शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भेरी नदीको किनारमा सुन खोज्दै चिनियाँ

सोमबार, ११ माघ २०७२, ११ : ०१
सोमबार, ११ माघ २०७२

जाजरकोट– भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ ।जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।

धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताए । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।

अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रूपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।

जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप