शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए

शनिबार, ०९ साउन २०८३, १५ : ४१
शनिबार, ०९ साउन २०८३

सारांश

  • सरकारको असार ३२ को निर्णयले राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार गरेको छ।
  • यस निर्णयसँगै प्रहरी किताबखाना र शिक्षक किताबखाना राष्ट्रिय किताबखानाका शाखाका रूपमा गाभिएका छन्।
  • नयाँ संरचनाअनुसार निजामती, शिक्षक र प्रहरी शाखा हेर्न ९ जना निर्देशक रहनेछन्।

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयअनुसार राष्ट्रिय किताबखानाको क्षेत्र विस्तार भएको छ। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिएका हुन्।

अब साविकका प्रहरी किताबखाना र शिक्षक किताबखाना दुवै राष्ट्रिय किताबखानाकै शाखाका रूपमा रूपान्तरित भएका छन्। राष्ट्रिय किताबखानाका महानिर्देशकले नै नेतृत्व गर्ने गरी यसको पुनर्संरचना गरिएको छ। 

महानिर्देशकको प्रत्यक्ष सुपरिवेक्षणमा रहने गरी शिक्षक शाखाअन्तर्गत शिक्षा सेवाका ४ जना उपसचिव (निर्देशक) र प्रहरी शाखाअन्तर्गत प्रशासन सेवाका २ जना उपसचिव (निर्देशक) रहनेछन्। निजामती शाखातर्फका ३ जना निर्देशकलाई यथावत् राखिएको छ।

अब महानिर्देशकको सुपरिवेक्षणमा निजामती, शिक्षक तथा प्रहरी शाखा हेर्ने गरी कुल ९ जना निर्देशक रहने भएका छन्। नयाँ संरचनाअनुसार सहसचिवदेखि श्रेणीविहीन कर्मचारीसम्म गरी कुल १०६ वटा दरबन्दी कायम गरिएको छ। 

साविकका छुट्टाछुट्टै तीन वटै निकायमा गरी कुल १३७ वटा दरबन्दी रहेका थिए। यसअघि महानिर्देशकसहित ४ जना सहसचिव रहेकोमा अब एक जना मात्र सहसचिव (महानिर्देशक) कायम गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप