैद्धान्तिक बहस हुनुपर्छ तर त्यो बहस एकताका लागि हुनुपर्छ । 

जबजको च्याप्ट क्लोज भएको हो ?
च्याप्टर भनेको अध्याय हो । स्वस्थानीको पनि अध्याय छन् । हरेक दिन एक एक अध्याय पढिन्छ । जबजको कुनै एक अध्याय सकिन सक्छ । अथवा सामन्ती युग सकियो । यो युग समाप्त गर्न जे–जे कार्यनीति लिएका थियौँ, त्यो सकिएको हो । पूरा जबज सकिएको होइन । विचार भनेको विकास गरेर लैजाने सिद्धान्त हो । जबज पनि सिद्धान्त हो भने यसमा विकास हुनुपर्छ । यसलाई समद्ध बनाएर लैजानुपर्छ । यो बुझाइमा समस्या छ । कठमुल्लावादी तरिकाले बुझने होइन, द्वन्द्ववादी भएर बुझ्ने हो । 

हिजो जसरी शब्दशब्दमा बहस गरेर विभाजन भएका हौँ, अब त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । माओवाद, जबज सकिएका हुन् भन्ने बुझेर बहस गर्ने समय होइन । सबैको आवश्यकता छ, महत्व छ । यसमा थप विकास गरेर पो जाने हो । विमतीलाई बोक्ने होइन समधान गर्ने हो । 

पार्टी एकता नहुने कुरा कल्पना गर्न पनि सकिँदैन । अरू विकल्प नै छैन । हो एकतामा समय लाग्न सक्छ । पार्टी एकता र सरकार सँगसँगै लिएर गइन्छ । 

बरु अहिले अध्यादेश मार्फत राष्ट्रिय सभाको गठन एकल सङ्क्रमणमा गर्ने भन्ने थिएन, तर अहिले त्यसमा अल्झायो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप