सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडकबाट : हिरोइनका दुःख– लिफ्ट मागेर गाडी चढ्ने दिन आए

शुक्रबार, ०१ माघ २०७२, १७ : ०८
शुक्रबार, ०१ माघ २०७२

पूजना प्रधान, अभिनेत्री नाकाबन्दीमा हामी कलाकारको जीवन पनि सर्वसाधारणको जस्तै कष्टकर छ । न पेट्रोल पाइएको छ, न त ग्यास । कालोबजारीको सामानले कहिलेसम्म जीवन धान्न सकिन्छ ? दिन प्रतिदिन दैनिक उपभोग्य वस्तुको भाउ अकासिँदै छ । कमाएको पैसा कालोबजारीमा चढाउनु हाम्रो बाध्यता बनेको छ । दैनिक कति काम हुन्छन् । हिँडिराख्नुपर्ने हुन्छ । आफ्नो स्कुटी थन्काएकी छु । लिफ्ट माग्दै काम चलाउनुपरेको छ । कहिलेसम्म हो, थाहा छैन । मेरो फिल्म चकलेटको च्यारिटी सो भइरहेको छ । काम गर्नै मुस्किल छ । नयाँ कामको योजना बनाएर अगाडि बढ्न सकिएको छैन । जता पनि समस्या छन्, कसरी काम गर्नु ? सरकारको उपस्थिति कतै देखिँदैन । कालोबजारी भइरहँदा पनि सरकार हात बाँधेर बसेको छ । सरकारको दायित्व नागरिकको जनजीवन सहज बनाउनु हो । तर, सरकार निदाएको छ । कालोबजारमाथि तीव्र अनुगमन थालेर अपराधीलाई कारबाही गर्नुपर्यो । हामीलाई दैनिक जीवन धान्न सकस भइरहेको छ । केका लागि सकस दिएको हो, कुन्नि थाहा छैन । अब त अति नै भयो, सरकार बिउँझनुपर्यो । हाम्रो समस्या पार लगाइदिनुपर्यो । मधेस आन्दोलनको निकास निकालेर देशमा शान्ति स्थापना गर्नुपर्यो । नत्र त सरकार ढाले भइहाल्यो नि ।

केकी अधिकारी, अभिनेत्री संविधान नबन्दासम्म हामी संविधान चाहियो भन्दै उफ्रियौँ । तर हामी सर्वसाधारणलाई के थाहा थियो र परिणाम यस्तो भोग्नुपर्ला भनेर ! संविधान त बन्यो तर हामी जनताका लागि हर्ष न विष्मातको परिस्थिति आयो । दलगत स्वार्थ मेल नखाँदा हामी सर्वसाधारण बेस्सरी नै मारमा परेका छौँ । भूकम्पले थिलथिलो पारेको हाम्रो देशमा नाकाबन्दी आइलाग्दा काम गरेर खान पाइएको छैन । वैशाखदेखि नै कुनै फिल्मको सुटिङ नै हुन् सकेको छैन । तीनवटा फिल्ममा साइन गरेको छु । तर, काम नै हुन सकेको छैन । स्कुटीमा तेल छैन, कहीँ जान पाइँदैन । नेपालको ताल जहिले पनि उस्तै त हो नि, त्यसै त भनेको समयमा गाडी नपाइने, झन् नाकाबन्दीले छोएपछि त सार्वजनिक गाडी चढ्नै नसकिने गरी खचाखच भयो । कुर्नुभन्दा त हिँडेरै पुगिन्छ । आजभोलि नजिकै जानुपरे पनि हिँड्छु । आकस्मिक रुपमा टाढा कतै जानुपर्यो भने साथीभाइ, इष्टमित्रसँग लिफ्ट मागेर जाने गरेकी छु । कहिले ब्ल्याकमै तेल किन्यो, हिँड्यो । नाकाबन्दी छ भनेर हात बाँधेर बसेर खान पाइँदैन, के गर्नु त ? सरकार छ, तर कहाँ छ ? के गरिराछ ? पत्तो छैन । जनताले काम गरेर खान नपाइने अवस्था आइसक्यो, सरकारले केही पहल नै गर्दैन । अब त असह्य नै भइसक्यो । गरिखान पाउने जनताको हक खोसिएको छ । सरकार हुनु र नहुनुको कुनै फरक देखिएको छैन । अब सरकार जागोस्, जनतालाई राहत दिने पहल गरोस् । शिल्पा पोखरेल, अभिनेत्री भारतले लगाएको अघोषित नाकाबन्दीका कारण हामी सर्वसाधारणले अनावश्यक सकस खेप्नुपरिरहेको छ । हामी कलाकार पनि उत्तिकै समस्यासँग जुध्दै हिँडिरहेका छौँ । पेट्रोल पाइएको छैन । आफ्नो स्कुटी थन्काएर राखेकी छु । समयमै सुटिङ स्थलमा पुग्न सकिएको छैन । काठमाडौँमा म र आमा मात्र बस्छौँ । आमालाई लाइन बस्न पठाउने कुरा भएन । म सधैँ काममा दौडिनुपर्छ, ग्यास पेट्रोलमा लाइन बसिदिने कोही छैन, दुःख पाइएको छ । काममा जाँदा जहिले पनि लिफ्ट मागेर हिँड्छु । हतार हुन्छ, सार्वजनिक गाडी कुर्न थालियो भने दिनै बित्छ । खाना पकाएर खान पनि उस्तै समस्या । ब्ल्याकको ग्यासको सात हजार भन्छन् किन्न सकिन्न । इन्डक्सनमा पकाउन धेरै समय लाग्ने, खाना पकाउने समयमा बत्ती नहुने । जे गर्न पनि समस्या छ । कसरी मात्र टिक्ने हो, दिक्क लागेको छ । सरकारमा राजनीतिक स्वार्थ मिल्दैन । दुःख भने हामी निर्दोष जनताले पाइरहेका छौँ । यो त जनतामाथिको बिल्कुलै अन्याय हो । सरकारले दायित्वहीन देखियो । अहिले नेपालमा पनि कला क्षेत्र उकालो लाग्दै छ, यस्तो घडीमा कलाकारको काममा छेको लगाएर देशले काँचुली फेर्न सक्दैन । यसतर्फ सरकारले गम्भीर भई सोच्नुपर्छ । सक्दो चाँडो राजनीतिक कुरा मिलाएर नाकाबन्दी हटाउनुपर्छ । जनतालाई गरिखाने मेसो मिलाउन सरकारलाई आग्रह छ । प्रस्तुति : फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप