शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा

शनिबार, ०९ साउन २०८३, १५ : ४९
शनिबार, ०९ साउन २०८३

सारांश

  • भारतको नयाँ दिल्लीलगायत विभिन्न स्थानमा जारी विद्यार्थी आन्दोलनमा भएको दमनप्रति नेपाली मानव अधिकारकर्मी, नागरिक सङ्घसंस्था, प्राज्ञिक, कानुन व्यवसायी तथा युवा अभियन्ताहरूले गम्भीर सरोकार र ऐक्यबद्धता व्यक्त गरेका छन्।
  • दिल्लीको जन्तर-मन्तर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थी र पत्रकारहरूमाथि गरिएको चरम बल प्रयोगको उनीहरूले कडा शब्दमा निन्दा गरेका छन्।
  • चिकित्साशास्त्रसँग सम्बन्धित परीक्षाका प्रश्नपत्रहरू बारम्बार बाहिरिएको घटनाको विरोध गर्दै विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए।

काठमाडौँ । भारतको नयाँ दिल्लीलगायत विभिन्न स्थानमा जारी विद्यार्थी आन्दोलनमा भएको दमनप्रति नेपाली मानव अधिकारकर्मी, नागरिक सङ्घसंस्था, प्राज्ञिक, कानुन व्यवसायी तथा युवा अभियन्ताहरूले गम्भीर सरोकार र ऐक्यबद्धता व्यक्त गरेका छन्।

दिल्लीको जन्तर-मन्तर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थी र पत्रकारहरूमाथि गरिएको चरम बल प्रयोगको उनीहरूले कडा शब्दमा निन्दा गरेका छन्। साथै देशभर यस्ता आन्दोलनहरूलाई निरुत्साहित गर्न र नागरिकहरूलाई त्रसित पार्न भारतीय अधिकारीहरूले चालेका हस्तक्षेपकारी कदमहरूको पनि भर्त्सना गरिएको छ।

चिकित्साशास्त्रसँग सम्बन्धित परीक्षाका प्रश्नपत्रहरू बारम्बार बाहिरिएको घटनाको विरोध गर्दै विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए। जबाफदेहिताको माग गर्दै संसद् भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा अघि बढ्न दिनुको सट्टा दिल्ली प्रहरी र र्‍यापिड एक्सन फोर्स (राफ) ले लाठीचार्ज, अश्रुग्यास प्रहार तथा अन्य दमनकारी कदम चालेको विज्ञप्तिमा उल्लेख छ।

सबै प्रकारका दमनकारी कदमको विरोध गर्दै नेपाली अधिकारकर्मीहरूले आफ्ना मौलिक स्वतन्त्रताको शान्तिपूर्ण अभ्यास गरिरहेका विद्यार्थी, मानव अधिकारकर्मी, पत्रकार र कानुन व्यवसायीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।

प्रदर्शन नियन्त्रणका क्रममा भारतीय संविधान र अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी दायित्वको पालना गर्न तथा लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र मानव मर्यादाको सम्मान कायम राख्न उनीहरूले भारत सरकारसमक्ष आग्रह गरेका छन्।

उक्त विज्ञप्तिमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, पूर्व मानवअधिकार आयुक्त सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, मोनिका निरौला, नीतु पोखरेल, अभिषेक अधिकारी, रूप सुनार, एमडी नयिम रैन, मुकुन्द राज कट्टेल, सुशील बी.के., भक्त विश्वकर्मा, श्याम कुमारी साह, नरेन खतिवडा, रियाब बनिया, अश्मिता सापकोटा, मजिद अन्सारी, अमित उर्जा, हिमाली दीक्षित र सोम निरौलासहित १९ जनाले हस्ताक्षर गरेका छन्।

757164319_1677101600036646_4677845042670228065_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप