सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राहत नपाएपछि बाख्रासँगै सुतेर रात कटाउँछन भूकम्पपीडित

शुक्रबार, ०१ माघ २०७२, १६ : ४५
शुक्रबार, ०१ माघ २०७२

दोलखा -  सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउँछन् । उनीसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् । उमेर ७२ काटेका रामबहादुरको सम्पत्तिको नाममा रहेका तिनै चारवटा बाख्रा चराउनु र उनीहरुसँगै सुत्नु बाहेकको विकल्प उनीसित छैन ।

भूकम्पजानु अघि उनको छुट्टै घर थियो । बाख्राका लागि खोर पनि छुट्टै थियो । अहिले घरगोठ सबै गुम्यो । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने भनिएको रु १५ हजार समेत श्रेष्ठले अहिलेसम्म पाएका छैनन् । “मेरो बोली दिने कोही छैन, त्यसैले राहत पाउन सकेको छैन” उनी भन्छन् ।

जिल्लाको खारे गाविस–४ का शङ्कर खत्री अहिले धमाधम भूकम्पले भत्काएको घरको ढुङ्गा, माटो पन्छाउँदै छन् । गत वैशाख १२ र १३ गते गएको भूकम्पबाट सामान्य क्षति बेहोरे पनि २९ गतेको भूकम्पले घर पुरै भत्काएको थियो । “घर बनाउन आर्थिक अभाव छ, कहाँ वास वस्ने भन्ने पिरलो छ” उनले पीडा सुनाए ।

खत्री जस्तै जिल्लाका अधिकांश वासिन्दा ओत लाग्ने ठाउँको खोजिमा हुनुहुन्छ । धान, कोदो भित्र्याएर फुर्सदमा रहेका जिल्लाका भूकम्पपीडित घर बनाउन आतुर छन् । जस्तापाताबाट निर्मित अस्थाई टहरामा बस्दै आएका उनीहरुलाई चिसोले सताएपछि छटपटि भएको छ । “जस्ताको छानो भएको टहरामा धेरै चिसो हुन्छ, ढुङ्गा माटोको घरमा न्यानो हुन्थ्यो” खत्रीले भने ।

भूकम्पले घर भत्काएको नौ महिना वित्दासम्म पीडितले सरकारले उपलब्ध गराउने भनिएको राहत रकम कुरेर बसिरहनु भएको छ । “घरको नमुना र आवश्यक निर्देशनको पर्खाईमा छौँ” स्थानीयवासी विमल खत्रीले भने । जस्तापाताबाट निर्मित टहरामा बास बस्नु परेकै कारण योवर्ष चिसोले सताएको उनी बताउँछन् । जाडोकै कारण यो वर्ष अहिलेसम्म जिल्लामा एकदर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ बालबालिका र वृद्धवृद्धा विरामी अवस्थामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप